Monday 3rd August 2026

कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउँदैन, सरकारमा पनि जाँदैन -देउवा


नयाँ सत्ता समीकरणका विषयमा कांग्रेस सभापति शेरबहादुरको मौनता ‘आश्चर्यजनक’ भन्दै पार्टीभित्रैबाट प्रश्न उठिरहेका बेला नयाँ सरकारबारे सभापति देउवाले विराटनगर पुगेर मुख खोलेका छन् ।ओलीको विकल्पमा देउवाको कस्तो रणनीति रहला भन्ने चर्चा चलिरहेका बेला आज (मंगलबार) विराटनगर पुगेका देउवाले अहिले कांग्रेसले ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने र सरकारमा समेत नजाने प्रष्ट पारेका छन् । आज विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने प्रस्ट्याएका हुन् ।

देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताए । ‘कांग्रेसले सरकार बनाउँदैन,’ उनले भने, ‘विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’ कांग्रेस अहिलेको सरकारलाई स्वीकारेरै अघि बढ्छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले दोहोर्‍याए, ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’ देउवाले मंगलबारै केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा जाने विषयमा एउटै प्रश्न दोहो¥याएपछि पत्रकारसँग रिसाएका समेत छन् । विराटनगर पुगेका देउवालाई विमानस्थलमा पत्रकारहरुले ‘कांग्रेस सरकारमा कहिले जान्छ ?’ भन्दै प्रश्न गरेका थिए । पत्रकारको पहिलो प्रश्नमा देउवाले भने, ‘कांग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा जाँदैन ।’

त्यसपछि पत्रकारले ‘सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव कहिले लैजान्छ ?’ भन्दै प्रश्न सोधेका थिए । त्यसमा देउवाले कांग्रेससँग छलफल नभएको भन्दै अरुले नै अविश्वास प्रस्ताव लैजाने बताएका थिए ।‘त्यसो भए अविश्वासको प्रस्ताव कसले ल्याई दिनुपर्ने, जसपाले कि माओवादीले ?’ भन्दै राखेको प्रश्नमा देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले विपक्षमै बस्ने बताएका थिए ।

त्यसपछि पत्रकारले ‘त्यसो भए अहिलेकै सरकारलाई समर्थन गरेर जाने अवस्था हो ?’ भन्दै प्रश्न सोधेपछि देउवा रिसाएका थिए । ‘हत्तेरिका ! विपक्षी पार्टी विपक्षमा हुँदैन ?’ पत्रकारले बुझ्दै नबुझी प्रश्न गरेकाले आक्रोशित देउवाले भने, ‘विपक्षी पार्टी ! विपक्षी पार्टी विपक्षी पार्टी ! जानुहोस् ।’ खासगरी कांग्रेस विपक्षमा बस्छ भनेपछि पनि यही सरकारलाई समर्थन हो भन्ने प्रश्नपछि देउवा रिसाएका थिए ।०५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा नेपाल दलित संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको प्रदेशस्तरीय भेललाई सम्बोधन गर्न देउवा धरान जान लागेका हुन् ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

कुवेतले आज, आइतबार, सन् १९९० अगस्ट २ मा भएको इराकी आक्रमणको ३६औँ वार्षिकोत्सव मनाएको छ। कुवेतको इतिहासमा यो दिनलाई राष्ट्रिय…

कुवेत सरकारले विदेशीहरूको बसोबाससम्बन्धी नियममा संशोधन गर्दै भिजिट (Visit) भिसालाई नियमित रेसिडेन्सी (Iqama) मा रूपान्तरण गर्न १५० कुवेती दिनार (KD…

युरोपको सीमामा पछिल्ला दिनहरूमा देखिएको ठूलो दबाब केवल युक्रेन वा रुसका कारण होइन, अफ्रिकाबाट आउने आप्रवासनले पनि नयाँ चुनौती थपेको…

प्रतिकृयाहरू
...