Wednesday 24th June 2026

अनशनरत केसीप्रति सरकारको बेवास्ता


चिकित्सा शिक्षा सुधारको मागसहित १६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको मागप्रति सरकार अझै अनुदार देखिएको छ । डा. केसी विभिन्न ६ सूत्रीय मागसहित १९औँ अनशनमा छन् । उनको स्वास्थ्यसूचक खस्किन थालेपछि चिकित्सकसमेत चिन्तित छन् । तर, उनको अनशन र मागलाई सरकारले पूरै बेवास्ता गरेको छ ।

डा. केसीलाई कुनै पनि वेला गम्भीर समस्या आउन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार केसीमा कमजोरी महसुस भइरहेको छ । मुटुको धड्कन घटबढ भएकाले कुनै पनि वेला आइसियूको आवश्यकता पर्न सक्छ । शरीरका मसलहरू बाउँडिने र दुख्ने समस्या पनि बढ्दै गएको चिकित्सकले बताएका छन् ।

चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले अनशनमा बसेका केसीको मागप्रति सरकार गम्भीर नबनेको आरोप लगाएको छ । संघका अध्यक्ष डा. लोचन कार्कीले डा. केसीका मागप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरे । ‘केसीले आफ्नो स्वार्थका लागि चिकित्सा शिक्षा सुधारको माग उठाएका होइनन्,’ उनले भने, ‘समग्र देश र जनताको हितका लागि उठाएको हो । त्यसैले ढिला नगरी माग सम्बोधन गर्नुपर्छ ।’ डा. केसीले गत २९ भदौबाट जुम्लामा अनशन सुरु गरेका थिए । स्वास्थ्यमा समस्या आउन थालेपछि उनी एक हप्ताअघि काठमाडौं आएका थिए । तर, उनले शिक्षण अस्पताल महाराजगन्जबाट आफ्नो अनशनलाई निरन्तरता दिएका छन् ।

यता नर्सिङ क्षेत्रमा पनि आन्दोलन जारी छ । महामारीमा खटिएका नर्सलाई अस्पतालले जागिरबाट निकाल्ने, मानसिक दबाब दिने, ६ महिनासम्म तलब नदिने, हप्ता बिदा नदिने, नर्सिङ शुल्क आवश्यकभन्दा बढी लिने क्रम बढेपछि नर्स आन्दोलनमा छन् । तर, उनीहरूको आन्दोलनप्रति पनि सरकारले चासो दिएको छैन ।

नर्सको आन्दोलनमा आफ्नै संगठन नेपाल नर्सिङ संघले साथ दिएको छैन । संघले नर्सलाई शोषण गर्ने संस्था र सञ्चालकको मौन समर्थनमा बस्दा आन्दोलनमा उत्रिएका नर्स समस्यामा देखिएका छन् । संघले उठाउनुपर्ने मुद्दा बाहिरबाट नर्सहरूले उठाएका छन् । नेपाल चिकित्सक संघले भने चिकित्सा शिक्षा क्षेत्रलाई जोडेर नर्सहरूको समेत समस्या समाधान गर्न आग्रह गरेको छ ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

प्रतिकृयाहरू
...