Thursday 29th October 2020

कसको चाड हो जनै पूर्णिमा ?


नारायण गाउँले, जिएनएन – ऋषितर्पणी, जनै पूर्णिमा, रक्षाबन्धनजस्ता विभिन्न नामले प्रचलित श्रावण शुक्लपूर्णिमा सनातनधर्मी समाजको एउटा महत्त्वपूर्ण पर्व हो । मूलत: कृषिमा आधारित समाजको आजका दिनदेखि करिब तीन महिना किसानी कामबाट फुर्सत हुन्छ र यही फुर्सतलाई उत्सवमा बदल्ने कामको सुरुवात आजकै दिनबाट हुन्छ । तीज, दशैं र तिहारजस्ता धार्मिक-सामाजिक उत्सवसम्म यो फैलिन्छ ।
जनैपूर्णिमाको हाम्रो जीवनपद्धतिमा खासगरी तीनवटा महत्त्व छ:
१-व्रतबन्धमा बसेकाहरूले ब्राह्मणबाट मन्त्रित जनै अर्थात् यज्ञोपवीत नवीकरण गर्ने काम
२-ऋषिहरूलाई संस्मरण गर्दै कृतज्ञ बन्ने काम
३-ब्राह्मण, दिदीबहिनीबाट आशीर्वादसहित रक्षाबन्धन बाँध्ने काम
यहाँ ब्राह्मण शब्दले धेरैलाई जातविशेषको भ्रम हुनसक्छ । वस्तुत: ब्राह्मण या शूद्र भन्ने कुनै जात नभएर यो एउटा मानवको व्यक्तित्व विकासको चरण हो । प्रक्रिया हो । ब्राह्मण एउटा पदवी हो, मान्छेको भौतिक-आध्यात्मिक विकासको उच्चतम सम्भाव्यता हो ।
जन्मना जायते शूद्र: संस्कारात् द्विज उच्यते
वेदपाठात् भवेत् विप्र:, ब्रह्मं जानाति ब्राह्मण:
-स्कन्दपुराण
जन्मँदा मान्छे शूद्र (पशुवत्) हुन्छ । उसको नामकरणदेखि ब्रतबन्ध लगायतका संस्कार सम्पन्न भएपछि द्विज अर्थात् दोस्रो पटक जन्म हुन्छ । वेदको पठनपछि ऊ विप्रको अवस्थामा पुग्दछ । र, वेद आदि शास्त्रशिक्षाभन्दा माथि उठेर आत्मज्ञानले स्वयंप्रकाशित (self-enlightened) भएपछि त्यही मान्छे ब्राह्मण बन्दछ । ब्राह्मण जन्मसिद्ध पदवी नभएर कर्मसिद्ध उपलब्धि हो । ब्राह्मणसँग समानार्थी पदवीहरूको अस्तित्व आजपनि थुप्रै जातिहरूमा देख्नसकिन्छ । तर, मध्युगमा गैरसनातनधर्मीहरूबाट भएको आक्रमण र आधिपत्यपछि विस्तारै यस परम्परामा थुप्रै विकृतिहरू थपिँदै गएर यो रूढ बन्न पुगेको देखिन्छ । फलत: विकृतिस्वरूप नै समग्र वेदपठन नगरीकनै म ‘ब्राह्मण’ भनिएको छु र एउटा जातका रूपमा बुझिएको छु । सनातन संस्कृतिमा जातको अस्तित्व छैन । ज्ञान र संस्कारको तहका आधारमा व्यक्तिको गणना हुने संस्कृतिमा स्थायी जातको कुनै औचित्य थिएन । उक्त पदवी आनुवंशिक नभई व्यक्तिमा सीमित थियो । यसको आनुवंशिक विस्तार गर्ने विकृतिको फल नै आजको जात-व्यवस्था हो ।
व्रतबन्धको प्रतीक जनै
जनै व्रतबन्धको एउटा प्रतीक हो । जीवनलाई शूद्रताको अवस्थाबाट माथि उठाएर लोककल्याणकारी र मुक्तिपथतिर डोर्‍याउन व्रत अर्थात् नियममा बाँधिनेहरूले प्रतीकका रूपमा जनै धारण गर्दछन् र आजकै दिन यसको नवीकरण हुन्छ । व्रत अर्थात् नियम-संयम अनि बन्ध अर्थात् त्यसमा बाँधिनु । शान्त, समुन्नत र स्वस्थ जीवन जिउनका लागि वेदपठन र तत्त्वज्ञान जरुरी थियो र यस्तो कठीन कार्यका लागि दृढ सङ्कल्प अनि प्रतिबद्धताको खाँचो पर्दथ्यो । उचित समयमा आफन्त, इष्टमित्र, गुरु, ब्राह्मण, मावलीहरूलाई भेला गराएर बच्चालाई वेदपठन (शिक्षा) का लागि व्रतमा बन्धित गर्ने परम्परा थियो । यसपछि उसलाई गुरुकुलमा लगेर वेद-पठन गराइन्थ्यो र ब्राह्मण बन्ने प्रक्रियातिर ऊ उन्मुख हुन्थ्यो ! वेद भन्नाले कसैले धर्मका केही ठेली भन्ने अर्थ लगाउँछन् तर, वेद सर्वाङ्गीण शिक्षाको नाम हो । चारवटा मूल वेदसहित आयुर्वेद (स्वास्थ्य शिक्षा), धनुर्वेद (युद्धकौशल) गन्धर्ववेद (नाचगानसम्बन्धी कला) जस्ता थुप्रै वेद (शिक्षाका विधा) हरूको अध्ययन गुरुकुलमा हुन्थ्यो ।
