नसोध्नुस् कसैले, थाहा छैन घर मेरो ।
स्वार्थी संसार भित्र खोज्दैछु उत्तर मेरो ।
समयले भनेको नमान्नु, गुमाउनु रहेछ
त्यति बेला आएको थियो अबसर मेरो ।
मसान घाटमा लास जलेर सकिएपछि
मलामी फर्किए, शून्य भयो बगर मेरो ।
गरिब पनि यति गरिब भयो जिन्दगी
आँसुहरु बेच्दा पनि टरेन अभर मेरो ।
म आफ्नै आँखा बाट झरेको पानी हुँ
बलेसीमा खसेपछी सकियो सफर मेरो ।
-बाल कुमार खत्री
संखुवासभा,चैनपुर।