Saturday 20th April 2024

एनआरएन अध्यक्ष कुमार पन्त र अभियन्ता कुल आचार्यलाई पोर्चुगलबाट पीडितको पत्र


तितोपाटी- केही दिन अगाडि एनआरएन, पोर्चुगलका कोषाध्यक्षले फर्जी टिकट र फर्जी रेमीट्यान्स बनाई सयौं नेपालीलाई ठगेका छन्। यसबाट पोर्चुगलमा ठगलाई संरक्षण गर्दै पीडितलाई थप पीडा दिने काम भएको भन्ने आम पोर्चुगलवासीको आशंका छ।

अप्रिल ५ मा नेपाल जान टिकट काटेर एअरपोर्टबाट फर्किएका पीडितले एनआरएन अध्यक्ष कुमार पन्त र पूर्व उपाध्यक्ष कुल आचार्यलाई पत्र लेख्दै न्यायको आश गरेका छन्। पोर्चुगलबाट पीडितको पत्र

आदरणीय कुमार पन्तज्यू, कुल आचार्य ज्यू।
हार्दिक नमस्कार। साथै आराम र कुशलताको कामना।
आदरणीय सर, हजुरद्वयलाई विदेशको दुःख, पीडा, हन्डर, ठक्कर र विभिन्न बाधा अड्चनबारे हामीले भनिरहनु पर्दैन। तर पनि समय कहाँ सधै एकै नासे हुदोरहेछ र। अरू कसैले भोगेका पीडा आफूले नभोगेको पनि हुनसक्छ। अनि आफूले भोगेजस्तो पीडा अरूले नभोगेका पनि हुनसक्छ। पछिल्लो समय हामीले भोगेको पीडा कसरी भनौ हजुरहरूलाई।
आदरणीय दाजु केही वर्ष पहिले १४ लाख तिरेर पोर्चुगल आयौं। १४ लाखको व्याजनै महिनाको २८ हजार थियो। पोर्चुगल आएको १९ महिनामा बल्ल कार्ड बन्यो। कार्ड बनाएर घर जान खोज्दा टिकट काट्ने पैसा थिएन। जब टिकट काट्ने पैसा कमाउन थालेँ उता घरमा बाबा खस्नुभयो। कोरोनाको कारण म बाबाको अन्तिम संस्कारमा पनि जान पाइनँ। यो मेरो नियति भनौं या लेखान्तर। कोठामा बसेर रूनु र अर्को दिन बिहानै ऐशेलु टिप्न जानुबाहेक यहाँ अर्को विकल्प मसँग थिएन। तै पनि मन सम्हालेर बुबाको बर्खीमा जाने अठोटका साथ काम गरेँ।
कामकै लागि १ वर्षमा म ४ ठाउँ बसाई सरेँ। अलिअलि खर्च बनाए। अनि नेपाल जानका अरूभन्दा २५ युरो सस्तोमा टिकट पाइने भएकाले एनआरएन कोषाध्यक्षकै ट्राभलबाट टिकट लिएँ।
एनआरएनकै कोषाध्यक्षले आफूलाई ठग्छन् भन्ने मै कल्पनासम्म गर्न सकिनँ। अरूभन्दा २५ युरो सस्तो हुनु भनेको नेपालमा ३५०० हुँदोरहेछ। त्यहीँ ३५०० ले घरमा बालबच्चालाई केही उपहार किनेर लैजाने सोचेर मैले टिकट काटेँ।
टिकट मात्र होईन अलि अलि बचेको ७० हजार नेपाली रूपैयाँ पनि त्यही मनि ट्रान्सफरबाट नेपाल पठाएँ। खेतीको कोठा छोडेर लिजवन आयौं होटलमा बसेर अप्रिल ५ मा एअरपोर्ट गयौं। बोर्डीङको लागि काउन्टरमा जादा त हाम्रो टिकट नै नक्कली भएको थाहा भयो।
कहिले काहीँ मानवीय त्रुटि भएको हुनसक्छ भनेर तत्कालै हामी लक्ष्मी ट्राभल्समा आयौं। त्यहाँ ट्राभल्सका सञ्चालक थिएनन्। त्यसपछि हामीलाई शंका लाग्यो। एनआरएन अध्यक्षलाई फोन गर्दै थियौं उहाँले पनि ‘ब्राट्री सकियो’ भनेर टार्नुभयो।
हामीले धेरै तिर हारगुहार गर्‍यौं। ५ तारिक बेलुकासम्म त्यहाँ ५० भन्दा बढी ठगिएको भन्दै त्यहाँ आइपुग्नु भयो। आजसम्म १५० जना भइसकेका छौं।
हामीसँगै एक जना सोलुकी गर्भवती बहिनी पनि थिइन्। दिनभरी भोक भोकै लक्ष्मी ट्राभलको ढोका रूँघेर बस्दाको पीडा खै कसरी लेखौं? लेखिसाध्य छैन।
आदरणीय दाजुहरू, हामी त एनआरएन वाणिज्य दूतावास या अन्य संघ संस्थाबाट सहयोग पाउँछौ भन्ने ठूला आश गरेका थियौं। तर यहाँ केही सहयोग पाइएन। यहाँ त पीडकलाई लुकाउन खोजियो र हामी पीडितलाई थप पीडा दिने कोशिश भयो। यस्तो अवस्थामा हामी के नै गर्न सक्छौं र?
