Friday 3rd May 2024

एनआरएनए माल्टा कार्यसमितिले दियो सामूहिक राजीनामा, छानबिन समितिले बुझायो प्रतिवेदन


बार्सिलोना। गैर आवासीय नेपाली संघ (एनआरएनए) माल्टा कार्यसमितिले सामूहिक राजीनामा बुझाएको छ। माल्टामा श्रमिक ल्याउन बिचौलियाको काममा एनआरएनए माल्टाका पदाधिकारीहरु नै संलग्न रहेको समाचार बाहिरिएपछि १९ सदस्यीय कार्यसमितिले नै राजीनामा गरेको हो।

यसैबीच छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। प्रतिवेदनको विवरण भने गोप्य राखिएको छ।

ग्लोबल नेप्लिजसंग कुरा गर्दै पांच सदस्यीय छानबिन समितिका एकजना सदस्य तथा एनआरएनएको युरोप क्षेत्रीय उपसंयोजक, कृष्ण तिमल्सेना, ले मंगलबार छानबिन समितिले सर्वसम्मतिले आफ्नो प्रतिवेदन एनआरएनए केन्द्रलाई बुझाएको बताए। “अब अगाडिको निर्णय केन्द्रको निर्देशन बमोजिम नै हुन्छ,” उनले भने।

आफूहरु माथि गम्भीर आरोप लागेकाले छानबिनका लागि सहयोग गर्न नैतिकताको आधारमा राजीनामा पेश गरेको एनआरएन माल्टाका पदाधिकारी तथा सदस्यहरुले बुझाएको पत्रमा उल्लेख छ। राजीनामा गराएर यस विषयलाई यत्तिकै सल्टाउन केन्द्रिय नेतृत्वले समेत दबाब दिएको आरोप लागेको छ। तर संघका केन्द्रिय महासचिव डा. हेमराज शर्माले भने आफूहरुको कुनै प्रभाव वा दबाब नरहेको भन्दै खण्डन गरेका छन्। डा. शर्माले भने, “यस लेवलको कसैको पनि सहभागिता छैन। छानबिन समितिले बुझाउने प्रतिवेदनको आधारमा थप के गर्ने भन्नेबारे अन्तर्राष्ट्रिय कार्यकारिणी सचिवालय (आईईएस) को बैठकले नै निर्णय गर्नेछ।”

एनआरएनए युरोप क्षेत्रका संयोजक नारायण आचार्यको नेतृत्वमा गठित छानबिन समितिले कार्यसमितिसँग सोधपुछ तथा छलफल गरेको थियो। स्रोतका अनुसार कार्यसमितिभित्रका १३ जनाले आफ्नो गल्ती स्वीकार गरेका छन्।

एनआरएनए केन्द्रले गठन गरेको छानबिन समितिमा संयोजक आचार्यसहित उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिंखडा रहेका छन् ।

अब एनआरएन माल्टामा के हुन्छ ?

माल्टा कार्यसमितिलाई अब के गर्ने भन्ने विषयमा शनिबार बस्ने एनआरएनए केन्द्रिय सचिवालयको बैठकमा गम्भीर छलफल हुने जनाइएको छ। संघका महासचिव डा.शर्माका अनुसार छानबिन समितिको प्रतिवेदनका आधारमा नै संघभित्र निर्णय हुने छ। एनआरएनएको इतिहासमा नै सम्पूर्ण कार्यसमितिले सामूहिक राजीनामा दिएको सम्भवत: यो पहिलो घटना हो।

डा.शर्माले भने, ’यो विषय यत्तिकै टुंगिने भन्ने होइन। कुन लेवलको संलग्नता छ। कतिपय आफै निर्णय गर्न सकौंला। कतिपय अनुशासन समितिमा पठाउनु पर्ने हुन्छ। ती सबै कुराहरु छानबिन समितिले पठाएको प्रतिवेदन हेरेपछि मात्र भन्न सकिन्छ। अन्य सम्बन्धित ठाउँमा पनि सचेत गराउन सकिन्छ।”

विधान समितिमा समेत संयोजक रही काम गरिसकेका डा. शर्माले राजीनामा पछिका केहि विकल्पहरुबारे पनि चर्चा गरे। “पहिलो, आईईएसले राजिनामा स्वीकृत गरेर नयाँ कार्यसमिति बनाउन सुझाव दिन सक्छ। दोस्रो अर्को ब्यबस्था नहुन्जेल यही कार्यसमितिले चलाउन भन्न सक्छ, तर यी सबै प्रतिवेदनमा भरपर्ने विषयहरु हुन्,” उनले भने।

विधानत: सबैले राजीनामा दिएपछि नयाँ चुनाव कसले गराउने भन्ने विषयमा पनि चर्चा हुनसक्ने डा.शर्माको आंकलन छ। यही समितिलाई दिने कि अरु कसैलाई दिनेबारे पनि गम्भीर छलफल हुनसक्ने उनले बताए। “छानबिन समितिलाई दिएको म्यान्डेट कार्यसमिति भित्रको संलग्नता छ वा छैन भन्ने नै हो। त्यही अनुसार रिपोर्ट आउंछ भन्नेमा हामी ढुक्क छौं,” उनले थपे।

साभार:- ग्लोबल नेप्लिज नेटवर्क(GNN)


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...