Monday 29th April 2024

चित्रमा पञ्चाङ्ग, भाग-८४


चित्रमा पञ्चाङ्ग
===========
भाग: ८४
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०६/२४
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चौरासीयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
जताबाट पनि मर्नै पर्ने जुनी यहाँ
एकातिर बाँच्ने बाटो भए हुनी यहाँ
जिन्दगीको मूल्य आफ्नै मात्र अनमोल
पापी छ संसार कोही छैन गुनी यहाँ
भोक भन्छन् ठुलो भोकाएका खुनी यहाँ ।
सविता के.सी.
काठमाडौँ ।
पञ्चाङ्ग २
मृत्युलाईपनि वर मान्नु किन
निश्चितछ मृत्यु डर मान्नु किन
बल भन्दा बुद्धि प्रयोग गर्नुपर्दछ
सधै अर्काको भर मान्नु किन
कसैलाई संसारमा अमर मान्ने किन ?
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
पञ्चाङ्ग ३
मृत्युसँग खुव लड्नु परेको छ आज
समयले के के गर्नु गरेको छ आज
आफ्नो र सन्तानको मायालाई सम्झिदै
पिरतीको झोली कति भरेको छ आज
वरिपरि बसी काल चरेको छ आज ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग ४
अब यहाँ जिन्दगी बिताउन गारो छ
भित्र गोही बाहिर बाघको लस्कारो छ
सबैलाई आ आफ्नै पीडा भोक तिर्सना
भोकले ढुङ्गा कि माटो खाउँ हतारो छ
पानी बाहिर आउ बाघको पसारो छ ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ५
जिवन शङ्घर्षको नै सफर हुँदा
काल नजिकै छ भन्ने खबर हुँदा
कुनै तरिका सोंच्नुपरेकै छ आज
बच्चालाई जोगाउँने रहर हुँदा
एता उता बाघ माझ्मा नहर हुँदा ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग ६
किमार्थ केवल सन्तान बचाउने धुन आमालाई
सम्भावना खोज्दै शिकारी भगाउने धुन आमालाई
चुनौतीहरू पहाड बनेका छन् टेक्ने हिम्मत राख्दै
एक एक गरी समस्या कजाउने धुन आमालाई
सफल हुन्छु भनी आशा पलाउने धुन आमालाई ।

चिन्ताजनक परिस्थिति पार लगाउनु छ
यही नदीमा डर त्रास पनि बगाउनु छ
अब जसरी भए पनि बच्चा प्राथमिकता
ज्यानको शत्रुलाई पालैपालो भगाउनु छ
एकोहोरो भएकालाई मैले डगाउनु छ ।

#पृथक प्रकृति,झापा
पञ्चाङ्ग ७
दायाँ बायाँ बाटो छैन तल पनि त्रास छ
काखमा बेरिएको जीवन झनै खास छ
आफू भन्दा पनि प्यारो लाग्ने सन्तान यहाँ
विकल्प छैन कतै माथि खुल्ला आकाश छ
स्वास रहुन्जेल बाँचिन्छ कि भन्ने आस छ ।
संगीता खरेल
चन्द्रागिरी ८ मातातिर्थ
काठमाडौँ
पञ्चाङ्ग ८
यता उता काल बसेको छ
बाघलाई माल बसेको छ
आहारा बन्छ बुद्धि नपुगे
मुखमा नै र्याल बसेको छ
फिँजेर यो जाल बसेको छ ।
सोमनाथ लुइटेल “रवि पाल्पाली” हाल बुटवल ।
पञ्चाङ्ग ९
अगाडि र पछाडि शत्रुकै लस्कर छ
भोक मेट्नको लागि उनकै तस्कर छ
सन्तानको माया भन्दा ठुलो केही छैन
आमाको काख भित्रमा बच्चा मस्कर छ
आमा भने परिस्थिति हेरि झस्कर छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १०
जिन्दगीको कठिनाई पर्नु परेको छ
वरिपरि शत्रु खोला तर्नु परेको छ
शत्रुसँग भिक्षा माग्नु लुकाएर दया
यो घडीमा दैवले नि गर्नु परेको छ
बाँचे ठिकै मारिदिए मर्नु परेको छ ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग ११
यो आकाश पताल कहाँ होला जानि भगवान्
माथि नीलो अकास अनि तल पानी भगवान्
बच्चो साथ ज्यान बचाउने कतै छैन ठाउँ
कता जानि चारैतिर छन् मासु खानी भगवान्
सारो सङ्कटमा पर्यो यो जिन्दगानी भगवान् ?
विवश पारदर्शी
झापा
पञ्चाङ्ग १२
त्यसै त बलियो मियो ढल्दैन जिन्दगीको
चुनौतीले आत्मबल गल्दैन जिन्दगीको
तालभित्र गोही छन् बाहिर बाघ देखिन्छन्
यहीँ बसूँ त गुजारा चल्दैन जिन्दगीको
आगोबिना दीपशिखा जल्दैन जिन्दगीको ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग १३
कसरी जाऊ उम्केर बाटो हेर्दैछ यहाँ
छक्याउन शिकारी ति नीति फेर्दैछ यहाँ
धर्म संकटमा आमा अझै साहसी बन्छन्
दायाँ बायाँ शिकारी रातले घेर्दैछ यहाँ
पौडेर जान अन्यत्र नक्सा केर्दैछ यहाँ ।
सुस्मिता पौडेल , अधिकारी
पञ्चाङ्ग १४
मुख बाई बसेका शत्रुका चाल हेर्नुस्
असमञ्जसमा छु म मेरो ताल हेर्नुस्
म बबुरो कसरी बाँच्न सकुलाँ र खै,
दायाँ बायाँ चारैतिर छन् यी काल हेर्नुस्
निर्दयी दैवले बिछ्याएको जाल हेर्नुस् ।

