Sunday 15th March 2026

‘एनआरएन द सिंगर’ को विजेता बनिन् युक्ती विमली


खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मूल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । ग्रान्ड फिनालेका लागि ५मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौँ आउन सकेकी थिइनन् । खल्ती एपमार्फत गरिएको प्रत्यक्ष भोटमार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल भइन् । भर्चुअल माध्यमबाट ग्रान्ड फिनालेमा उनले गोठालो जाँदा लाएको माया बोलको गीत प्रस्तुत गरेकी थिइन् । उनी कार्यक्रममा उपस्थित नभएपछि युरोपकै सन्तोष भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीबाट ग्रहण गरी दिएका थिए ।

“प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा फस्ट रनर अप जापानका कर्मादोङ तामाङ बने । उनले नगद २ लाख र ट्रफी प्राप्त गरे । कर्मादोङले ग्रान्ड फिनालेमा कर्मादोङ तामाङले तातोपानी बजार बोलको तामाङ सेलो र आफैले सिर्जना गरेको उत्कृष्ट गीत प्रस्तुत गरेका थिए ।

यसैगरी सेकेन्ड रनर अपको रूपमा सुवासचन्द्र पुन मगर रहे । पोर्चुगलका पुन मगरले तिम्रो न्यास्रो आउँछ निरमाया र फूलको थुङ्गा हौ कि भन्ने बोलको गीत प्रस्तुत गरेका थिए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै, ग्रान्ड फिनालेमा विष्णु क्षत्री र गुना मगर निसुले पनि प्रतिस्पर्धा गरेका थिए ।

एनआरएन द सिंगरमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवेदन परेको थियो । कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र नेपालीसँग जोडिने रचनात्मक कार्यक्रम गरेको भन्दै प्रशंसा व्यक्त गरे । पर्यटनको पहिलो आधार नै संस्कृति भएको बताउँदै संसारको पर्यटनको केन्द्र रहेको बताए । नेपाल प्रकृति र संस्कृतिको धनी भएको बताउँदै यसबाट नेपालले लाभ लिनका लागि एनआरएनले सहयोग गर्नुपर्नेमा जोड दिए ।

अहिलेको अवस्थामा नेपालमा केही निराशाको सञ्चार भएको बताउँदै हाम्रा संस्कृति र सम्पदाबाट पर्यटनको विकास गर्दै सकारात्मक कुराको सञ्चार गर्न आवश्यक रहेको बताए ।

गीत सङ्गीत एकताको सूत्रमा बाँध्ने माध्यम भएकाले हामीले यसको संरक्षण गर्नका लागि सरकारले काम गरिरहेको बताए । पूर्व अध्यक्ष भवन भट्टले भाषा र साहित्यले सबैलाई जोड्ने भएकाले यसको आवश्यकता रहेको बताए ।

कार्यक्रममा कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपालले गर्व गर्नु पर्ने विषय मध्य यहाँको भाषा र संस्कृति रहेको बताउँदै भाषा र संस्कृति जोगाउने आफूहरूको दायित्व रहेको बताए । उनले विदेशमा रहेका आफूहरूले सन्ततिलाई नेपाली भाषा र संस्कृतिका बारेमा सिकाउनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको पनि बताए ।

एनआरएन अध्यक्ष रवीना थापाले विदेशमा बस्ने नेपालीहरूको भाषा र संस्कृतिको जगेर्ना गर्नका लागि यस्ता कार्यक्रमले मद्दत पुग्ने बताइन् । भाषा र संस्कृति जोगाउनका लागि हामी सबै मिलेर विदेशमा बसेर छोरा छोरीलाई नेपालसँग जोड्नका लागि यस्ता कार्यक्रमले आगामी दिनमा निरन्तरता पाउनेमा जोड दिइन् ।

एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले संस्कृति तथा सम्पदा विभागले विदेशमा रहेका नेपालीहरूलाई गीत सङ्गीतमार्फत जोड्ने प्रयास गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरू आयोजना हुनुपर्नेमा जोड दिए ।

एनआरएनका पूर्व अन्तर्राष्ट्रिय संयोजक भीम उदासले यो कार्यक्रमको कन्सेप्ट बनाउनेहरू नै बधाईको पात्र रहको बताए । नेपालभित्र एनआरएन हाउस होल्ड नाम भइसकेको बताउँदै एनआरएनका कारण देशको समृद्धि र विकास हुने बताए । देश भित्र र बाहिर बसेका सबै नेपालीहरू मिलेर देशलाई समृद्धि बनाउन लाग्नु पर्नेमा जोड पनि दिए ।

एनआरएन द सिंगरका प्रमुख निर्णायक शम्भु राईले संस्कृति विनाको समाज र संस्कृति विनाको राजनीति परिकल्पना गर्न नसकिने बताए । यो कार्यक्रमले ऐतिहासिक काम गरेको बताउँदै आगामी दिनमा पनि नेपाली पहिचान दिलाउनका लागि सधैँ साथ रहने बताए ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार आनन्द कार्कीले आफूहरूले नेपाली गीत सङ्गीतलाई विदेशमा पुर्‍याउन अभियान चलाइरहेका बेला एनआरएन द सिंगर कार्यक्रमले राम्रो काम गरेको बताए ।

गोविन्द गौतमले कार्यक्रम समापन गर्दै प्रवासमा रहेका दोस्रो पुस्ताका नेपालीलाई कलाका माध्यमबाट नेपालसँग जोड्ने उद्देश्यले एनआरएनको संस्कृति तथा सम्पदा समितिले यो कार्यक्रम गरेको बताए । उनले २ वर्ष पहिलेदेखि तयारी गरिएको यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...