Thursday 2nd May 2024

मानवता -मुकुन्द कृष्ण थापा


रंगिन चस्मा लगाएर
असत्यको पदचाप पछ्याउँदै
मानव सभ्यताको पाठ पढ्न बिर्सिएर
हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा
नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा
खै कहिले पलाउलान् ?
सकारात्मक सोचका पालुवाहरु ।
अरुको रोदनमा अट्टाहस हाँसो हाँसेर
दरिद्र सोचाइहरुमा रमाएर
छुद्र बोली बोल्दै
भतभती पोलीरहेका घाउहरुमा नुनचुक छर्दै
बचनका तिखा तिखा बाण हान्ने ति जिब्रोहरुबाट
खै कहिले निस्किएलान् ?
मह झैँ गुलिया शब्दहरु ।।

अन्यायको अँध्यारो सुरुङबाट
उद्दारको प्रतीक्षामा थरथरी काँप्दै
सहारा मागीरहेका हातहरुलाई
गरिबीले थकित भएकाहरूको आर्तनादलाई
सुमधुर संगीत सम्झिदै आनन्द मान्नेहरुले
खै कहिले हटाउलान् ?
वर्गीयताको तुलोमा जोखिने बिभेदहरु ।
मेहनत रोपी पौरख फलाउनेहरुमाथि
रजाइँ गरेर
हीनताबोधको हिलो छ्याप्दै
ठालु पल्टिनेहरुले
आत्मीयतालाई कुल्चिदै अस्वस्थ प्रतिस्पर्धामा
धनको गुलियो वरिपरि
फनफनी घुमिरहेकाहरुले
खै कहिले चढ्लान् ?
विवेकका अग्ला अग्ला शिखरहरू ।।

-मुकुन्द कृष्ण थापा
खोटाङ
(मुकुन्द कृष्ण थापा सिभिल इन्जिनियर हुन् । उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन् )


सम्बन्धित शीर्षकहरु

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

चीनको गुआङडोङ प्रान्तमा बुधबार राजमार्ग भत्किँदा १९ जनाको मृत्यु भएको देशको राज्य प्रसारक सीसीटीभीले जनाएको छ । गुआङडोङ प्रान्तको मेइझाउ…

प्रतिकृयाहरू
...