वसन्त अनुभव
घोराही, दाङ
पञ्चाङ्ग १५
पिपल बरमा चलेको छ
आतङ्क घरमा चलेको छ
वेदना सही कसरी भनुँ
जिन्दगी करमा चलेको छ
अर्काको भरमा चलेको छ ।
– आर्त अकुलीन
पञ्चाङ्ग १६
जनावर एक अर्को, ताकिरहेछन् त्यहाँ
आहारा प्राप्तिकाे लागि भाकिरहेछन् त्यहाँ
जनावर पनि जङ्गलको आकर्षक हो
कसैले शारीरिक सुरक्षा मागिरहेछन् त्यहाँ
कोही एक अर्कोलाई हाकिरहेछन् त्यहाँ ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १७
बिना चुनौती सुखी जीवन हुन्छ कहाँ
सम्भावना नभएको पनि हुन्छ कहाँ
धैर्यता र साहस दुई जीवनसाथी
समस्या पर्दा साथ नदिने हुन्छ कहाँ
भर नपरे सफल पनि हुन्छ कहाँ ?
टीकाराम जोशी, टीकापुर
पञ्चाङ्ग १८
जिन्दगी बिताउन धेरै गाह्रो छ यहाँ
अभाव ढुङ्गा भन्दा अति सार्हो छ यहाँ
निर्दो माथी नै आइपर्छ संकट पनि
नदि बाहिर बाघको लस्करो छ यहाँ
भोको बाघलाई खान हतारो छ यहाँ ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग १९
ज्यान जोगाउनलाई गाह्रो छ कति
आहारा भेट्नेलाई लुछाचुँडी अति
मुखामुख पहिला लिन जाने होड
माया भरी काखी च्याप्दा नहुने खति
वास्ता छैन के हुन्छ लौ अबको गति ।
जमुना आचार्य सिन्धुपाल्चोक ।
पञ्चाङ्ग २०
विकल्प केही नहुँदासम्म पनि जीवन बाँचिएको हुन्छ
जीवन हुँदा सम्म त अर्को जीवन पनि टासिएको हुन्छ
कहिले सम्म बाँचिन्छ बाँच्दा सम्म त जीवन बाँच्नै पर्यो
बाँच्ने संघर्ष गर्दागर्दै टेक्ने जमिन नै भासिएको हुन्छ
आखिर जीवन अनि मृत्यु त आपसमा गाँसिएको हुन्छ ।
– पशपती राई खोटाङ ।
पन्चाङ्ग २१
जसरी पनि मृत्यु वरण गर्नुपर्छ
यमराजको फेला सबैले पर्नुपर्छ
म भन्ने बीरले पनि घमण्ड नगरौं
एक दिन जलेर खरानी मर्नुपर्छ
दवानल चपाई जङ्हार तर्नुपर्छ ।
कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग २२
यताउता चारै तर्फ पारे थुनामा
तलमाथी दायाँबायाँ पारे कुनामा
जिन्दगीको गोरेटोमा अक्करको भिर
केही सीप लाग्दैन मेरो पारे टुनामा
लोभी नजर शत्रुको प्यारे मुनामा ।
प्रदीप के रिमाल
कोशी इटहरी
पञ्चाङ्ग २३
चारैतिरबाट अताउनुको अर्थ के हुन्छ
सामूहिक त्रास लगाउनुको अर्थ के हुन्छ
अन्तिमसम्म लोभीहरूले मौका हेर्दा पनि
आमाले साथमै समाउनुको अर्थ के हुन्छ
बलियो आधार बनाउनुको अर्थ के हुन्छ ?
प्रेम थापा “मन”बागलुङ


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...