Thursday 30th July 2026

कोरोनाको जोखिमकै बीच कामको खोजीमा भारत जानेको लर्को


तितोपाटी- कोरोनाभाइरसको जोखिमलाई बेवास्ता गर्दै कामको खोजीमा भारत जाने नेपालीको संख्या बढ्न थालेको छ ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो तुल्याएसँगै कैलालीको त्रिनगर हुँदै भारततर्फ कामको खोजीमा जाने नेपालीहरुको संख्यामा वृद्धि हुन थालेको हो  कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै ठुलो संख्यामा नेपालीहरु भारतका विभिन्न सहरबाट फर्किएका थिए । संक्रमणको रफ्तार केही कम भएसँगै निषेधाज्ञा खुकुलो भएपछि उनीहरु फेरि कामको खोजीमा भारत जान थालेका हुन् । कैलालीको त्रिनगर भन्सार नाकाबाट दैनिक सरदर तीन हजारको संख्यामा नेपालीहरु भारततर्फ जाने गरेको नाकाका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले बताए ।

हाल यो नाका हुँदै नेपाल भित्रिनेभन्दा भारत जानेको संख्या अत्यधिक रहेको उनको भनाइ छ । उनका अनुसार बिहीबार यो नाकाबाट ४४९ जना नेपाली भित्रिएका छन् भने २ हजार ३९६ जना भारततर्फ प्रस्थान गरेका छन् ।

चैत १ गते यता त्रिनगर भन्सार नाकाबाट ५२ हजार १२५ जना नेपाली नागरिक कामको सिलसिलामा भारततर्फ गएको उनले बताए । यो अवधिमा केही साता निषेधाज्ञाका कारण भन्सार नाका सुनसानजस्तै थियो । त्यतिबेला भारत जानेको संख्या लगभग शून्य रहे पनि पछिल्लो समय दैनिक दुई÷तीन हजारजनाका दरले नेपालीहरु भारततर्फ जाने गरेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भए यता नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइ नेपाल भित्रिनेहरुको ज्वरो मापन तथा शंकास्पदको एन्टिजेन परीक्षणसमेत गर्न थालिएको छ । संक्रमणको दोस्रो लहर सुरु भएपछि यो नाकामा २६ हजार ८४२ को एन्टिजेन परीक्षण गरेकोमा २ हजार ५८४ जनामा कोरोना ‘पोजेटिभ’ पाइएको ठकुल्लाले बताए ।

पछिल्ला दिनमा भारतबाट नेपाल आउनेको संख्या निकै कम रहेको उनले बताए । ‘अहिले त भारतबाट आउनेको संख्या कम छ,’ उनले भने, ‘बरु नेपालबाटै भारत जानेको संख्या बढ्दो छ ।’

हेल्थ डेस्कमा २१ जना खटिएको र उनीहरुले तीन सिफ्टमा काम गर्ने गरेको उनको भनाइ छ ।

बिहान ६ बजेदेखि राति ९ बजेसम्म सिफ्ट मिलाएर काम गर्दै आएको हेल्थ डेस्कका अहेव लोकेन्द्र शाहीले जानकारी दिए । शाहीका अनुसार भारतबाट आउने नेपालीको एन्टिजेन परीक्षण गर्दा एक÷दुई प्रतिशतमा मात्र कोरोना पोजेटिभ देखिने गरेको छ । साभार रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...