Friday 11th September 2026

पासपोर्ट टिकट बिना जहाजमा युवक प्रवेश- सुरक्षा कमान्डर थापा निलम्बित


नेपाल वायु सेवा निगमले त्रिभुवन विमानस्थलभित्र सुरक्षा लापरबाही भएको भन्दै विमानस्थल सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरेको छ। कतार उडान भर्ने तयारीमा रहेको एक विमानमा सोमबार राति करिब १० : ५४ बजे एक यात्रु अनधिकृत रूपमा पुगेको घटना बाहिरिएपछि निगमले उनलाई कारबाही गरेको हो।

बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले थापालाई निलम्बन गरिएको जानकारी गराएको छ। सुरक्षा प्रमुखको त्रुटिका कारणले विमानस्थलजस्तो संवेदनशील ठाउँमा यस्तो घटना भएको निगमले जनाएको छ।

आयल निगमको डिपो रहेको क्षेत्रको तारबार नाघेर रौतहटका हस्पम आलम कतार उड्न लागेको नेपाल एयरलाइन्सको जहाजभित्रै पुगेका थिए। शंका लागेर जहाजका कर्मचारीले सोधपुछ र कागजात हेरेपछि उक्त कुरा थाहा पाएका थिए। प्रहरीले उनको मानसिक अवस्था ठीक नभएको बताएको छ। प्रहरीले ती व्यक्तिसँग सोधपुछ गर्दा विमान चढ्ने रहरले आफू त्यहाँ पुगेको प्रतिक्रिया दिएका छन्।

घटनाबारे जानकारी पाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त घटनाबारे छानबिन गर्न निगमलाई निर्देशन दिएका छन्। त्यस्तै विमानस्थलभित्र रहेको प्रहरी कार्यालयलाई पनि सुरक्षा अवस्था चुस्त राख्न निर्देशन दिएका छन्। निगमले उक्त घटनाबारे छानबिन गर्नका लागि क्याप्टेन विजय लामाको संयोजकत्वमा छानबिन उपसमिति गठन पनि गरेको छ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...