Thursday 2nd February 2023

बडा दशैं हिजो र अाजः एक संस्मरण


“दशै आयो खाउला पिउला…..
हट्यो सारा हिलो मैलो हरायो पानीको बर्षा ….”

नेपाली विषयको पुस्तकमा पढिएको थियो उ बेला (प्राथमिक तहमा हुँदा) घटस्थापना (जमारा राख्ने दिन)देखि पुर्णिामासम्म दशै बिदा १५ दिन हुन्थ्यो । अहो! ३ बजे छुट्टी भएपछि भोलिबाट दशै बिदा भनेर स्कुल बाट बुर्कुशी मार्दै घर तिर गइन्थ्यो …..।
खेत भरी झुलेका धानका बालाहरु घर – घर आगान र बाटो छेउछाउमा फुलेका फूलहरु मकै जौ गहुँ धान इत्यादी समाग्री जुटायर विधि अनुसार जमारा राख्नुहुन्थ्यो बुवाले …..
छोपियर राखियको ३,४ दिनमै आँकुरा लगायर उम्रियको जमारा आहा भन्दै हेर्दै रमाइलो लाग्थ्यो उ बेला, अहिलेका भुरा भुरीलाई लाई के थाहा ?

अहो! घर आगन वरिपरी देखि करेसा सम्मको झार सफाइ र घरको भित्ता भित्तामा कमेरो र रातो माटोले रङ्गाइन्थ्यो, कसको कति राम्रो भन्दै छिमेकी वरिपरि हेरिन्थ्यो। त्यो प्राकृतिक सौन्दर्यताको रङ्ग माटोले मठ मन्दिर र घरहरु रङ्गीदा दशै आएको रौनक बेग्लै लाग्थ्यो। दशैका लागि भनेर केराका घरी राख्थे त कति रुखमै पाक्थे । पाकेको केरा ठिटा ठिटी मिलेर चोरेर नि खाइन्थ्यो । दिदी आमाले ढिकी जातोमा चामल पिधेर सेल रोटी पकाउनु हुन्थ्यो । सेल पाकेपछी घरको मुलि मान्छेले देवी देउता कुल पित्रीलाई चढाएपछि बल्ल खान पाइन्थ्यो। त्यही बासी रोटी दशै सकिएपछि खदा पनि उस्तै स्वाद हुन्थ्यो ।
अचेलका मोमो पिजा चाउमिन खानेलाई के सुनाउनु?
अहो ! लठ्ठे पिङ्गमा रमाउन र मन्दिरमा पुजारी बाले पुजा गरिसके होलान् भन्दै पन्चाअमृत र प्रशाद खान भनी कुदेर जान्थ्यौ अहिलेका PUB G र Fire Fox Game खेल्ने केटाकेटीलाई के थाहा त्यसको मज्जा? गाउँकै बाजा समूह अनि साझ भजन कृतन नाच गान इत्यादि ।
त्यो बेला अहिलेको जस्तै 3G 4G कुनै पनि G आएको थियन । (सायद पार्लेजी बिस्कुट पनि )
सप्तमी अर्थात फुलपातीको दिन साँझ बाजा गाजा सङ्गै बेलको रुख ( बेल वृक्ष , पत्र) पुजा गर्न नजिकैको जङ्गल गाउँ जान्थे। त्यो पुजा गर्दाको दृश्य रोचक लाग्थ्यो । त्यो बेला २ कन्य केटालाई एउटा डाेलि बोकाउने चलन थियो । बेलको रुख पुजा गरेर फर्किदा त्यो डाेलिमा घर घरबाट राखिएको चामल र फलफूलले भरिन्थ्यो मन्दिर सम्म आइपुग्दा फतक्कै गलिन्थ्यो तर पनि के के सम्मान पाए झै लाग्थ्यो त्यो बोक्न पाउँदा।
अष्टमीप् अर्थात काल रात्री बिशेष मानिन्छ ।
