Wednesday 29th July 2026

गाउँघरमा बाँदर आतंक, शहरमा महंगीको मार, अनि विदेश नगएर कहाँ जानु सरकार ?


अहिले गाउँघरतिरको पहिला जस्तो कष्टकर जीवन बिताउन बाध्य हुनुपर्ने अवस्था छैन । धेरैजसो गाउँ शहरसँग जोडिएका छन् । स्वास्थ्य संस्थादेखि सुविधा सम्पन्न बाटोघाटो पनि पुगेको छ । घरका आँगनमै पानीको धारा देख्न सकिन्छ । विद्यालयका भवन पनि राम्रै छन् तर यति आधारभूत सुविधा भए पनि अचेल गाउँघर सुनसान देखिन थालेका छन् । ससाना केटाकेटी र युवाभन्दा वृद्धवृद्धा धेरै देखिन्छन् । उनीहरुका छोरानाति कोही पढ्न त कोही कमाउन गएका छन् । कोही गाउँबाट शहर गएका छन् भने कोही देशबाट परदेश गएका छन् ।

पहिले गाउँघरमा सहकार्य हुन्थ्यो । अर्म पर्म चल्थ्यो । जीउँदाको जन्ति र मर्दाको मलामी भनेझैँ गाउँलेहरु साथ भइरहन्थे । एकले अर्काको काममा सघाउँथे । तर अहिले सबैको आ-आफ्नै व्यस्तता छ । पहिलेको जस्तो अवस्था छैन । युवाहरुले गाउँ छोडीसके । अहिले त गाउँमा भीडभाड हुन कुनै ठूलो चाडपर्व नै कुर्नुपर्छ । गाउँमा केटाकेटीहरू रमाएको हेर्न पनि शहरका विद्यालयमा छुट्टी हुनु पर्ने अवस्था छ । गाउँघरमा खेतमा काम गर्ने मान्छे भेटाउन गाह्रो छ । समस्यामा हात देउ भन्नको लागि मान्छे छैनन् । युवाहरु सबै पलायन भइरहेका छन् ।

देशबाट ठूलो जनशक्ति वैदेशिक रोजगारीमा जाने सिलसिला बढ्दो अवस्थामा छ । यसरी देशबाट जनशक्ति विदेशतिर पलायन हुनुमा धेरै कारणहरू छन् । तिमध्ये बाँदर आतंक पनि एक हो । हुन त अहिले गाउँमा मात्र होइन शहरमा पनि बाँदर आतंकको कमी छैन

गाउँ र शहरको तुलना गर्ने हो भने बाँदर आतंक गाउँमा नै बढी छ । गाउँमा खेतीपाती हुने हुँदा खानाको खोजीमा हिँड्ने बाँदरको हुल गाउँमा समस्याको जड बनेको छ । खेतीपातीमा मात्र होइन मान्छेलाई नै घाइते बनाएको समाचार पनि आएका छन् । नेपालमा बाँदर रोकथाम गर्ने कुनै नियम नै नहुँदा बाँदर आतंक रोक्न असम्भव नै देखिन्छ । की गाउँ छोड, कि बाँदर मार भन्ने अवस्था आएको गाउँघरमा सुन्न पाइन्छ । सरकारको नीति भने के हो ? अस्पष्ट नै देखिन्छ ।

गाउँमा बाँदर आतंकपछि शहर पसेका युवापिँढीको लागि शहरमा जीवन धान्न पनि त्यति सजिलो कहाँ छ र ? गाउँमा बसेका बुढा आमाबुवाको खर्च, शहरमा घरभाडामा बसेका बालबच्चाको पढाइ कसरी धान्नु यो महंगीको मारमा । समस्या परेपछि विकल्प पनि खोज्नुपर्ने नै भयो । शहरको महँगीसँग लड्ने विकल्प के त ? देशको माया गरेर मात्र पेट त भरिन्न । बालबच्चाको पनि भविष्य हेर्नु नै पर्‍याे । यस्तो अवस्थामा अहिलेको विकल्प भनेकै वैदेशिक रोजगारी हो । यसको लागि जस्तोसुकै अवस्था पनि झेल्न युवाशक्ति बाध्य छन् ।

नियम कानुन र कागजी कुरा जे भए पनि मनको कुरा मनमा नै बाँधेर गाउँको माया बाँदर आतंकलाई सुम्पिँदै, शहरको महँगीसँग लड्न सक्ने अवस्था नभएपछि के गर्ने सरकार ? विदेश नजाऔ, रेमिटेन्स चाहिँ पठाऊ भन्छौ । यहि कुरा बुझेर भोकै मर्नुभन्दा विदेश लाग्ने यही त विकल्प रह्यो होइन र सरकार ?

नोटः नारायण कोइरालाको लेख उज्यालो अनलाइनबाट सम्भार गरिएको।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...