Thursday 28th May 2026

सुर्खेतमा एमसिसीविरोधी आन्दोलनले उग्ररुप लियो, प्रमुख दलका पार्टी कार्यालयमा आगजनी


संसदबाट अनुमोदित एमसिसी सम्झौतालाई ‘राष्ट्रघाती’ भन्दै विरोध जनाउँदै आएका ८ राजनीतिक दल र दुई मोर्चाले सोमबार आह्वान गरेको बन्दका क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दिनभर झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

आन्दोलनकारीको ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन् । विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोक तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।

‘स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जनभन्दा बढी ग्यास हानेको छ’ उनले भने,‘तर विभिन्न गल्लीबाट आन्दोलनकारी निस्किएर प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् ।’

पार्टी कार्यालयमा आगजनी
दिनभर प्रहरीसँग ठाउँठाउँमा झडप हुँदै जाँदा बेलुुका ७ बजेतिर बन्दकर्ताले वीरेन्द्रनगर–६ गोदाम लााइनमा रहेका नेपाली कांग्रेस, नेकपा(एमाले), माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । आन्दोलनकारीले सुर्खेतमा विभिन्न पार्टीका कार्यालयहरुमा तोडफोड र आगजनी गरेपछि कर्फ्यु आदेश जारी भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

सोमबार बेलुका सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । ‘उत्तरमा कपासे, दक्षिणमा काभ्रेबिहार, पूर्वमा सुब्बाकुना र पश्चिममा बोसिमल क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरिएको छ ।’ उनले भने, ‘प्रदर्शन बढेपछि र पार्टी कार्यालयहरुमै आगजनी हुन थालेपछि कर्फ्यू आदेश जारी गर्नुपरेको हो ।’

स्थिति नियन्त्रणमा लिन अहिले वीरेन्द्रनगर बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

विप्लवको (नेपाल कम्युनिष्ट पार्टी), नेपाल कम्युनिष्ट पार्टी (मशाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी(ऋषि कट्टेल) र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाललगायतले सोमबार बन्द आह्वान गरेका थिए ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

लुलु कनेक्टले कुवेतभरिका प्रविधि पारखीहरू र ग्राहकहरूका लागि नयाँ र नविनतम किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ मे २४ मा…

अमेरिका र ईरान  बीच शान्ति वार्ता अघि बढ्न सक्ने संकेत सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा आएको करिब ५ प्रतिशतको गिरावट…

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

प्रतिकृयाहरू
...