Sunday 1st February 2026

डा. बाबुरामलाई जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष बनाउने तयारी


जय नारायण माझी थारू – जनता समाजवादी पार्टीले डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने तयारी गरेको छ । जसपा स्रोतका अनुसार भोलि र पर्सि दुई दिन चल्ने केन्द्रीय कार्यकारिणी परिषद् बैठकले भट्टराईलाई अध्यक्ष बनाउने तयारी गरेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका भट्टराई अहिले जसपाका वरिष्ठ नेता छन् ।
हाल महन्थ ठाकुर र उपेन्द्र यादव जसपामा अध्यक्ष छन् । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबीच एकीकरण हुँदा नै भट्टराईलाई अध्यक्ष बनाउने चर्चा थियो तर कार्यविभाजन पछि गर्ने गरी निर्वाचन आयोगमा दर्ता प्रक्रियाका लागि ५१ सदस्यीय कार्यकारिणी समिति बनाइएको थियो । भट्टराई निकट रहेका एक कार्यकारिणीसभा सदस्यले कार्यविभाजन टुंगो लगाउँदा अध्यक्ष बनाउने भद्र सहमति पार्टी एकीकरणकै बेलामा भएको बताए ।
जसपाको केन्द्रीय कार्यकारिणीसभाको बैठक भोलि र पर्सि तुल्सीलाल अमात्य प्रतिष्ठानमा बस्ने तय भएको छ । सो बैठकमा भट्टराईसहित राजपामा अध्यक्ष रहेका राजकिशोर यादव, महेन्द्र राय यादव, अनिल झालगायतको कार्यविभाजनबारे पनि छलफल गर्ने तयारी छ । पार्टी एकीकरणकै बेला कार्यविभाजन नगरिएको भन्दै केही समय यादव र झा निस्क्रिय थिए । अध्यक्ष ठाकुर र यादवले कार्यविभाजनका बेलामा भूमिका हेरफेर गर्ने प्रतिबद्धतापछि उनीहरु सक्रिय भएका थिए ।
के छन् त बैठकका एजेन्डा ?
बैठकका लागि विधान संशोधन, केन्द्रीय समिति र संघीय परिषद्को विस्तार तथा कार्यविभाजन, समायोजनलगायतको एजेन्डा तय भएको जसपा नेता केशव झाले जानकारी दिए । बैठक तुल्सीलाल अमात्य प्रतिष्ठानमा बस्नेछ । गत असार अन्तिम साता तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएर जसपा निर्माण भएको थियो ।
केन्द्रीय कार्यकारिणी समितिमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन् । त्यस्तै, राजेन्द्र महतो, अशोककुमार झा, बाबुराम भट्टराई वरिष्ठ नेता छन् । अध्यक्ष दुई र वरिष्ठ नेता तीनबाहेक ५१ सदस्यीय कार्यकारिणीसभामा ४६ जना सदस्य छन् । कार्यकारिणीसभाको बैठकले केही समयअघि राजपा र जसपा मिलाएर बनाएको सात सयको केन्द्रीय समितिलाई अनुमोदन गर्ने तयारी छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

प्रतिकृयाहरू
...