न खानका लागि पैसा छ, न त बस्नको लागि कोठा नै। उता नेपालमा बुबाको बर्खी आईसक्यो। बुढी आमाले ‘अस्तीनै होइन र हिँडेको’ भन्दै हुनुहुन्छ। तर एनआरएन जस्तै गरिमामय संस्थाकै ठगले आज म बुबाको बर्खीमा जान पाईनँ।
यता खेतीपातीको काममा पनि एनआरएनकै हर्ताकर्ताले हाम्रो रगत पसिना चुसेर श्रम सोषण गर्छन्। बल्ल बल्ल केही पैसा बचाएर३-४ वर्षपछि परिवार भेट्न खोज्दा पनि उनीहरूनै लुटिदिन्छन्। यो मेरो मात्र पीडा होईन पोर्चुगलका सयौं नेपालीको सामुहिक पीडा हो।
आदरणीय सर, मैले पीडा पोख्दा तपाईँहरूलाई सामान्य लाग्ला। जाबो टिकटको ५/६ सय युरो त हो नि भन्ने लाग्ला। किनकि, तपाईँहरूसँग त्यही एनआरएनको चुनावमा दसौं करोड खर्च गर्नसक्ने हैसियत छ। तपाईँहरूले चाहेको बेला लाखौ खर्च गर्न कुनै साइत हेर्नु पर्दैन। विश्वका जुनसुकै ठाउँमा यात्रा गर्न कुनै अफ्ठ्यारो हुन्न।
तर हामी महिनाको ५९० युरो बुझी १५० कोठा भाडा तिरेर १०० खानाको खर्च कटाएर गाडीभाडा र अरू केही सामान्य खर्च गरि महिनाको १५० युरो बचाउने ४-४ महिना पर्खनुपर्छ।
आदरणीय सरहरू, पोर्चुगलमा यसरी आफ्नै संस्थाका जिम्मेवार व्यक्तिले सयौंलाई ठगिरहँदा हजुरहरूले एक शव्द पनि बोल्न नसक्नु कहाँसम्मको न्याय संगत हो?
हामीजस्ता पीडितको बारेमा मुकदर्शक भएर कुनै कारबाहीको लागि आवाज नउठाउँदा सिंगो संस्थाप्रतिको आस्था विश्वास र भरोसा कसरी गर्ने? नेतृत्व भनेको भोजभतेर ऊद्द्धाटन, बैठक अथिति भाषण र आसन मात्र होईन। वास्तविक नेतृत्व त्यो हो जसले समस्या र अफ्ठ्यारो पर्दा त्यसको समाधान नेतृत्वपंतीले लिन सकोस् अनि गल्ती गर्नेलाई जिम्मेवारबोध होस्।
यतीबेला हजुरहरूले पीडितलाई नेपालसम्म जाने व्यवस्था मिलाएर पछि पीडकबाट सोधभर्ना गर्ने गरि एनआरएनले पहल गर्नुपर्‍यो। चुनावको बेला हजुरहरूलाई काँधमा हालेर डुलाएको भिडियो हेरेका थियौं। यदि यो ठगलाई कारबाहीको दायरामा ल्याएर पीडितलाई न्याय दिएको खण्डमा हजुरहरूलाई एकछिन काँधमा मात्र होईन, सधैभरि मन मस्तिस्कमा आदरकासाथ राख्नेछौं।
आदरणीय सरहरू, तपाईँहरूले चाहे पीडितले तत्काल न्याय पाउनेछन्। न्याय दिनुहोस्। अर्को चुनावमा करोडौं खर्च गर्नुपर्दैन यस्तै राम्रा कामको फललेनै तपाईँहरु नेतृत्वमा रहिरहुनु हुनेछ।
एक गर्भवती जो नेपाल गएर आराम गर्छु, अर्को आफ्नो बहिनीको बिहेमा गएर आशिर्वाद दिन्छु, अर्को आफ्नी ८४ वर्षीय हजुर आमाको चौरासीमा पुगेर आशिर्वाद थाप्छु र म आफ्नो जन्म दिने बाबुको बर्खीमा पुगेर मन शान्त गर्छु भनि नेपाल हिँडेकोलाई एनआरएनकै अभियन्ताले ठगी गर्दा मलाई लागेको थियो हजुरहरूबाट तत्काल कुनै ठोस कदम चालिनेछ। तर हजुरहरूले कुनै चासो र चिन्ता नलिँदा आज सिंगो एनआरएनप्रतिनै शंका पैदा भएको छ।
अन्त्यमा, आदरणीय कुमार सर र कुल सर, हिजो चुनावी मैदानमा होमिएका दुबै जना अध्ये कुमार सरले बढी भोट ल्याएर अध्यक्ष हुनुभयो। कुल सरलाई पनि सम्मानजनक भोट आयो। त्यसैले सबैको अभिभावक हजुरहरूले समयमै उचित कदम चालिदिनु होला। त्यसै यहाँ दुबै सरहरूलाई सम्बोधन गरेर मैले संयुक्त पत्र लेखेको हुँ। यो मेरो मात्र होइन, समस्त पीडितहरूको पत्र हो। आशा छ, हजुरहरूले हामीलाई न्याय दिलाउनुहुनेछ। कृष्ण कार्की, रूपलाल तामाङ,पेमा शेर्पा, सोनु लामा
लिजवन, पोर्चुगल

सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...