Monday 5th October 2026

बागलुङमा पहिरो जाँदा १ को मृत्यु, तीन घर गोठ पुरिए


तितोपाटी – बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनिबोटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ ।

यसैबीच बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । मिचेक घाटको पुल बाढीले बगाएको छ भने दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो तथा कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो ।

यस्तै दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुल समेत बाढीले बगाएको छ । पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको बाढीले पाँच किलोमिटर सडकमा समेत क्षति पुर्याएको छ ।

गाउँपालिकाको अधिकांश भागमा आपूर्ति हुँदैआएको ३८० किलोवाटको ताराखोला लघु जलविद्युत् परियोजनामा विद्युत उत्पादन बन्द भएको छ । ताराखोला–१ पूरै र सिले र अर्गलको केही भागबाहेक अन्य स्थान अन्धकार भएको छ । बाढीले लघु जलविद्युत् आयोजनाको इन्टेक, पोल तथा तारमा क्षति पुर्याएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ को सिन्जालिचोकदेखि करिमेला र मपेश खण्डमा मोटर बाटोमा बाढी पसेपछि मोटरबाटो बगाएको छ ।-रासस


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...