Saturday 16th May 2026

काठमाडाैंमा जम्मा ६५ रूपैयाँमा पेटभरि खाना


तीतोपाटी – काठमाडौंमा ६५ रुपैयाँमै पेटभरि खाना खान पाइन्छ भन्दा पत्याउन गाह्रो पर्छ । तर, ‘हाम्रो खानाघर’ अनामनगरमा ६५ रुपैयाँमै पेटभरि खाना पाइन्छ । सस्तो मूल्यमा खाना खान बिहान नाै बजेदेखि बेलुका नाै बजेसम्म हाम्रो खानाघरमा भिड लाग्छ ।

दैनिक खाना खानेमध्येका उमेश बस्नेत सस्तोमा राम्रो खाना पाउँदा दं‍ग छन् । उनी भन्छन्, ‘मैले त सुरु भएदेखि नै यहाँ खाना खान थालेको छु । यहाँ सस्तोमा मीठो खाना खान पाइन्छ । पैसा पनि बचत भएको छ ।’ घर निर्माणको काम गर्ने उनको खानाका लागि दैनिक तीन सय रुपैयाँ खर्च हुन्थ्यो । तर, अहिले खानाका लागि उनले छुट्याएको रकममध्ये दैनिक एक सय ७० बचत हुन थालेको छ । ‘सस्तोमा मीठो खाना पाइने भएकाले अरूलाई पनि आउन भन्छु । १५ जनाजति साथीलाई त ल्याइसकेको छु । मिठो, राम्रो अनि सस्तोमा पेटभरि खान पाइने भएपछि किन नआउने ?’ उनले भने ।

राज पटेल पनि केही दिनदेखि हाम्रो खानाघरमै खाना खान आउन थालेका छन् । ज्याला–मजदुरी गर्ने उनी खानाको सट्टा रोटी खान्थे । सस्तोमा पेटभरि खान पाइने भएपछि उनी आजभोलि खाना नै खान थालेका छन् । ‘पहिला रोटी खाइरहेको थिएँ । साथीले सस्तोमै भात खान पाइन्छ भनेर सुनाएपछि यहाँ आउन थालेको हुँ,’ पटेलले भने, ‘भातै ठीक छ । यहीँ नजिकै काम गरिरहेको छु । त्यसैले आउन पनि सजिलो छ । अब दिनहुँ आउँछु ।’

सुमन मगरले पनि दैनिकजसो हाम्रो खानाघरमै खाना खान खाइरहेका छन् । उनी सुरुवाती दिनदेखि नै यहाँ खानाका लागि आउने गरेको बताउँछन् । ‘मिठो खाना, सस्तोमा पाइन्छ । त्यही भएर खुलेको दिनदेखि नै यहाँ आइरहेको छु,’ मगरले भने ।

दैनिक एक हजारलाई खाना खुवाउने लक्ष्य
दैनिक एक हजारलाई खाना खुवाउने लक्ष्य बोकेर हाम्रो टिम नेपालले हाम्रो खानाघर गत १७ माघदेखि सञ्चालनमा ल्याएको हो । हाम्रो खानाघर कम आम्दानी हुने, ज्याला–मजदुरी गर्नेहरूको मात्र होइनऽ सस्तो र राम्रो खाना खानेहरूको लागि उपयुक्त गन्तव्य बनेको छ । एकपटकमा ५२ जनाले खाना खान सक्ने हाम्रो खानाघरको भान्सादेखि खाने ठाउँसम्म चिटिक्क र सफा छ । जसकारण बिहान नाैदेखि दिउँसो तीन बजेसम्म र साँझ पाँचदेखि राति नाै बजेसम्म खाना खानेको भिड नै लाग्छ । बिहान नाै बजेदेखि बेलुका नाै बजेसम्म नै भिडभाड हुने हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए । ‘बिहान नाै बजेदेखि बेलुका नाै बजेसम्मै भिड हुन्छ । बेलुकाभन्दा बिहानको खाना खान आउने धेरै हुनुहुन्छ,’ पन्तले भने, ‘अहिलेसम्म हामीले एकदमै राम्रो प्रतिक्रिया पाइरहेका छौँ । यति राम्रो खाना छ । घरमा खाएजस्तो छ भन्नुहुन्छ । हामीले खाँदै गर्दा तपाई‌हरु पनि बाँच्नुपर्छ । एक दिन आएर खाना खाएर मात्र हुँदैन । सधैँ हामीजस्तै मानिसहरू यहाँ आएर खाना खाने वातावरण हुनका लागि सबैभन्दा पहिला तपाई‌हरू बाँच्नुपर्छ भन्नुहुन्छ । हामी एकदमै खुसी छौँ ।’