त्यो रात मन्दिरमा बिशेष पुजा नाच गान गर्ने र मध्यरातमा बोको मन्दिरमा बलि दिएर त्यसको मासु पकाएर प्रसाद भनेर बाड्ने परम्परा छ। त्यसैको लागि हारालुछ पनि हुन्थ्यो त कहि कतै कुनै वर्ष त पकाएको मासुमा भ्यागुतो पनि भेटियको रमाइलो कहानी ताजै छ। खासमा भ्यागुतो मासुमा कसरी आएछ त खाने बेला ल सुन्नुस है” जङ्गलको छेउछाउ जस्तैमा मन्दिर ,मन्दिरको नजिक बर्खे कुलो ( खोल्सो) थियो पानी सफा सङलै बग्थ्यो असोज कार्तिकसम्म । धोइ पखाली गर्दा धारा बाट दिन भरी बोकेर जम्मा गरिएको पानी सकिएछ लिन जान अल्लि पर पर्ने । उ बेला पुरै उज्यालो बिजुलीको सजिलो सुबिधा थिएन । कुनै लाठे नगएपछि एक जना बुढा बाजे अँध्यारोमा हुत्तिदै गएछन र त्यहि कुलो बाट बाल्टिमा पानी ल्यायर मासु पकाउदै गरेको भाँडामा हालेछन । २ वटा Everyday ब्याट्रि वाला टर्च बत्तीको पिलिक पिलिक पार्दै पकाउदै थिए। सबैलाई प्रसाद बाडेछ्न अनि त्यो बोको काटकुट गर्ने र भान्सेले मासु आफू हरुलाइ अलिकति छुट्टै राखेका रे । अनि एउटाले तिनी हरु सङ्गै मागेर छेउमा बसेर चिउरा सङ्गै 1,2 वटा चोक्टा खाय पछि तेस्रो चोक्टा त भ्यागुतोको खुट्टापो समातेछ। धन्न मुखमा हाल्न अघि कसो कसो लागेछ र अल्लि उज्यालोमा गयर हेरेछ अनि त सक्किगोनी…
(कुरो आज भन्दा लगभग १८,२० बर्ष अघिको होला)
टीकाको दिन नया लुगा लगायर फुरुङ्ग परिन्थ्यो । कस्ले कति देलान् भनेर पैसा तिर आँखा जान्थ्यो । कसैले सुका कसैले मोहोर त कसैले कागज नोट(१,२ रुपैया ) दिन्थे । जम्मा भएको सुकामोहोर लिअर १५ दिनको छुट्टी सकिएर स्कुल जादा सुन्तला मिठाई किनेर स्वादले खाइन्थ्यो । जसले ५,१० रुपैया दिन्थे लाग्थ्यो त्यो पाउदा अहिलेको हिसाबले लाखौंको चिट्ठा पर्यो।
धनी गरिब जे जस्तो भए पनि गाउँ सामाज मिलेर बसेको थियो । सबै आफन्त जम्मा हुन्थे । ऋण धन अर्म पर्म गरेर मिठो मसिनो खाएर खुशी साट्थे ।अहिले जस्तो देखावटी थियन । मौलिक परम्परा र चलन थियो र पो दशै आय झै लाग्थ्यो । खै अचेल तिज ,तिज जस्तो रहेन दशै पनि उस्तै तिहार उस्तै त्यो भन्दा नि मेरो भाग्य पनि उस्तै १ दशक नै भयो न टीका न जमरा यसपालिको दशै पनि प्रदेशमै खाली निधार । – अस्तु “सबैलाई दशैको शुभकामना”

– नारायण अधिकारी , बुटवल – देवदह (हाल कुवेत)


सम्बन्धित शीर्षकहरु

गुलाम नबी मन्सुर, तीतोपाटी - नेपालमा बेरोजगारीको अवस्था यस्तो छ कि देश छोडेर विदेश जान चाहनेको संख्या लगातार बढिरहेको छ ।…

तितोपाटी- कुवेतमा नागरिक परिचयपत्र अर्थात (PACI) ले डेलीभरी कम्पनी सँगको सम्झौता नवीकरण नगरेपछि नागरिक सूचना सार्वजनिक प्राधिकरणले सिभिल आइडी कार्डको होम डेलिभरी…

नारायण कोइराला - आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित गरिसक्नुभएका समाजसेवी, शिक्षासेवी साहित्यकार लव जोशीले शीत काव्यको व्यापकिकरणका लागि रामबहादुर सुन्दरीमाया…

प्रतिकृयाहरू
...