Friday 11th September 2026

‘जाति चिनाउन’ सगरमाथा आरोहण


विश्वको सर्वोच्च शिखर सगरमाथामा अहिलेसम्म भिन्न देश, भिन्न वर्ग, र भिन्न जातिले चढिसकेका छन्। तर, अहिलेसम्म निग्रो (काला) जातिको समूहले सगरमाथाको शिखर भने चुमेको छैन। अमेरिकी समाजमा अझै पनि सेता र काला जातिबीच रंगभेद कायम नै छ। यसैलाई चिर्न अफ्रिकन–अमेरिकनको एक समूहले सगरमाथा आरोहण गर्ने भएको छ।

सगरमाथाको पहिलो आरोहण सन् १९५३ देखि यताको ६ दशकमा करिब ८ जना मात्रै काला जातिले गरेका छन्। तर, समूहमा होइन छुट्टाछुट्टै। सन् १९६३ मा पहिलोपटक अमेरिकी नागरिकले सगरमाथाको आरोहण गरेका थिए। तर, उनी गोरा थिए। त्यही नै वर्ष निग्रो जातिका नेता डा. मार्टिन लुुथर किङ्गले आफ्नो मन्तव्यमा ‘आइ ह्याब अ ड्रिम’ भनेर सपना देखेका थिए। उनको सपना ४० वर्षपछि एकजना निग्रोले सगरमाथाको सफल आरोहण गरेपछि पुरा भएको थियो। तर, अहिलेसम्म काला जातिको सम्प्रदाय वा समुहले नै सगरमाथा आरोहण गरेको भने छैन।

आफ्नो समुदायलाई विश्वमा चिनाउनका लागि सगरमाथाको आरोहण गर्ने उद्देश्यले फुल सर्कल एभरेस्ट एक्सपेडिसन समूह बनेको बताइएको छ। रंगभेदमा जुझिरहेको र आफूलाई साबित गर्न आफूभित्र नै संघर्ष गरिरहेका व्यक्तिहरूले आफूलाई जितेर आउँदो पुस्तालाई पाठ सिकाउने लक्ष्य यो समूहको छ। ११ जना अफ्रिकन–अमेरिकनको यो समूहले २ वर्षअघिदेखि नै सगरमाथा आरोहणको प्रयास गरेको भएपनि कोभिड–१९ का कारण पछि सरेको थियो। सन् २०२२ मा सगरमाथाको आरोहण गर्ने भएपछि फुल सर्कल एभरेस्ट एक्सपेडिसन समुहको उपस्थितिमा नेपालस्थित अमेरिकन दूतावासले बुधबार बाहिरी क्रियाकलापमा विविधता ल्याउनका लागि यो समूहसँग छलफल गरिएको थियो।

यो समूह बिहीबार लुक्ला प्रस्थान गर्दैछ। सगरमाथा आरोहणका लागि उनीहरूले पर्यटन विभागबाट मंगलबार स्वीकृति पाएका थिए। सगरमाथा आरोहणकै लागि भनेर यो समुह २०२२ को जनवरीबाट नेपालमै छ। अफ्रिकन–अमेरिकन यो समुहले नितान्त त्यहाँका काला जाति सम्प्रदायको प्रतिनिधित्व गर्ने आरोहण दलका नेता फिलिप हेन्डरसन बताउँछन्। ‘संयुक्त राज्य अमेरिकालाई प्रतिनिधित्व त गर्छौं। तर, त्यहाँको पनि काला जाति, जुन समुहले विभेदको सामना गर्नुपरेको छ। उनीहरूको प्रतिनिधित्व हामी गर्छौं,’ हेन्डरसन भन्छन्। काला जातिका नयाँ पुस्तालाई प्रेरणा दिँदै बाहिरी खेलहरूमा यो समुदायले पनि केही गर्न सक्छ भन्ने सन्देश दिनका लागि यो आरोहण महत्वपूर्ण रहेको हेन्डरसनको भनाइ छ। हेन्डरसनले देनाली, किलिमन्जारो, माउन्ट केन्याको सफल आरोहरण गरेका छन्। उनीसँग सगरमाथाको क्याम्प ३ सम्मको पुगेको अनुभव पनि छ।

अनुभव सँगसँगै आफ्नो सम्प्रदायलाई चिनाउने र केही गर्ने अफ्रिकन–अमेरिकन यो समूहमा अन्य १० सदस्य छन्। सगरमाथाको आरोहणका लागि ११ जना उनीहरूको समुह र २५ जना नेपाली शेर्पाहरू गरी ३६ जनाको समूहले सगरमाथाको आरोहण गर्ने छ। मौसमले साथ दिए यही मे महिनाको मध्यसम्ममा सगरमाथाको सफल आरोहण गर्ने विश्वास उनीहरूको छ। सगरमाथा आरोहणको क्रममा यात्रा सँगालो स्वरूप वृत्तचित्र निर्माण गरिने उनीहरूको भनाइ छ। फुल सर्कल एभरेस्ट एक्सपेडिसन समुहमा फिलिप हेन्डरसन, अब्बिइ डिओने, जेम्स कगम्बि, मनोअह् आइनुउ, फ्रेड क्याम्पबेल, डेमोन्ड मुुलिन्स्, रोजम्यारी साल, एडिइ टेलर, थोमस मोरे, एडिना स्कट र इभान ग्रिन रहेका छन्।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...