यहाँ खानाबाहेक पानी, दही र मोही पनि पाइन्छ । तर, त्यसका लागि प्रतिबोतल पानीको १५, दहीको प्रतिगिलास २५ र मोहीको प्रतिगिलास २० रुपैयाँ अतिरिक्त पैसा तिर्नुपर्छ । तपाई‌ंले खाएको खानाबाट बचेको पैसाले अर्को भोको पेट भरिन्छ भन्ने नाराका साथ सुरु भएको खानाघरबाट विभिन्न ठाउँमा निःशुल्क खाना वितरण पनि हुँदै आएको छ । पाँच वर्षदेखि काम गरिरहे पनि गत असारदेखि संस्था दर्ता गरेरै काम अगाडि बढाएको पन्तले बताए ।

कसरी सम्भव भयो ?
सेवाभावले खोलिएको खानाघरमा ६५ रुपौयाँमै खाना खुवाउन कसरी सम्भव भयो ? पन्तले भनेऽ ‘हामीले हरेक सामग्री सीधै किसानसँग किनेर ल्याएका छौँ । चालम पनि मिलबाट लिने गरेका छौँ । तरकारीदेखि सबै कुरा उत्पादकबाटै किनेर ल्याउँदा सम्भव भएको छ । हामी धेरैजना स्वयंसेवी हिसाबले पनि काम गरिरहेका छौँ । हामीले नाफामूलक होइन कि समाजमा कोही पनि मानिस भोकै नहोस्, हुनेदेखि नहुनेसम्मलाई सुविधा होस् भनेर यो काम गरेका हौँ । यहीकारण नै यति सस्तोमा गुणस्तरीय खाना खुवाउन सम्भव भएको हो ।’

सामाजिक कामको लामो संघर्षबाट हाम्रो खानाघरको उदय भएको अध्यक्ष पन्त बताउँछन् । ‘देशमा विभिन्न प्राकृतिक प्रकोप र महामारी आउँदा हामी जुन पेसा–व्यवसाय गरेको व्यक्ति भए पनि विशुद्ध रूपमा देशमा संकट पर्दा दुःखी, गरिब, असहाय, असक्तको सेवा गर्नुपर्छ भनेर हाम्रो टिम नेपालको स्थापना गरेका हौँ । सोहीअनुसार काम पनि गरिरहेका छौँ । यसकै प्रतिफल हो हाम्रो खानाघर,’ उनले भने ।

अनामनगरमा सोचेभन्दा धेरै मानिस खाना खान आउन थालेपछि उनीहरू झन् हौसिएका छन् । जसले गर्दा हाम्रो खानाघरको शाखा विस्तार गर्ने सोचसमेत बनाएको पन्तले बताए । ‘चरम महँगी बढ्यो । कामदार र लगानीकर्ताबीचको सम्बन्ध बिग्रियो । अर्थतन्त्र दिनानुदिन धराशायी बन्दै गयो । यसलाई चिर्न हामीले यहाँ मात्र होइन सम्भव भयो भने देशैभर हाम्रो खानाघरको शाखा विस्तार गर्नेछौँ,’ उनले भने, ‘हाम्रो खानाघर विशुद्ध सामाजिक भावले खोलिएको हो । नाफामूलक भएको भए सम्भावना थिएन । सामाजिक भावले खोलेका कारण सम्भव भएको छ । असम्भवलाई सम्भव बनाउन संघर्ष गरिरहेका छौँ ।’ अध्यक्ष पन्तका अनुसार संसारभर छरिएर रहेका नेपालीको साथ र सहयोगले यो काम सम्भव भएको हो ।

साभार – नयाँ पत्रिका दैनिकमा प्रकाशित शान्ति तामाङको समाचार


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...