Tuesday 27th October 2026

सूर्यदेवको पूजा आराधना गरी मनाइँदै छठ


तितोपाटी- छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

व्रतविधि
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना¬) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सचिव नवलकिशोर यादवले बताउनुभयो ।
“षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ”, उहाँले भन्नुभयो । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्मअर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा विगतका वर्षमा काटिएकामा यस वर्षदेखि फेरि बिदा दिइएको छ ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । कमलपोखरीमा भने यस वर्ष छठको व्यवस्थापन काठमाडौँ महानगरपालिकाले नै गर्ने जनाइएको छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखोअर्थात् सात्विक भोजन गरेर बस्छन् ।


सम्बन्धित शीर्षकहरु

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

इजरायलमा मंगलबार सम्पन्न हुन थालेको संसदीय चुनावलाई देशको हालैको इतिहासकै सबैभन्दा महत्वपूर्ण चुनावमध्ये एक मानिएको छ। यो चुनावले प्रधानमन्त्री बेन्जामिन…

प्रतिकृयाहरू
...