Thursday 17th July 2025

कोरोनाको तनाव र सरकारको युद्धस्तरको एक्सन


तोयानाथ उपेक्षित – करिब एक हजार नेपाली श्रमिक रहेको कम्पनीमा म पनि छु । एक हिसावले उनीहरुको अन्तिम आस्था र भरोसा म सँग हुनु अस्वभाविक होईन । निक्कै हतास अवस्थामा उनीहरुले मलाई खोज्दछन । बास्तविक समस्यामा भएका मानिसहरुका समस्या मेनेजमेन्टबाट सावधान गर्न म चुकेको पनि छैन । तर एक साता यता मनोवैज्ञानिक त्रासले ईमरजेन्सी छुट्टी माग्न आउनेहरुलाई मैले सहयोग गर्न सकिरहेको छैन । मसँग उनीहरुलाई सम्झाउनुको विकल्प छैन ।

शुरुका दुई दिन कोरोनाको संक्रमणको खबर सुनेर निक्कै स्तव्ध भैयो । प्रत्येक घण्टाहरु निक्कै तनाबमा विते । खाना खान मन नलाग्ने, हात गोडा नलाग्ने, काममा ध्यान नजाने । सवै कुरा सिद्धियो जस्तो लाग्यो । बोल्न झर्को लागे जस्तो हुने । प्रष्ट देखिने गरी अनुहार तनाबले कोरिएको थियो । तFलाई के भयो ? बारम्बार दिनभरी नै जसो मेरा सहकर्मीहरुको प्रश्न झेल्न पर्यो । मैले आफुलाई स्वभाविक बनाउन उनीहरुको सामन्ने प्रयास गरिरहे । एउटाले त म कोरोनाको समाचारबाट विछिप्त भएको हो भनेर शंका गर्यो र संझाउन पनि थाग्यो । बास्तविकता त्यही थियो तर मैले उसको सवाललाई मजाक मानेर टार्ने प्रयास गरे । उसले कति पत्यायो मेरो कुर्तक मलाई थाहा छैन ।

अझ गजबको कुरा त के हो भने फेब्रुअरी २४, २५ र २६ दिनभरी तनावमा भौतारिएको मनलाई लुकाएर २७ तारिक दिन भरी नै ६ वटा क्याम्पका श्रमिकहरुलाई कोरोनासम्बन्धि प्रशिक्षण दिने जिम्मेवारी पनि आफैले सम्हाल्न पर्यो । करिब ४ सय जतिलाई प्रशिक्षित गर्दा गजबको अनुभव के भयो भने मेरो मनमा खेलेका कुरा र उनीहरुका मनका कुरा एउटै थिए । सवैका घर परिवारले कुवेत नबस्न र घर आउन भनेका रहेछन । अतालिएका श्रमिकहरुलाई आतिन पर्ने अवस्था नभएको भनेर बुझाउनु पर्ने र सरसफाई तथा मास्कको प्रयोग गर्न नचुक्ने सल्लाह दिईरहदा उनीहरु निक्कै आश्वास्त भएको महसुस भयो । तर समयले सवै कुरा सहज बनाउने रहेछ । म हिजो अस्तिको जस्तो तनावमा छैन । अरुलाई पनि यस्तै लागेको हुन पर्दछ । अव बच्ने र अरूलाइ बचाउनुको सवैले कोशिष गर्नुको विकल्प पनि छैन भन्ने मनमस्तिस्कले आफूलाई तयारी गरे जस्तो छ ।

यहाँ म आफू कार्यरत देशको सन्दर्भमा कोरोनालाई जोडेर कुरा गर्दैछु । फेब्रुअरी २४ अर्थात माघ १० को दिन कुवेतमा ३ जनालाई कोरोना भएको समाचार आएको थियो ती तिनै जना ईरानबाट कुवेत आएका मानिस थिए । जसरी कोरोनाको समाचार कुवेतमा फैलियो त्यसरी नै यहाँको सरकारले देखाएको गंभिरता अचम्म लाग्दो थियो । भोली र पर्सीका दिन हुन लागेको नेश्नल डे को भव्य तयारीलाई सरकारले तुरुन्तै रद्ध गरेको घोषणा गरर्यो । त्यसपछि लगातार संक्रमितको संख्या दिनहु थपिदै गयो । तीनबाट ५, ८, ९, १२ हुदै ४३ मा पुगेर एक दिन विसायो । त्यसपछि पुन २ जना थपियो अनि एक दिन पछि अर्को एक जना थपिएर ४६ जनामा संक्रमण भएको पुष्टि भयो । त्यसयता अहिले २४ घण्टा विसायो र लगत्तै एकै पटक संक्रमितको संख्या १० जना थपियो । अहिले अर्थात मार्च ३ तारिकसम्ममा यो संख्या ५६ पुगेको छ । यो समाचार लेखिरहदा २४ घण्टा वित्यो त्यसयता थपिएको समाचार सुन्न परेको छैन र सुन्न नपरोस भन्ने कामना छ ।

