Thursday 25th April 2024

लघुकथाकार मदन पाैडेलको लघुकथा “चिन्ता” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार मदन पौडेलले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ‘चिन्ता’ पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

लघुकथाकार मदन पौडेललाई भौतिकरुपले नचिनेपनि लघुकथाको माध्यमबाट विगत पाँच बर्ष भन्दा बढी समयदेखि पढदै आईरहेकी छु अथवा भनौ परिचित छु ।लघुकथाकार मदन पौडेलको जन्म २०२८-३-११ गते सिमपानी, पोखरामा बुबा मुकुन्द शरण उपाध्याय र आमा राधादेबी पौडेल उपाध्यायको सुपुत्रको रुपमा भएको हो । लण्डन, वेलायतमा सपरिवार बिगत १८/१९ वर्ष देखि बसोबास गर्नुहुने लघुकथाकारले कानूनमा स्नातक गर्नुभएको छ । २१ मार्च २०१७ देखि लघुकथा लेखन यात्रा शुरु गर्नुभएका लघुकथाकारको पहिलो लघुकथा ‘पुनरावृत्ति’ हो ।उहाँको एउटा लघुकथा संग्रह ‘परिजन’ प्रकाशित छ ।
विदेशी भुमीमा रहेर नेपाल र नेपाली साहित्यलाई अगाध माया गर्दै नेपालका राजनैतिक, सामाजिक विकृति/विसङ्गति प्रति चिन्तितहुदै समाधान उन्मुख अग्रगामी लघुकथा लेख्ने लघुकथाकारको रुपमा परिचित हुनुहुन्छ।

प्रस्तुत लघुकथा ‘चिन्ता’ मा तीन छोराहरु र बुबा प्रमुख पात्रको रुपमा रहेका छन् ।कथा यसरी शुरु गरिएको छ । हरेक आइतवार जस्तै आज पनि हामी फ्यामिली ग्रुप च्याटमा थियौं । तीन भाई तीन तिर थियौं । आजको ग्रुपच्याटमा बुबा जोडिइसक्नु भएको थिएन । अवस्था को फाइदा उठाउँदै बाको ८४ को पूजा लगाउने कि बारे छलफल गरियो ।बालाई सोद्धा मान्नुहुन्न ।

हामी तीनै जनाले एकै पटक भने त मान्नुहुन्थ्यो कि ? मैले
थपें । हामीले टाइप गरेका कुराहरू बुबाले पढ्नुहोला भनेर डिलीट गर्दै गयौं । बुबा पनि जोडिनु भयो । टाइप रोकेर हामीहरू भिडियो कल तिर लाग्यौं ।

बुबा ८४ को पूजा गर्ने कि ? भनेर एकै पटक भन्न सकिएन तेसैले घुमाएर कुरा शुरू भयो । यति बिघ्न के कुरो घुमाउँछौ । मेरो ८४ को पूजा गरौं भन्न खोजेका हौला । मलाई उपहार मन पर्दैन भन्ने त थाहै होला । म त ८४ पुगें । तिमीहरू पो पुग्दैनौ कि भन्ने चिन्ताले खाएको छ मलाई त । बुबा को अँध्यारो अनुहार स्क्रीनमा देखियो ।
किन नपुग्ने बुबा पुगिहालिन्छ नि यत्रा विधि औषधि र अस्पतालहरू छन् ।दाईले बुबा लाई सम्झाउने उद्देश्य का साथ भन्नु भो ।

वेलायतमा यसपटक ४०° पुग्यो, तेस्तो चिसो ठाउँमा । काठमाण्डौंमा पहिले पहिले गर्मीका तीन महिनामा तीन दिन मात्र पसिना आउँथे । अहिले तीन महिना मा तीन दिन नआएर अरु सबै दिन आउन थाले ।

यति भनेर बुबा एकछिन रोकिनु भयो र फेरि भन्न थाल्नुभो तेसैले पूजा नगर्ने बरू चौरासी को संझनामा कतै सार्वजनिक ठाउँमा जसले जहाँ मिल्छ बर पीपल रोपिदेओ । अनि तिमीहरूले गर आफ्नो चौरासी पूजा । नत्र त कति वर्ष पो बाँचौला र तिमीहरु ।”
तेस दिन का कुरा एत्तिकै टुंगिए ।यसरी कथा समापन गरिएको छ ।

