Saturday 10th October 2026

कोरोनाको कारण साउदी अरबमा नेपाली पत्रकारको मृत्‍यु


हरि कृष्ण न्यौपाने-कुवेत- कोरोना सङ्क्रमणका कारण गल्याङ नगरपालिका-८, स्याङ्जा घर भई साउदी अरबमा लामो समयदेखी कार्यरत पत्रकार रोशन श्रेष्ठको निधन भएको छ।
एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठको साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा आईतबार निधन भएको हो। उनको करिब ३५ दिनदेखि उक्त अस्पतलमा उपचार भईरहेको थियो।
लामो समय देखी स्वर्गीय श्रेष्ठसंग नजिकै रहेर धेरै सामाजिक कार्यहरुमा हातेमालो गर्दै आएका गैर आवासीय नेपाली संघ मध्यपूर्वका सहसंयोजक राजेन्द्र अर्यालले भने, “रोशन रहनु भएन भन्ने खबरले म मात्र होइन साउदी अरबमा रहेका सम्पूर्ण नेपाली समुदाय स्तब्ध छौं। उहाँको पहलमा नेपाल अरब डटकमले पछिल्लो समयमा साउदी अरब तथा मध्य पूर्व अनि विश्वभरका गतिविधिहरुलाई समेटदै आएको थियो।”
“श्रेष्ठको अकल्पनीय निधनले वैदेशिक रोजगारीमा रहेर श्रम गर्दै बचेको समय नेपाली पत्रकारितामा खर्चिने अनी श्रमिकहरुको आवाज सम्बन्धित ठाउंमा पुर्याउने एक असल ब्यक्तित्व हामीले गुमाएका छौं,” अर्यालले भने।
श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअघि मात्र साउदी आइ पुगेका थिए। उनी पत्रकारिताका साथै स्याङ्जा सहयोग समाज लगायतका संघ–संस्थाहरुमा पनि सकृय थिए। श्रीमतीसहित साउदीमा बस्दै आएका रोशन बिदामा घर आएपछि श्रीमतीलाई काठमाडौं नै छोडेर साउदी फर्किएका थिए। श्रेष्ठका श्रीमती, आमा र एक भाइ छन् ।
अहिलेसम्म संसारभरि कोरोना संक्रमणका कारण १८० भन्दा बढी पत्रकारहरुको ज्यान गैसकेको छ, जसमध्ये बांगलादेशमा १४ जना, भारतमा १३ जना र पाकिस्तान तथा अफगानिस्तानमा ७, ७ जनाको ज्यान गएको विभिन्न संस्थाहरुले जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...