Wednesday 24th June 2026

सुन तस्करलाई प्रहरीले नै भगाएको पुष्टि


राजधानीमा मंगलबार भएको एक विवादास्पद अप्रेसनमा प्रहरीले नै सुन तस्करलाई भगाएको पुष्टि भएको छ । सुन बरामद गरेको देखाएर व्यापारीलाई ठग्ने योजनाअनुसार नै घटना भएको प्रहरीको प्रारम्भीक छानबिनको निष्कर्ष छ ।मंगलबार बिहान सुन्धारामा बा ६ च ५५१९ नम्बरको स्कोरपियोमा रहेका व्यक्तिले दुई वटा पेस्तोल र सुन रहेको झोला फालेर भागेको प्रहरीको दाबी थियो । तर, झोला फालेको नभई प्रहरीलाई नै दिएको र प्रहरीकै मिलमेतोमा स्कारपियो भागेको छानबिनमा खुलेको छ । सुरुमा प्रहरीले १५ किलो सुन बरामद गरेको जनाएको थियो । पछि आधा किलोमात्रै सुन भएको र बाँकी नक्कली सुन रहेको खुलेको थियो । सुन र पेस्तोल रहेको झोला फालेर गाडी सजिलै भाग्नु शंकास्पद देखिएपछि महानगरीय प्रहरी कार्यालयले एसएसपी सुशीलकुमार यादबको नेतृत्वमा घटनाको छानबिन गरिरहेको छ ।

छानबिन संलग्न स्रोतका अनुसार तस्करहरुसँग महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान बहादुरसिंह कठायतको सेटिङ देखिएको छ । उनी सिआरभीका चालक हुन् । तस्कर समूहका कौशल पटेलले प्रहरी जवान कठायतलाई आर्थिक प्रभावमा पारी घटनाको योजना बनाएका थिए । ‘अहिलेसम्मको छानबिनमा गाडीमा रहेको समूह सुन तस्करीमा आबद्ध देखिन्छ,’ छानबिन समितिका एक अधिकारीले भने, ‘उनीहरुले भारतीय समूहबाट १५ किलो सुन बेच्ने भनेर केही पैसा लिएका थिए, तर बरामद गरेको देखाउन योजना अनुसार नै प्रहरीलाई दिएका थिए ।’ प्रहरीले सुन साटेर नक्कली बनाएको भन्नका लागि त्यस्तो योजना बनेको पक्राउ परेका पटेलले बताएका छन् । यद्यपी प्रहरीले अन्य कोणबाट पनि अनुसन्धान गरिरहेको छ ।

दरबारमार्ग वृत्तका प्रहरी जवान कठायत र अर्का जवान प्रसन्न श्रेष्ठलाई छानबिन समितिले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । कठायत र सुराकी भनिएका पटेलबीच पुरानो चिनजान भएकाले यस्तो योजना बनाएको पाइएको छ । घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । त्यस्तै, त्यसमा प्रयोग भएको गाडी पनि बिहीबार ललितपुरमा फेला परेको छ ।योजनाअनुसार नै कमलादीबाट गाडीको पिछा गर्दै सुन्धारामा गएर सुन र पेस्तोल रहेको झोला तस्कर समूहका व्यक्तिले एक प्रहरीलाई दिएका थिए । दरबारमार्ग वृत्तका डिएसपी पनि त्यसको पछि पछि थिए । प्रहरीले उनलाई समेत गुमराहमा राखेको बताइएको छ । सुरुमा सिपाहीले उनलाई १५ किलो सुन नै बरामद भएको बताएका थिए ।

सुरुमा डिएसपी दाहालले कमलादीमा सुन बरामद भएको बताएका थिए । सुन्धारा आफ्नो क्षेत्रमा नपर्ने भएको र सुनको कमिसन रकम अन्य प्रहरीलाई पनि बाँडफाँड गर्नुपर्ने भएकाले उनले घटनास्थलमा ढाट्ने प्रयास गरेको छानबिनमा देखिएको छ । साथै भागेको गाडीको विवरण टिपाउन ढिलाइ गरिएको पनि खुलेको छ । त्यही कारण डिएसपी दाहाललाई बिहीबार दरबारमार्ग वृत्तको जिम्मेवारीबाट हटाइएको छ । गाडी भगाउन डिएसपीको संलग्नताको प्रमाण नभेटिएको छानबिन समितिका एक अधिकारीले बताए ।

घटनाका योजनाकार भने बाराका इल्ताफ अन्सारी हुन् । बरामद गाडी उनकै हो । बारामै बसोबास गर्ने उनी नक्कली भारतीय नोट कारोबारीमा जेल परेका थिए । जेलबाट छुटेपछि उनले सुन तस्करी गर्न थालेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । लकडाउनको समयमा पास लिएरै उनी बाराबाट काठमाडौं आएको जनाएको छ ।पक्राउ परेका पाँच जनामाथि प्रहरीले संगठित अपराध, हातहतियारलगायत मुद्दा चलाउने तयारी गरेको छ । पक्राउ पर्नेमध्ये एक जना ट्याक्सी चालक हुन । जसको प्रत्यक्ष संलग्नता नभएको र भगाउन सहयोग गरेको देखिएको प्रहरीले जनाएको छ ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

चीनले स्मार्ट यातायात र उड्ने सवारीसाधन (फ्लाइङ कार) को विकासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित आफ्नो पहिलो राष्ट्रियस्तरको "एकीकृत सडक–आकाश" (Integrated…

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

प्रतिकृयाहरू
...