लघुकथाले वर्तमान समयमा देखिएको विश्वव्यापी जलवायु परिवर्तन प्रति चिन्ता व्यक्तगर्दै समाधान सहितको सन्देश प्रेषित गरेको छ । लघुकथा बुवाको ८४ बर्षे पुजा गर्नुपर्ने धार्मिक आस्थाबाट शुरु भएर सकेसम्म धेरै बरपिपलका बिरुवा रोप्नुपर्छ भन्ने बैज्ञानिक र समयोचित संन्देश सहित अन्त्य गरिएकोले लघुकथाको मानकमा थपक्क बसेको छ । शिर्षक सार्थक छ । लघुकथा सरल र सलल बगेको छ ।

लघुकथामा केही कथ्य बिस्तार भएको हो कि जस्तो लाग्छ मलाई । अन्तिमको वाक्य ‘तेसदिनका कुरा त्यतिकै सकिए ।’ ले कथालाई अधोगति तर्फ लगेकाले यस वाक्यलाई हटाउदा राम्रो हुन्छ । केही व्याकरणात्मक त्रुटिहरु पनि सच्याउनु पर्ने देखिन्छ ।

४०० भन्दा बढी लघुकथा लेखिसक्नुभएका लघुकथाकार मदन पौडेलका अरु २/४ वटा लघुकथाका संग्रहहरु यथाशक्य छिटो प्रकाशित होस् भन्ने शुभकामनाको साथै सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि फेरि पनि शुभकामना व्यक्त गर्दछु ।

लघुकथा:- चिन्ता

हरेक आइतवार जस्तै आज पनि हामी फ्यामिली ग्रुप च्याट मा थियौं । तीन भाई तीन तिर थियौं । आज को ग्रुप च्याट मा बुबा जोडिइसक्नु भएको थिएन । सोहि अवस्था को फाइदा उठाउँदै “दाई बा ८४ पुग्ने बेला भो । ८४ को पूजा लगाउने हो कि ?” सोधें । “बा लाई एक पटक सोध्ने कि ?” माइलो दाई ले टाइप गर्नु भो । “बा लाई सोद्धा मान्नुहुन्न । ७९ लागेदेखि नै गर्न मिल्ने हुनाले हरेक भेट मा मैले सोध्छू ।” ठूलो दाजु ले नेपाल देखि टाइप गर्नु भो ।

“हामी तीनै जना ले एकै पटक भने त मान्नुहुन्थ्यो कि ?” मैले थपें । हामी ले टाइप गरेका कुराहरू बुबा ले पढ्नुहोला भनेर डिलीट पनि गर्दै गयौं । बुबा पनि जोडिनु भयो । टाइप रोकेर हामीहरू भिडियो कल तिर लाग्यौं ।

बुबा ८४ को पूजा गर्ने कि ? भनेर एकै पटक भन्न सकिएन तेसैले घुमाएर कुरा शुरू भयो । “गाउँ का फलाना को त ८१ मै ८४ पूजा गरेछन् फेसबुक मा फोटो देखेर था पाएँ ।” माइलो दाई ले भन्नु भो । “हो हो फलाना को पनि गरे” मैले अर्को थपें ।

“एति बिघ्न के कुरो घुमाउँछौ । मेरो ८४ को पूजा गरौं भन्न खोजेका हौला । मलाई उपहार सुपहार मन पर्दैन भन्ने त थाहै होला । म त ८४ पुगें । तिमीहरू पो पुग्दैनौ कि भन्ने चिन्ता ले खाएको छ मलाई त ।” एति भनि सक्दा नसक्दै बुबा को अँध्यारो अनुहार स्क्रीन मा देखियो । एकपटक हामी सबैलाई व्यर्थै कुरा गरिएछ भन्ने लाग्यो ।

“किन नपुग्ने बुबा पुगिहालिन्छ नि । एत्रा विधि औषधि र अस्पताल हरू छन् ।” दाई ले बुबा लाई सम्झाउने उद्देश्य का साथ भन्नु भो ।

“खै ? वेलायत मा एसपटक ४०° पुग्यो, तेस्तो चिसो ठाउँ मा । एहिं काठमाण्डू मा पहिले पहिले गर्मी का तीन महिना मा तीन दिन मात्र पसिना आउँथे । अहिले तीन महिना मा तीन दिन नआएर अरु सबै दिन आउन थाले ।”

एति भनेर बुबा एकछिन रोकिनु भयो र फेरि भन्न थाल्नुभो – “तेसैले पूजा नगर्ने बरू चौरासी को संझना मा कतै सार्वजनिक ठाउँ मा जसले जहाँ मिल्छ बर पीपल रोपिद्याओ । अनि तिमीहरू ले गर आफ्नो चौरासी पूजा । नत्र त कति वर्ष पो बाँचौला र तिमीहरु ।”
तेस दिन का कुरा एत्तिकै टुंगिए ।

03.08.2022
लण्डन


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...