Wednesday 26th August 2026

कमल थापालाई ओलीको फोन : बादललाई भोट दिनुहोला !


राप्रपाको भोट बादल कि खिमलाललाई ?

एमालेको विवाद समाधान उन्मुख रहेका बेला बागमती प्रदेशमा जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनको भिडन्त रोचक मोडमा पुगेको छ । एमालेको माधवकुमार नेपाल पक्ष समेतको सहयोगमा विपक्षी गठबन्धनबाट एमालेसमर्थित खिमलाल देवकोटा उम्मेदवार रहेका छन् भने एमालेबाटै रामबहादुर थापा बादल उम्मेदवार छन् । केन्द्रमा एमाले नेताहरु मिलेका छन्, बागमती प्रदेशमा भने बागी उम्मेदवारको चर्चा छ ।

​चुनावको दिन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बादललाई भोट हाल्ने भएको छ । सो पार्टीका वरिष्ठ नेता दीपक बोहराले पार्टीले एमालेलाई सघाउने रातोपाटीलाई जानकारी दिए । ‘पार्टीले आधिकारिक निर्णय त गर्न बाँकी नै छ, हामीले एमालेलाई नै सघाउँछौं । पार्टीमा त्यही अनुसार अनौपचारिक कुरा पनि भइसकेको छ । एमाले पार्टीभित्रको विवाद उत्कर्षमा रहेको बेला काँग्रेस–माओवादीसमेतको समर्थनमा एमाले समर्थित भट्टराईलाई उम्मेदवार बनाइएको र हाल एमालेको विवाद समाधान उन्मुख हुँदै गर्दा उपनिर्वाचनमा माधव समूहको भोट कता रहने भन्ने अन्योलका साथै भिडन्त रोचक बन्ने देखिएको हो ।

यसैबीच पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रहेका गृहमन्त्री समेत रहेका बादललाई भोट माग्दै एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गरेका छन् । शनिबार पार्टीका ३ अध्यक्षसहितको शीर्ष नेताको बैठकमा अध्यक्ष कमल थापाले यसबारे ब्रिफिङ गरेका छन् ।

उनले आफूलाई प्रधानमन्त्री ओलीले फोन गरेर निर्वाचनमा सहयोग मागेको जानकारी गराएका थिए । त्यसबारे बैठकमा छलफल हुनुका साथै आधिकारिक पत्र आए ओलीलाई नै मत दिने बारेमा निष्कर्ष निकालिएको राप्रपाका एक नेताले रातोपाटीलाई जानकारी दिए । ती नेताका अनुसार अहिलेको अवस्थामा विपक्षी गठबन्धनको उम्मेदवारबारे नै अन्योल रहेको र ओलीसँग विगतमा पनि भएको सहकार्यको आधारमा बादललाई नै मत हाल्नु हितकर हुने निष्कर्ष निकालिएको हो ।

राप्रपाको प्रदेशसभामा २ सांसद रीता माझी र रीना गुरुङको प्रतिनिधित्व छ । उनीहरुको मतभार ९६ हुन्छ । स्थानीय तहतर्फ धादिङको रुबिभ्याली गाउँपालिकाका अध्यक्ष चेरुत तामाङ र उपाध्यक्ष बिना लामासमेत मतदाता हुन् । उनीहरुको मतभार ३६ हुन्छ । यस हिसावले उपनिर्वाचनमा राप्रपाको जम्मा मतभार १३२ छ ।

राप्रपा नेता मोहन श्रेष्ठले एमालेले आधिकारिक पत्र पठाउन बाँकी रहेकाले सो पत्र प्राप्त भएपछि पार्टीले आधिकारिक निर्णय गर्ने रातोपाटीलाई बताए ।उपनिर्वाचनमा बागमती प्रदेशका १०९ जना र स्थानीय तहका प्रमुख र उपप्रमुखहरू २३८ जनाले मतदानमा भाग लिनेछन् । यीमध्ये माधव पक्षले भोट दिँदा मात्रै डा. देवकोटाले जित्ने सम्भावना छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...