Thursday 14th May 2026

नेपालमा कोरोना विरूद्धको आयुर्वेदिक औषधि परिक्षण गरिंदै


तितोपाटी – नेपाल सरकारले कोरोनाभाइरसबाट सङ्क्रमितको उपचारको निम्ति आयुर्वेदिक औषधिको परीक्षण अघि बढाइएको जनाएको छ। त्यो परीक्षण प्रदेश ५ का करिब एक सयजनामा परीक्षण गरिने अधिकारीहरूले जनाएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहेका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार उक्त औषधी परीक्षणको अनुमति पाइसकेकाले प्रदेश ५ का अस्पतालहरूमा परीक्षण गरिँदैछ। उनले भने, “सामान्य लक्षण देखिएकालाई दिने हो, त्यसपछि लक्षण र अस्पताल बसाइ कति घट्यो त्यो हेरिन्छ साथै रगतमा केही परिवर्तन आए नआएको जाँच हुन्छ।”

उनका अनुसार जेठीमधु र त्रिकटुको मिश्रण बनाएर तयार गरिएको उक्त आयुर्वेदिक औषधी बिरामीलाई खाना खानुअघि खुवाउने हो।
मरीच, पिप्ली (पिप्ला) र सुठो (सुकेको अदुवा) बराबर मात्रामा मिलाएर त्रिकटु बनाइने उनले जानकारी दिए।

डा. ज्ञवालीले भने, “सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रदेश ५ को समन्वयमा त्यहाँका आयुर्वेदिक केन्द्रका डाक्टरहरू र काठमाण्डुबाट गएको अनुसन्धान टीमको संलग्नतामा आजभोलिमै औषधी दिने योजना छ।” तर त्यो औषधी गम्भीर समस्या देखिएकाहरूलाई दिइने छैन।

उक्त औषधीबारे यसअघि चीन र भारत लगायतका देशमा पनि अनुसन्धान र अध्ययन भएको र त्यसको साइड इफेक्ट नभएको उनले जानकारी दिए।

कोरोनाभाइरसविरुद्ध फ्याबिपिरबिर नामको औषधीको प्रभावकारिताबारे पनि अध्ययन गर्ने योजना रहेको अधिकारीहरूले जनाएका छन्।

उक्त औषधी नेपालमा पनि उत्पादन भइसकेको बताउँदै डा. ज्ञवालीले भने, “स्वास्थ्य मन्त्रालयले कागजपत्र हेरेर अनुमति दियो र औषधी व्यवस्था विभागले विश्लेषण अनुमति दिएमा हामी अनुसन्धान गर्ने तयारीमा छौँ।”

त्यो औषधी पनि गम्भीर बिरामीलाई नभइ सामान्य लक्षण रहेका बिरामीलाई खुवाउने बताइएको छ। एन्टी भाइरल उक्त औषधी कोभिड-१९ का बिरामीमा प्रयोग गर्न चीन, रुस र भारत लगायतका देशमा अनुमति दिइएको बताइएको छ।

अहिले प्रयोगमा रहेको रेम्डेसिभिरको तुलनामा उक्त औषधी सस्तो पनि हुने डा. ज्ञवालीको भनाइ छ। उक्त औषधी अहिले एक सयजनामा परीक्षण गर्ने अनुसन्धान परिषद्को योजना छ। त्यसको गम्भीर साइड इफेक्ट नरहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...