Friday 26th April 2024

दिल्लीमा कोरोना संक्रमित नेपाली भन्छन्– अस्पतालको बेहाल देख्दा मरिन्छ कि झैँ लाग्छ


तितोपाटी- भारतको राजधानी नयाँ दिल्लीमा ६ वर्षदेखि परिवारसँगै बसेर रोजगारी गर्दै आएका थिए, बाँकेका कवीन्द्र शाही । भयावह रूपमा फैलिएकाे कोरोना संक्रमणले उनलाई पनि छाेयाे । संक्रमित भएर बिरामी परे पनि अस्पतालमा बेड नपाएपछि उनी अहिले हाेम आइसाेलेसनमै छन् ।

कोरोना पोजिटिभ देखिएपछि चारवटा अस्पताल धाउँदा पनि बेड नपाएपछि कोठामै फर्किएर औषधि खाइरहेको शाहीे बताउँछन् ।
‘दिल्लीमा धेरै नेपालीहरू कोरोना संक्रमित छन् । उनीहरूलाई उपचार गर्न समस्या भइरहेको छ । नेपाली दूतावासमा सहयोगका लागि सम्पर्क गर्दा फोनसमेत उठाउँदैनन्,’ उनले गुनासाे गरे । भारत सरकारले विदेशी नागरिकका हकमा कोरोना परीक्षण र उपचारका लागि अनिवार्य आधार कार्ड खोज्ने गरेकाे छ । आधार कार्ड नभएका नेपालीले अस्पतालमा बेड पाउँदैनन् । दूतावासले सहयोग नगर्दा धेरै कोरोना संक्रमितले उपचार नपाएकाे शाही बताउँछन् ।
दिल्लीमा कोरोना संक्रमित नेपालीहरू उपचार नपाएर ज्यान गुमाइरहेका छन् । नेपाली दूतावासले कोरोना संक्रमितलाई उपचारका लागि सहयोग नगरेको उनको गुनासाे छ । श्रीमती र छोरासँगै दिल्लीमा बस्दै आएका उनी सेक्युरेटी गार्डको काम गर्छन् ।
यस्तै, कामका लागि माल्टा जान भारतको दिल्ली पुगेका मोरङका दिपराज चौधरी पनि कोरोना संक्रमित छन् । उनले पनि उपचार नपाएको गुनासो गरे ।
नेपालबाट आएपछि पहाडगञ्जको एउटा होटलमा बस्दा ज्वरोसँगै झाडापखाला लागेपछि उनले कोरोना परीक्षण गराएका थिए । परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको चौधरीले बताए ।
‘हामी नेपालबाट गएका तीनै जनालाई कोरोना देखियो । दिल्लीको गान्धी हस्पिटलदेखि सामान्य क्लिनिकसम्म चहार्दा पनि उपचार पाइएन । अन्तिममा होटलमै आएर सिटामोल खाएर बसेका छौँ,’ उनले भने, ‘भारतको दिल्लीमा कोरोना भाइरसको नाम सुन्दा पनि सर्छजस्तो लाग्ने अवस्था छ । उपचार नपाएर सामान्य अस्पतालको अगाडि मानिस अक्सिजन लिएर पेटीमा पल्टेका देखिन्छन् । त्यो दृश्य देख्दा मरिन्छ कि जस्तो लाग्छ ।’

RITZShikhar Insurance
नेपालीहरू कोरोना संक्रमित भए पनि उपचार गर्न सक्ने अवस्था छैन । दिल्लीका ठूला र सामान्य अस्पतालअगाडि कोरोना संक्रमित ढलेका छन् ।
कोरोना महामारीमा दूतावासले नेपालीलाई उपचारका लागि सहयोग नगरेको र सहयोग माग्न जाँदा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।
भारतमा दोस्रो लहरको कोरोना महामारी फैलिएसँगै डरलाग्दो र जोखिमपूर्ण अवस्था रहेको त्यहाँ रहेका नेपालीहरू बताउँछन् ।
दिल्लीमा सडकमै कोरोनाबाट मृत्यु भएका संक्रमितको शव भेटिन्छ । त्यो दृश्य देख्दा जीवनकै आशा मारेको दिल्लीमा रहेका मोरङका सागर थारू बताउँछन् ।
दिल्लीका एउटा अस्पतालबाट कोरोनाका कारण मृत्यु भएका व्याक्तिका शव घन्टामा १० वटासम्म हस्पिटलबाट बाहिर ल्याएको आफ्नै आँखाले देखेको उनी मनाेत्रासमा छन् । त्यसपछि डरले कोठामा फर्किएर औषधि खाँदै बसेको उनले बताए ।
दिल्लीमा कोरोना बिरामीको संख्या दैनिक बढ्दो छ । रोजगारी, अध्ययन र तेस्रो देश जान दिल्ली पुगेका नेपालीहरूले समेत कोरोना संक्रमित भएर बिरामी पर्दा अस्पतालको बेड नपाउने गरेको गुनासो थारूको छ ।
आफ्नाे देशका नागरिक कोरोनाको चपेटामा परेर उपचार नपाउँदा भारतमा रहेको दूतावासले बेवास्ता गरेको धेरैको गुनासो छ । दूतावास आफ्नो कर्तव्य र कार्यप्रति गैरजिम्मेवार देखिएको उनीहरूको आरोप छ ।
नयाँ दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले भने भारतमा रहेका कोरोना संक्रमित नेपालीको उपचारमा समस्या भए सहयोग गर्दै आएको बताएका छन् । कोरोना संक्रमित नेपालीलाई उपचारका लागि सहयोग गरिरहेको र काेरोनाका कारण समस्यामा परेर घर फर्किन चाहने नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासमेत गर्दै आएको उनको दाबी छ।
भारतमा फैलिएको दोस्रो लहरको कोरोना महामारीका कारण अहिलेसम्म ३० जना नेपालीले ज्यान गुमाइसकेका छन् भने ५ हजारभन्दा धेरै संक्रमित रहेको नेपालीहरूको हकहितका लागि काम गर्दै आएको मिसन नेपाली संघले बताएको छ । भारतमा कोरोनाका कारण अझ धेरै नेपाली संक्रमित भएको तर उनीहरू अस्पताल जान सक्ने अवस्था नभएको समेत संघले जनाएको छ। साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...