फेब्रुअरी २४ मा कोरोना पसेको कुवेतले २५ बाट २९ तारिक सम्म सार्वजनिक विदा मनाउदै थियो । सरकारले १ तारिकबाट थप १२ दिनका लागि सबै स्कुल कलेजहरु बन्द रहने घोषणा गर्यो । अहिले पुनः दुई सातालाई उक्त विदाको अवधी तन्काएको छ । सार्वजनिक भेलाहरु नगर्न भनेको छ । आजबाट चिढियाखाना पनि बन्द गरेको छ । यहाँ यतिसम्म कडाई गरिएको छ की हरेक कम्पनीले कामदारलाई अनिवार्य फेसमास्क र हेण्ड ग्लब्स दिएर मात्र काममा लगाउन भनेको छ । यसरी नै फेसमास्कको कालाबजारी नहोस भनेर विभिन्न फार्मेसीहरुमा छापा मारेर काला बजारी गर्नेहरुको दोकान सिल गरिदियो । मास्क बजारमा संकट नहोस भनेर कार्गाे प्लेनमा लाखौको संख्यामा मास्क बजारमा ल्याउन कति पनि ढिला गरेन ।

यसैबीच ईटली, थाईल्याण्ड, ईरान, कोरिया, लगायत कोरोना देखिएका देशमा रहेका आफ्ना नागरिकलाई धमाधम ओसार्न थाल्यो । आफ्ना नागरिकलाई अन्य देशमा यात्रा नगर्न उर्दी जारी गर्यो । यति मात्र होईन कोरोना प्रभावित देशहरुका सबै जाने-आउने उडानहरु पूर्ण रुपले बन्द गर्यो । यी सवै एक्सन कोरोना देखिएको एक साता भित्र चालिएका कदमहरु हुन् । कुवेत सरकारले भिजिट भिषा जारी गर्न बन्द गरेको छ भने कुनै पनि देशबाट कुवेत आउनेहरुले कोरोना संक्रमण नभएको हेल्थ सर्टिफिकेट लिएर आए मात्र छिर्न पाउने छन । जसलाई उक्त देशको राजदुतावासले समेत प्रमाणीत गरेको हुन पर्ने छ । यसरी नै कुवेतबाट बाहिर जाने श्रमिकहरुले पनि कम्पनीको जिम्मामा स्वास्थ्य परिक्षण गराएको सर्टिफिकेट लिएर मात्र निस्कन पाउने भएका छन । कुवेत सरकारको यो नियमले भित्रिने पनि स्वास्थ्य मानिस हुन पर्ने र बाहिरिने पनि स्वास्थ्य हुन पर्ने बाध्यात्मक व्यवस्था गरिदिएको छ ।

सडकमा ट्राफिक नियमका संकेत र संदेश डिस्प्ले हुने डिजिटल होर्डिङ बोर्डहरुमा कोरोनाबाट बच्ने उपाय र अपनाउन पर्ने सावधानीका सन्देशहरु डिस्प्ले हुने गरेका छन । यसरी नै सरकारी कार्यलयमामा हाजिर हुने कर्मचारीको स्वास्थ्य जाँच कार्यलयको मुल गेटमा नै हुने गरेको छ । सवै जसो कार्यलय र कम्पनीहरुलाई सेनिटाईजर अनिवार्य राख्न र ईनडोर भागमा सेनिटाईजिंग गर्न भनिएको छ । यतिमात्र होईन कोरोनाको शंका लागेर आउने विदेशी कामदारहरुको निःशुल्क जाँचको समेत व्यवस्था गरेको छ । कुवेतको अलकुत वीच होटेल र खैरानका रिर्सोटहरुमा क्वारेन्टाईन स्थल बनाएर शंकास्पद मानिसहरुको उपचार भईरहेको छ ।

खुशीको कुरा त के हो भने कुवेत भित्र कोरोना भाईरस छैन भन्ने विश्वास नै हो । किनकी त्यस्तो रिर्पोट सार्वजनिक भईसकेको छैन । ईरान लगायत अन्य देशबाट आएका वा ल्याएका मानिसहरुमा देखिएको संक्रमण हो भन्ने अहिलेसम्मको जानकारी हो । तर पनि बस तथा कारको यात्रा ईरान कुवेतका बीचमा हुने गर्दथ्यो । यसरी नै कतिपय शुरुका दिनहरुमा ईरान लगायत भाईरस प्रभावित देशबाट कुवेत आएकाहरुमा संक्रमण थियो की थिएन भन्ने एकिन हुन बाकी रहेकाले पनि कुवेतभरी सतर्कता बढाईएको हुन पर्दछ ।

विदेशमा भएको तयारी, सरकारले लिने क्वीक एक्सन, नागरिकमा दिने सुचना र यसको प्रकोपलाई रोक्न सबै तह र तप्कालाई दिईने अनिवार्य निर्देशन के हाम्रो देशमा संभव छ ? सबै कुरा छाडेर यहाँ सरकार कोरोनाको पछि परेको छ । नेपाल सरकार र नेपालका राजनैतिक दलहरुले यो महामारीको विषयलाई आफ्नो काम र कर्तव्य ठानेर केही योजनाका साथ काम गरेको सुन्न पाईएला ? कोरोना रोक्न सवैको दायित्व हो । यो भाईरसले मानवीय चरम संकटको लक्षण देखाईरहेको कुरालाई गंभिरताका साथ मनन गर्न जरुरी छ । सबैले अन्य सबै कुरा छाडेर यसलाई रोक्न लाग्नु पर्दछ । मिडियाहरुले र विपक्ष पक्ष जो सुकैले सरकारको मुख ताकेर बस्ने अवस्था पटक्कै छैन ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

सुशिल बस्याल "राष्ट्रप्रेमी" -साउने सङ्क्रान्तिको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। साउने सङ्क्रान्ति पर्व प्रायः सबै नेपालीका लागि विशेष महत्त्वको चाड हो।…

प्रतिकृयाहरू
...