जनैमा तीनवटा शिखा हुन्छन् र यो नौवटा तन्तुहरूले बनेको हुन्छ । ती सबैको प्रतीकात्मक अर्थ छ । तीनवटा शिखाहरूले सृष्टिको बीजमन्त्र अर्थात् ॐ (अ-उ-म्) को प्रतिनिधित्व गर्दछन् । ब्रह्मा-विष्णु-महेश्वर यिनका प्रतीकात्मक देवता हुन् । जसले सृष्टि-स्थिति-प्रलयको सङ्केत गर्छन् । यही तीनवटा अवस्थालाई त्रिपदा गायत्रीमन्त्रले प्रतिनिधित्व गर्दछ । एटम र त्यसको इलक्ट्रन, प्रोतन र न्युट्रनले जसरी सृष्टिको मूल बुझ्न मद्दत गर्दछन्, ॐले पनि त्यही गर्दछ । जनैमा रहने नौ तन्तुले नव-गुणको सङ्केत गर्दछन् र धारकलाई सदैव ती गुणहरूको जीवनमा विकास गर्न प्रतिबद्ध बनाउँछन् :
शम (शांतिप्रियता), दम (आत्मसंयम), तप (तपस्या), शौच (पवित्रता), क्षान्ति (सहिष्णुता), आर्जव (सत्यनिष्ठा), ज्ञान, विज्ञान एवं आस्तिकता (धार्मिकता) यी नवगुणहरू जीवनको कल्याणकारी विकासका लागि आवश्यक मानिएका छन् । यी गुणको विकासतिर ध्यान नदिनेहरूले जनै लगाउनुको खासै अर्थ छैन । जसरी एउटा कम्युनिष्ट पार्टीको सदस्यले घरको भित्तोदेखि छतसम्म मार्क्स-माओको फोटो, झण्डा झुन्ड्याएर आफूलाई त्यही दिशातिर अघि बढाउने सोच राख्दछ, त्यसरी नै व्रतबन्धित विप्रले जनै धारण गरेर आफू सङ्कल्पित रहेको अनुभव गर्दछ । यो प्रतीक हो । समग्र ज्ञान हासिल गरिसकेपछि र सन्यासको अवस्थामा पुगेपछि सबैले जनैको त्याग गर्ने शास्त्रीय विधान छ । मृत्यु भएपछि पनि जनै काटेर व्रतहरूको बन्धन सकिएको सङ्केत गरिन्छ ।
तीनथरी ऋण
मानिसमाथि तीनथरी ऋण हुन्छन् । देवऋण अर्थात् मानवजीवनमा महत्त्व राख्ने समग्र प्रकृतिमाथिको ऋण, ऋषिऋण अर्थात् जीवनमा संस्कार र शिक्षा प्रदान गर्ने ऋषि, गुरु, महात्माहरूप्रतिको ऋण र जन्मदेखि, लालनपोषण र व्रतबन्ध गरिदिने आमाबुबाको ऋण । हामीले यी सबैबाट जीवनमा धेरै लिएका छौं र त्यो ऋण तिर्नु मानवको कर्तव्य हो । आजको दिन खासगरी मानवसभ्यताको विकासमा योगदान दिएका समग्र ऋषिहरूलाई सम्मान र संस्मरण गर्दै आफूले व्रतबन्धको कति पालना गरें र ऋषिऋण चुक्ता गर्ने दिशामा कति अघि बढें भनेर आत्मालोचना गर्ने दिन पनि हो । त्यसैले यसलाई ऋषितर्पणी पनि भनिन्छ । आफूले हासिल गरेको शिक्षाको समाजको सकारात्मक परिवर्तनमा कति योगदान रह्यो भनेर आजको दिन समीक्षा गर्नु जरुरी छ र अझ प्रतिबद्ध भएर त्यसदिशामा लाग्नु जरुरी छ । यो वैदिक सनातन संस्कृतिको ‘एजुकेसन डे’ जस्तै हो ।
जीवनजगत्मा नारी शक्तिको महत्त्व र स्थान सर्वोच्च छ भन्ने संस्मरण पनि आजको दिन (गायत्रीजप- दिदीबहिनीको हातबाट रक्षासूत्र) ले गराउँदछ !
यसरी मूलरूपमा जीवनलाई संस्कारित गर्ने प्रक्रियाको वार्षिक नवीकरण गर्ने र जीवनोपयोगी र लोककल्याणकारी शिक्षा दिने ऋषिहरूप्रति कृतज्ञता ज्ञापन गर्ने दिनका रूपमा यो समग्र सनातनधर्मीहरूको साझा चाड हो ।


Loading...
सम्बन्धित शीर्षकहरु

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य…

अमेरिकाको मिशिगनमा मानेको दशैँ यो। जे जस्तो मिल्यो त्यसैमा रमी गुजारा गरियो। कोरोना साक्षी अहिले वर्ष दु:खको दशैँ यो ।…

तीतोपाटी - भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन तीन दिने भ्रमणका लागि यही कात्तिक १९ गते काठमाडौं आउने भएका…

प्रतिकृयाहरू