Sunday 4th October 2026

जापान र अस्ट्रेलिया बन्द, विद्यार्थी प्रभावित


तितोपाटी- अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएका छन् ।

दुवै मुलुक उच्च शिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागूू हुने गरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि एक साताअघि मात्रै आवागमन खुला गर्ने निर्णय गरेको थियो ।
जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागूू हुने गरी विदेशीका लागि पर्यटक भिसाबाहेक अन्यका लागि बोर्डर खुला गरेको थियो तर सोमबार साँझदेखि लागू हुने गरी सबै प्रयोजनका लागि जापान जाने तयारीमा रहेकालाई रोक लगाइएको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँका अनुसार जापान सरकारको निर्णय कहिलेसम्मका लागि हो भन्ने केही खुलाइएको छैन । अस्ट्रेलिया सरकारले भने डिसेम्बर १५ सम्मका लागि भनेको छ तर त्यसपछि पनि खुल्छ कि खुल्दैन भन्ने निश्चित नभएको पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “ओमिक्रोन भाइरसको सङ्क्रमण कम भयो भने खुल्छ होला । अन्यथा अनिश्चितकालसम्म पनि जान सक्छ ।”

निर्णय कार्यान्वयन नहुँदै फेरि अर्को निर्णय भए पनि अस्ट्रेलिया जाने तयारीमा रहेका नेपाली विद्यार्थी समस्यामा परेको पाण्डेले बताउनुभयो । जापान सरकारले नोभेम्बर ८ तारिखमै बोर्डर खुला गरेकोले यसअघि तयारी गरेर बसेका भए पनि विद्यार्थी भने जान पाएका थिएनन् । जापान बन्द हुँदा करिब आठ हजार विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् । उनीहरूले सम्बन्धित कलेजमा भर्नाका लागि अनुमति (कन्फरमेसन अफ इन्रोल्मेन्ट) समेत पाइसकेका छन् । विद्यार्थीहरू हवाईजहाजको टिकटसमेत किनेर जाने तयारीमा थिए ।

अस्ट्रेलियाका लागि भने यसअघि नै प्रवेशाज्ञा (भिसा) लिएर बसेका विद्यार्थी तीन हजार आठ सय रहेको इक्यानले जनाएको छ । उनीहरूले आफू पढ्न जाने कलेजमा शुल्कसमेत बुझाइसकेका छन् । कलेज जान नपाएका विद्यार्थीले डलरमा शुल्क तिरेर नेपालबाटै अनलाइन कक्षा लिइरहेका छन् । डिसेम्बरबाट खुल्ने भएपछि भने उनीहरू खुसी हुँदै सम्पूर्ण तयारी गरिरहेका थिए । डिसेम्बर २ तारिखका दिन सिड्नी उड्ने तयारी गरिरहनुभएकी शिला थपलियाले भन्नुभयो, “झन्डै दुई वर्षसम्म कुरेपछि अस्ट्रेलिया जाने सपना पूरा हुन लागेको थियो । बोर्डर नखुल्ने भन्ने अकस्मातको सूचनाले निकै निराश बनाएको छ ।”गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...