Thursday 25th April 2024

दुबईको मरुभूमिमा कसरी घाम र हावाबाट निकालिँदै छ खानेपानी ?


तितोपाटी- पानीको अभाव भएका ठाउँमा जमिनमुनि खनेर, खोला, समुद्रलगायत विभिन्न स्रोतमार्फत खानेपानी निकाल्न सकिन्छ । तर, जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन अनि स्रोतको बढ्दो अभावबीच वैज्ञानिक र खोजकर्ताहरुले खानेपानी सम्बन्धी नयाँ समाधान पत्ता लगाएका छन् । यसको सबैभन्दा सहज माध्यम हावा भएको उनीहरुको विश्वास छ ।

वायुमण्डलीय हावाबाट पानी निकाल्न दर्जनौँ कम्पनीहरु मध्येको एउटा हो, ‘सोर्स ग्लोबल’ जसले प्रयोग गर्ने प्रविधि बाँकी संस्थाहरुभन्दा फरक भएकाले पनि यसले खानेपानीसम्बन्धी दिगो र उपयुक्त समाधान दिलाउने अपेक्षा गरिएको छ । कम्पनीले केबल सोलार प्यानल अर्थात सौर्य ऊर्जा र हावामार्फत पानी निकाल्न सक्छ ।
यसको सबैभन्दा ठूलो ‘वाटर फार्म’ दुबईमा छ, जसले हरेक वर्ष १५ लाख लिटरसम्म पानी उत्पादन गर्दछ ।
युरोप, मध्यपूर्व अनि अफ्रिकातर्फका कम्पनी उपप्रमुख भेहिद फोतुही भन्छन्, “यसमा हामीलाई पानी निकाल्न हावा र सोलार मात्र भए पुग्छ अरु केही चाहिँदैन । विजुली, ग्रिडलगायत अन्य कुनै पनि ठूला संरचनाको आवश्यकता पर्दैन । यो प्रविधिमा सूर्य र हावा पर्याप्त छ ।”
वायुमण्डलबाट पानी निकाल्न सोर्स जस्ता कम्पनीहरुले मसिनमार्फत हाम्रो आसपासको हावाबाट पानी सोसर निकाल्छन् । वास्तवमा यो तरिका दशकौँ अगाडिदेखि प्रयोग हुँदै आएको मानिन्छ । परम्परागत रुपमा बाफलाई चिसो पारेर पानी निकाल्ने चलन लामो समय अगाडि अपनाइने गरिन्थ्यो ।
तर, यो प्रक्रियामा धेरै विजुली खपत गर्नुपर्ने हुँदा व्यहारिक मानिदैनथ्यो । त्यस्तै वाफिलो हावा उच्च स्तरमा भएको ठाउँमा मात्र यसले काम गर्न सक्छ ।
त्यसैकारण सोर्स कम्पनीले यसममा अलग्गै तरिका अपनाएको छ, जसलाई ‘जिरो मास’ को नाम दिइएको छ । यसमा विजुली नभएर सूर्यबाट प्राप्त हुने ऊर्जा, सोलारले विजुलीको काम गर्दै हावालाई चिसो पार्ने ‘फ्यान’ चलाउँदछ । यो डिभाइस भित्र ‘स्पन्ज’ जस्तै वस्तु राखिएको हुन्छ जसमा हावा परेपछि त्यसले बाफलाई सोस्छ । त्यसरी प्राप्त गरिएको बाफको पानीमा ‘म्याग्नेसियम र क्याल्सियम’ तत्त्व मिसाएपछि यसले पानीको स्वाद र स्वस्थकर गुण बढाउँछ ।
यसको अर्थ मिनिरलयुक्त स्वस्थ खाने पानी बिना कुनै अनावश्यक उत्सर्जन केबल हावा र नविकरण ऊर्जाबाट उत्पादन गर्न सकिन्छ ।
यसरी सोर्स कम्पनीले अहिले पानीसँगै प्लास्टिक मुक्त बोतलको ब्रान्ड पनि सुरु गर्ने योजना बनाइरहेको छ र होटल अनि रिसोर्टहरुमा साधारण पानीको बोतल बराबरकै मूल्यमा बिक्री गर्ने बताएको छ ।
यस परियोजनाअन्तर्गत सोर्सले विश्वभरका विभिन्न अस्पताल र पानीको पहुँच कठिन भएका स्थलहरुमा आफ्नो ‘हाइड्रोप्यानल’ प्रविधि स्थापित गराएको छ ।
विशेषगरी मरुभूमिजस्ता विकट पर्यटकीय गन्तव्यहरुमा यसले धेरै ग्राहकलाई आकर्षित गराइरहेको छ ।
फोतुही भन्छन्, “मध्यपूर्वमा यो प्रविधिप्रति अत्याधिक चासो बढेको छ । किनकी हस्पिटालिटीको क्षेत्रमा अहिले ठुल्ठूला ब्रान्डहरु खानेपानी सेवाको दिगो समाधान खोजिरहेका छन् ।”
हाल सोर्सले दुबईस्थित मरुभूमिको बीचमा रहेको लक्जरी क्याम्पलाई सेवा प्रदान गरिरहेको छ । त्यहाँ हाइड्रोप्यानलमार्फत निकालिएको खाने पानी प्रयोग गरिराखिएको छ । यसको अर्को ठूलो ग्राहक साउदी अरब हुन सक्छ जहाँ एउटा ठूलो कम्पनीले १८ लक्जरी होटल निर्माण गर्ने योजना बनाइरहेको छ । र सबैमा सोर्सकै पानी प्रयोग गर्ने लक्ष्य रहेको छ ।

