Thursday 21st May 2026

कोरोनाले विदेशमा रहेका ३७२ नेपालीको मृत्यु


केदार दाहाल- कोरोनाका कारण एक वर्षमा २१ मुलुकमा रहेका ३ सय ७२ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार पछिल्लो एकसातामा भारतमा मात्रै २० जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ ।

पछिल्लो एकसातामै भारतमा २०, कुवेतमा २ र कतारमा १ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाउनुपरेको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए । उनले पछिल्लो समय भारतलगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको समेत बताए । नयाँदिल्लीमा मात्रै १० जना र भारतका अन्य क्षेत्रमा थप १० जना नेपालीको निधन भएको हो ।

निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३ सय ७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २ सय ४५ जना मध्यपूर्वका रहेका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५ सय ६ जना पुगेको छ । कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७ सय ४४ जना संक्रमणमुक्त भएका छन् । यो साता भारत, कुवेत, कतार, युएई, रोमानिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्डमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको संयोजक सापकाटोले जानकारी दिए ।

पछिल्लो एक वर्षमा सबैभन्दा बढी मे महिनामा ६८ जना, सेप्टेम्बरमा ६५ जना, अगस्टमा ३६ जना नेपालीको निधन भएको थियो । यो वर्ष सुरु भएपछि भने यही अप्रिल महिनामा २३ जना नेपालीको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । गत वर्षको जुन, जुलाई, डिसेम्बर र यो वर्षको जनवरी महिनामा सबैभन्दा धेरै नेपालीहरू कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

संयोजक सापकोटाका अनुसार महामारीका दौरान २ सय ५० जना डाक्टर र नर्सहरू परिचालन गरिएको जानकारी दिए । नेपालबाहिर करिब ५ हजार डाक्टर र १५ हजारको हाराहारीमा नर्सहरू रहेका छन् । ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनमा जोड्न प्रयास भइरहेको समेत सापकोटाले बताए ।

कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको चिकित्सकहरूले बताएका छन् । महामारीका कारण व्यापार–व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्नेलगायतका समस्याले मानसिक समस्या बढ्दै गएकाले नेपालीहरूमा थप समस्या आउन सक्नेसमेत सापकोटाले बताए ।

-नयाँपत्रिका दैनिकबाट

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेकपा  एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई…

बंगलादेश–म्यानमार तनावले भारतलाई के सन्देश दिन्छ ? म्यानमारको विद्रोही समूहसँग सम्बन्धित धार्मिक नेताद्वारा सार्वजनिक गरिएको तथाकथित “स्वतन्त्र अरकान” को नक्साले…

एजेन्सि- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार आक्रमण गर्ने योजनालाई आफूले स्थगन गरेको बताएको छन् । युद्ध अन्त्यका लागि भइरहेको…

प्रतिकृयाहरू
...