Monday 3rd August 2026

५० करोड हत्याउन किर्ते कागजात : ठगीका ‘मास्टरमाइन्ड’ राणा पक्राउ


करोडौंको जग्गा हत्याउन किर्ते कागजात बनाएर ठगी गरेको आरोपमा ललितपुर कुसुन्तीका केबल प्रताप जंगबहादुर राणालाई प्रहरीले पक्राउ गरेको छ। राणाले कमलादेवी राजभण्डारीको पर्सा विरगंज महानगरपालिका- ५ मा रहेको चार कित्ता क्रमशः ३, ७१, १४३ र १८६ मा बनेको घरजग्गा किर्ते कागज बनाएर ठगी गरेको आरोप प्रहरीको छ।

नक्कली कागज बनाएर मालपोतका कर्मचारीको मिलेमतोमा आफ्नो नाममा राजीनामा पास गर्न लगाएर राणाले वीरगञ्जकै गिरिधारी लाल अग्रवाललाई ५० लाख रुपैंया बैना लिएर ठगी गरेको प्रहरीले जनाएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोले जग्गाको सक्कली धनी मुकेश राज भण्डारीको उजुरीपछि अनुसन्धान गर्दा राणाको संलग्नता खुलेको हो। ब्यूरोका प्रमुख डीआईजी सहकुलबहादुर थापाका अनुसार राणाले अग्रवाललाई ठग्नको लागि मुकेश राज भण्डारी भनेर परिचय गरेका थिए। अनुसन्धानका क्रममा राणाले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट मुकेश राज भण्डारीकै नाममा ४७४३ नम्बरको किर्ते नागरिकतासमेत लिएको जानकारी डीआईजी थापाले दिए।

ब्यूरोका अनुसार राणाले आफु जग्गा धनी कमलादेवी राज भण्डारीको छोरा भएको भन्दै ललितपुर जिल्ला प्रशासन कार्यालयबाट जारी गरेको किर्ते नागरिकता बनाएका थिए। राणाले किर्ते कामका लागि ललितपुर प्रशासनबाट कमला राज भण्डारी र पर्साको जग्गा धनी कमलादेवी राज भण्डारी एउटै भएको किर्ते कागजसमेत बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

ठग्नकै लागि राणाले अष्ट्रेलियास्थित नेपाली राजदुतावासबाट मुकेशराज भण्डारीको नाममा जग्गा नामासारी गर्न उनका भाई राकेश राज भण्डारी र रुपेश राजभण्डारीले दिएको मन्जुरी नामा कागजपत्रसमेत किर्ते गरेको पाइएको छ। मुकेश राज भण्डारीको नाममा जग्गा आएपछि राणाले कम्पनी रजिष्टारको कार्यालयमा गंगा ट्रेर्डस नामको कम्पनी समेत दर्ता गरेको जानकारी डीआईजी थापाले दिए। उनका अनुसार त्यही कम्पनीको नाममा राणाले विभिन्न बैंक तथा वित्तिय संस्थाबाट कर्जा निकाल्दै आएका थिए।

‘ठग्नको लागि राणाले धेरै कागजात किर्ते गरेको पाइयो, ‘ डीआईजी थापाले भने, ‘ललितपुर महानगरपालिका- ३ बाट जग्गाधनी कमलादेवी राज भण्डारी र उनका पति गोपाल राज भण्डारीको मृत्युदर्ताको प्रमाणपत्र समेत किर्ते गरे ।’ अग्रवालले बैनाबापत राणालाई ५० लाख रुपैयाँ दिएपछि उनी घरजग्गा हेर्न पुग्दा मात्रै स्थानीयले जग्गाधनी अरु नै रहेको बताएपछि मात्रै ठगीको रहस्य खुलेको थियो। उक्त जग्गाको अहिलेको हालसावी मूल्य करिब ५० करोड रुपैंया रहेको ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार राणा यसअघिपनि विभिन्न अपराधमा मुछिएका अभियुक्त हुन्। उनी क्रेडिक कार्ड फ्रड गरेको घटनामा ०७० कात्तिक तीन गते पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय ललितपुरले ठगी मुद्दा चलाएको थियो। त्यसैगरी ०७३ चैत ७ गते बैंकिङ कसुर मुद्दामा पक्राउ गरी काठमाडौं प्रहरीले मुद्दा चलाएको थियो। ठगी मुद्दामा महानगरीय प्रहरी वृत्त दरबारमार्गले राणा विरुद्ध ०७६ जेठ १७ मा मुद्दा चलाएको ब्यूरोले जनाएको छ। ब्यूरोले राणालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतले आज, आइतबार, सन् १९९० अगस्ट २ मा भएको इराकी आक्रमणको ३६औँ वार्षिकोत्सव मनाएको छ। कुवेतको इतिहासमा यो दिनलाई राष्ट्रिय…

कुवेत सरकारले विदेशीहरूको बसोबाससम्बन्धी नियममा संशोधन गर्दै भिजिट (Visit) भिसालाई नियमित रेसिडेन्सी (Iqama) मा रूपान्तरण गर्न १५० कुवेती दिनार (KD…

युरोपको सीमामा पछिल्ला दिनहरूमा देखिएको ठूलो दबाब केवल युक्रेन वा रुसका कारण होइन, अफ्रिकाबाट आउने आप्रवासनले पनि नयाँ चुनौती थपेको…

प्रतिकृयाहरू
...