Tuesday 10th March 2026

छोरालाई मिर्गौला दान दिने तयारीमा कुमारी


तीतोपाटी डटकम-छोराको दुवै मिर्गौला फेल भएपछि कुन चाँही आमाको मन रुँदैन र ? अहिले त्यस्तै भएको तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई । २८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनीका मुहारमा खुशी छैन ।

छोरालाई कसरी बचाउने भन्नेमा उनी चिन्तित छन् । कमजोर आर्थिक अवस्था र प्रत्यारोपणका लागि खर्च लाग्ने भएपछि परिवार नै पीडामा छ । उनीले छोरा बचाउनका लागि आफ्नो मिर्गौला दान गर्दै छिन्। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरेपछि उनीको मिर्गौला छोरालाई प्रत्यारोपण गर्न मिल्ने भएको बुबा पदमबहादुर क्षेत्रीले जानकारी दिए । “सबै परीक्षण गरेपछि आमाको मिर्गौला छोरालाई प्रत्यारोपण गर्न मिल्ने भएको छ”, उनले भने, “मिर्गौला त प्रत्यारोपण हुने भयो तर खर्च कसरी जुटाउने भन्ने चिन्ता अझै छ ।”

डुम्रेस्थित एक कम्पनीमा काम गर्दैगर्दा अनुपका मिर्गौलामा समस्या आएको थियो । परीक्षण गराउँदा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो । त्यसयता उनी नियमित डायलासिस गराउँदै आएका छन् । स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले प्रत्यारोपणको सुझाव दिएका थिए ।

“मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भनेपछि मिर्गौला कताबाट खोज्ने भन्नेमा चिन्तित भयौं, पछि आमाको मिर्गौला छोरालाई प्रत्यारोपणका लागि मिल्ने भयो,” उनले भने, “सबै परीक्षण सकिएको छ, अब चिकित्सकले कहिले भन्छन् त्यही दिन प्रत्यारोपणको तयारी छ ।” प्रत्यारोपणका रु १२ देखि १५ लाख खर्च लाग्ने चिकित्सकले बताएका छन् । हालसम्म रु छ लाख खर्च भइसकेको छ । अनुपका उपचारमा सघाउन विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गर्दै आएका छन् । हालसम्म रु आठ लाख सङ्कलन भएको पदमले जानकारीदिए । “गरिखाने परिवार प¥र्यों, छोराको उपचारका लागि त्यत्रो पैसा जुटाउन मुस्किल भइरहेको छ, सहयोग पनि पाइरहेका छौँ”, उनले भने, “थप सहयोग पाए छोराको जीवन बचाउन सक्छौं ।”

रु एक लाख सहयोग

अनुपको मिर्गौला प्रत्यारोपणका लागि शान्तिदीप युवा क्लबले रु एक लाख हस्तान्तरण गरेको छ । व्यास–६ शिशाघाटस्थित युवा क्लबले सो सहयोग गरेको हो । क्लबको तर्फबाट सङ्कलित रु ९१ हजार, युवा सङ्घ व्यास नगरका संयोजक कृष्णकुमार श्रेष्ठको तर्फबाट रु पाँच हजार र आले फर्निचरका प्रोपाइटर केशर आलेबाट चार हजार गरी रु एक लाख पीडितलाई हस्तान्तरण गरिएको छ ।

क्लबका अध्यक्ष सूर्यप्रसाद छिमालले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा रकम सङ्कलन गरिएको जानकारी दिए । मिर्गौला पीडित अनुपको बारेमा जानकारी पाएपछि रकम सङ्कलन गरिएको र उक्त रकमले पीडितका उपचारमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

@रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...