Monday 9th September 2024

चित्रमा पञ्चाङ्ग, भागः ११८


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८१/०३/१९
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

वर्षा याममा बोटबिरुवा रोपेर बाचौँ
अदृश्य अक्सिजनमा दिल चोपेर बाँचौँ
एक रुखले एक एसिको काम गर्दछ
जीवनलाई बुझी खुसीमा छोपेर बाँचौँ
प्रकृतिसँग रमाई दिल खोपेर बाँचौँ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग २

हरियो बन धनै हो
रोप्ने मान्छेको मनै हो
बनावटी दुनियाँमा
सखाप पार्ने जनै हो
बतास दिने बनै हो ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ३

बोटबिरुवाले नै हावा स्वच्छ पारी दिन्छ
कार्बनडाइ लिन्छ अक्सिजन भारी दिन्छ
वनजङ्गल जोगाउँ सब विरुवा रोपी
आनन्ददायी हरियाली खेतबारी दिन्छ
सर्र हावा चल्ने एसी तुल्य छहारी दिन्छ ।

विवश पारदर्शी
झापा,

पञ्चाङ्ग ४

रुख जति काटेर एसिहरु ल्याउँछन् हेर
लाइन गयो भने के शितल पाउँछन् हेर
यस्ता सामानले के फाइदा होला र खै यहाँ
बेला बेला मर्मत गर्न मान्छे धाउँछन हेर
मान्छे या कामको तारिफ गर्न आउँछन् हेर ।

बन जङ्गल नमासौं है
साना बिरुवा नभाचौं है
बुझौं रुख धन हो हाम्रो ,
कहिल्यै हागा नलाछौं है
मनमा यो मन्त्र साँचौं है।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग ५

धर्ती सबैको घर हो यहाँ सबैले बाँच्न पाउनु पर्छ
उजाड पार्ने हैन यसलाई सबै मिली छाउनु पर्छ
विकासको नाममा आधुनिकता एक्लै कुदेर हुदैन
लयमा लय मिलाइ यहाँ प्रकृतिसँगै गाउनु पर्छ
प्रकृतिमै रम्दै अझ नया नया सिर्जना आउनु पर्छ ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ६

शुद्ध वायु चाहिन्छ भने वृक्ष लगाउनु पर्छ
प्रदूषित वायुलाई टाढा भगाउनु पर्छ
नत्र अनेक राेगहरूसँग सामना हाेला
यसमा त मान्छेहरूलाई जगाउनु पर्छ
बाेटहरू सार्न कतैबाट मगाउनु पर्छ ।
नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ७

प्रकृतिको सँरक्षण गर्नुपर्छ अब
बृक्षाराेपणमा अघि पर्नुपर्छ अब
मिलिजुली जीवन जगत जाेगाउन
चेतनाकाे लागि अघि सर्नुपर्छ अब
र आनन्दकाे सागर तर्नुपर्छ अब ।
सूर्य गिरी पोखरा

पञ्चाङ्ग ८

वरिपरि हरियो बन राम्रो
दुःखमा सहयोगी मन राम्रो
कसैको कुभलो सोच्न नपरोस्
असल परिश्रमी जन राम्रो
ईमान्दार कर्मको धन राम्रो ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग ९

बाँच अनि बचाउ, सबैको रक्षा गर्न सिक
मानव जातिको रक्षार्थ भकारी भर्न सिक
तेरो मेरो भन्ने बेला होइन अब पृथ्वीमा
अमर भई बाँच्न सहिद भई मर्न सिक
ज्ञानको बीउ उमार्न नैतिक ज्ञान छर्न सिक ।

सविता के.सी.

पञ्चाङ्ग १०

कुसङ्गतले मताउँछ मानिसलाई
कुबुद्धिले नै अताउँछ मानिसलाई
जब वन फडानी र आगलागी गर्छ
गर्मीले पनि सताउँछ मानिसलाई
पश्चातापले बताउँछ मानिसलाई ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ११

किन हो चर्को घाम मान्छे गरम मान्दैन कि
वन विनाश गर्न मान्छे सरम मान्दैन कि
खोला नाला सुकी सबैतिर सुक्खा भइसक्यो
जीव जन्तु जोगाई राख्न धरम मान्दैन कि
वन जोगाउन मान्छेको करम मान्दैन कि ।

लक्ष्मी दास शर्मा
टासिछोलिङ, साम्ची, भुटान

पञ्चाङ्ग १२
रुखहरूका टुप्पा टुप्पामा एसी आउँदैछ हेर
प्राविधिक टोलीले गोटा गन्ती नै लाउँदैछ हेर
अक्सिजनले मात्र वस्तुतः अपुग भएरै होला
प्रविधि क्षेत्रमा मानिस अगाडि धाउँदैछ हेर
सोही तकनीकको फाइदा पनि पाउँदैछ हेर ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १३

हरियो वन देशको धन नकाटौँ कसैले
रोप्नु पर्दछ रुख बिरुवा नछाटौँ कसैले
बिरुवा रोपौँ सबैले हामी बडेर अगाडी
पैसामा लोभ राखेर रुख नसाटौँ कसैले
काटेर वन प्रकृतिदेखि नफाटौँ कसैले ।

खोम काफ्ले,
दागाना,निचुला,भूटान

पञ्चाङ्ग १४

अति दोहन किन गर्छाै नर्क मान्छेहरू
धरतीमै पसिना दाना छर्क मान्छेहरू
रुख रोपौँ जलवायु परिवर्तन धान्न
अप्राकृतिक कुराबाट तर्क मान्छेहरू
अस्तित्व साँच्न प्रकृतिमै फर्क मान्छेहरू !

श्रीकृष्ण शर्मा पोखरा–५ मालेपाटन

पञ्चाङ्ग १५

पर्या जोगाउन कुरा मात्र गर्छौ किन
सत्ता टिकाउन झुठो हदै मर्छौ किन
घरको एसि वातावरण शुद्ध हुन्न
भाषणमा मात्र नै सिमित धर्छौ किन
हामी जनता तिम्रो भर नै पर्छौ किन?

सोमनाथ लुइटेल “रवि पाल्पाली” ।


सम्बन्धित शीर्षकहरु

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ।…

क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा स्कटल्याण्डलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा पोर्चुगलले स्कटल्याण्डलाई २-१ गोल अन्तरले…

पाकिस्तानको राजधानीमा हजारौं मानिसहरू सडकमा उत्रिएका छन् र पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै एक वर्षभन्दा बढी समयदेखि जेलमा…

प्रतिकृयाहरू
...