खानेपानी सम्बन्धी चुनौतिहरु सम्बोधन गर्ने ब्लुफिल्ड रिसर्चका सहप्रमुख किथ हेजका अनुसार सोर्सको डिजाइन अन्य वायुमन्डलीय पानी निस्काषक कम्पनीहरु भन्दा धेरै फरक छ जसले यसलाई दिगो र वातावरण अनुकूल बनाउँदछ ।
तर, विश्वभर झन्डै २ अर्ब मानिस खानेपानीको उच्च अभावबीच बाँचिरहेका छन् । र सोर्स जस्ता केही दर्जन कम्पनीले ती संकटको समाधान गर्ने लक्ष्य बोके पनि सम्भावना कम रहेको हेज बताउँछन् । किनकी मूल्य सम्बन्धी प्रतिस्पर्धामा आउनै ती कम्पनीहरुलाई दश वर्ष लाग्न सक्ने र यसबाट निष्कासन गर्ने पानीको मात्रा कुवा, इनारलगायत साधारण स्रोतको केही हिस्सा आपूर्ति मात्र हुने भएकाले व्यवहारिक रुपा सर्वत्र अपनाउन कठिन हुने उनले बताए ।
त्यस्तै यसको अर्को चुनौतिमय पक्ष भनेको ठूलो स्तरमा जमिन हो । त्यसैले यसलाई वर्तमानका खानेपानी प्रणालीलाई बढावा दिने साधनका रुपमा मात्र लिन सकिने उनले बताए जसले प्लाष्टिकलगायत प्रदूषणजन्य उत्सर्जन कम गराउन मद्दत गर्नेछ ।
यी पक्षबारे फोतुहीले पनि स्वीकार गरेका छन् र हाइड्रोप्यानललाई प्रभावकारी बनाउन बोतलको सेवा या धारा आवश्यक पर्ने उनले बताए । तर पनि यसले स्पष्ट रुपमा वातावरण अनुकूल लाभ दिलाउन सक्नेमा उनले जोड दिएका छन् । उनले भने, “वातावरणीय दृष्टिकोणबाट हेर्ने हो भने यसले धेरै स्रोतसाधन जोगाउँछ र दिर्गकालीन रुपमा पनि यसको बलियो महत्व हुनेछ । ”बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...