Sunday 6th October 2024

प्रम ज्यू, प्रेम सञ्जेललाई अख्तियार प्रमुख बनाइयोस


तोयानाथ उपेक्षित – अतित धेरै पुरानो छैन, त्यस्तै तीन दशक मात्र अघिको कुरा हो । मेरो साईनो हालका प्रधानमन्त्रीसँग म आफु कनिष्ट पात्र हुँदाहुँदै पनि घनिष्ट थियो ।

पहिलो पटकको संसदीय चुनावताका उहाँलाई साईकलको केरियरमा बोकेर हिलाम्मे र धुलाम्मे गोरेटाहरुमा हिडेको याद अझै ताजै छ । गाउँका साना तिना चुनावी सभाहरुमा उहाँलाई प्रमुख अथिती बनाएर माईक्रोफोन दिने मेरो त्यो हैसियत आज छैन तर ती दिनको संझना भने आलै छ । उहाँको अनुपस्थितीमा पनि विरोधीहरुले लगाईएका आरोप चिर्न रेडिमेड अन्तर्वार्ता छाप्ने सम्मको काम पनि धेरै पटक गरियो । शायदै उहाँलाई यी सव कुरा थाहा नहुन सक्छ तर यी बकपत्रहरु झुठा होईनन । हो म पार्टी पत्रकारको गतिलो नमुना थिए । कसैले कतै शंका नगर्ने गरी नेताको भाषामा समाचार र अन्तवार्ता बनाउन मलाई गार्हो हुदैनथ्यो । त्यसबेला भरखर मात्र प्रोफेसनालिजम अभ्यासको शुरुवात हुदैथ्यो । सवैजसो पत्रकारहरु मिसनमा आधारित पत्रकारिता नै गर्दथे । हुन त अहिले पनि मिसन पत्रकारिता नै हुने गरेको छ मात्र फरक यति हो त्यसवेला हाक्का हाक्की हुन्थ्यो अहिले पाटीसँगको आवद्धता लुकाएर गर्ने चलन बढेको छ ।

नेताहरुसँगको नियमित उठबसले यति आत्माविश्वास बढेको थियो की कुन नेताले के बोल्छन भन्ने कुरा पहिले नै थाहा हुन्थ्यो । कुन प्रश्नको के उत्तर आउँछ त्यो कुरा जान्न नेता नबोले पनि हुन्थ्यो । तर त्यसरी नेता भेटदै नभेटी बनाएको अन्तरवार्ताको स्क्रिप्टलाई छाप्न अगाडी पार्टी सचिवलाई देखाउन भने पर्दथ्यो । छापिएको अन्तरवार्ताको पूर्व जानकारी पार्टी जिल्ला सचिवलाई हुने भएकाले त्यो असली अन्र्तवार्ता कै रुपमा बुझदथे, पढदथे । पार्टीका स्थानीय कमिटीहरुले विटो बाधेर गाउँमा पत्रिका लाने गर्थे । यो एक प्रकारको एल्लो जोर्नालिजम नै थियो । मिसन पत्रकारिता मा बास्तवमा त्यही परिभाषा भित्र पर्दछ । म मिसन पत्रकार भनेर चिनिएको थिए । पत्रकारिता गर्ने क्रममा झापामा प्रेस चौतारीको अध्यक्ष पनि भए त्यो मिसनले नै त्यहाँ पुरयाएको हो । तत्कालिन माले र पछि एमाले को केन्द्रिय प्रचार विभागले निकाल्ने मुख पत्र नबयुगको मेची अञ्चल प्रतिनिधी पनि थिए । मेरो सम्पादक तत्काल प्रदिप नेपाल र पछि कुन्दन अर्याल हुनुहुन्थ्यो । मलाई अहिलेको भाषामा शायद मानिसहरुले झोले पत्रकार भन्थे होला । तर त्यो शव्द प्रयोगमा आउन भन्दा पहिले नै मैले बैदेशिक रोजगारका लागि बाटो तताए ।

प्रवास लाग्न पूर्व मैले गोरखापत्रमा करिब एक बर्ष झापा रिपोर्टर भएर काम गर्ने मौका पनि पाए । तत्काल संञ्चारमन्त्री झलनाथ खनालका पालामा लिखित-मौखिक परिक्षा दिएर करारमा नियुक्त भए पनि त्यो अवसर एक साल पनि टिकेन । सरकार परिवर्तन सँगै महन्त ठाकुर संञ्चारमन्त्री हुनु भयो त्यसपछि हामी फालियौ । म सँगै कमसेकम १२ जिल्लाका रिपोर्टर एकै पटक सरकार परिवर्तनको शिकार भएका थियौ । लिखित पास भए पनि मौखिकका लागि सोर्स चाहियो भन्दै मंगल बजारको सानो गल्ली छिरेर हालका प्रम केपी शर्मा ओली बस्ने मंगल बजारको घरमा पुगेको थिए । प्रम ओली अहिले बालकोटमा बस्नु हुन्छरे त्यो घर पनि एक पटक हेर्ने धोको छ । तर यो जीवनमा भेट्न शायदै जुर्ला नजुर्ला । त्यो अतित जति सत्य भए पनि अहिले कसैले पत्याउने अवस्थामा छैन ।

उहाँले प्रतिक्षालयमा बसेका मानिसहरुलाई समय दिन नभ्याएकोमा माफी माग्दै निजी सचिवको जिम्मा हामीलाई लगाएर हिडनु भयो कुरा ५२ साल तिरको हुन पर्दछ तर मैले उहाँलाई पछ्याउदै गए । उहाँका अघिपछि अरु धेरै मानिसहरु थिए । जब उहाँ कार भित्र पसेर ढोका लगाउन थाल्नुभयो मैले त्यो ढोका लाई च्याप्पै समाते र कुरा सुनाए । उहाँले मेरो कुरा सुनेपछि भन्नु भयो मैले कसलाई भन्न परो । मैले भने कमरेड जेएनलाई ।

लामो समयको प्रवास बसाईले मेरो त्यो पहिचान गुम्यो । म सवैबाट स्वतन्त्र रहन पुगे । राजनितीसँगको मेरो सालनाल सवै चुडियो । श्री सगरमाथा, नेपाली पत्र, दृष्टि, बुधवार, छलफल लगायत एक दर्जन बढी केन्द्रका साप्ताहिकमा समाचार पठाईन्थ्यो । केन्द्रका साप्ताहिक पत्रिकाको शुरुवाती पत्रिका भने जनादेश थियो मेरो । अर्कै पार्टी निकट भएकाले मलाई जनादेशबाट छोडाईएको थियो । स्थानिय स्तरमा दमकबाट मन्थन साप्ताहिक र नौलो सृष्टि पत्रिका स्वागत नेपाल र म मिलेर प्रकाशन एवं सम्पादन गर्ने गर्दथ्यौ । पछि स्वागतसँगको मेरो सम्बन्ध विछडियो म विर्तामोड लागे र त्यहाँबाट स्थानिय पत्रिका प्रकाशन पनि गरिरहे ।

त्यो बहुदल पछिको पहिलो संसदीय चुनावमा तत्कालिन झापा क्षेत्र नं ६ बाट कमरेड केपी शर्मा ओलीले जिते पछि उहाँ विजय जुलुस लिएर टिका थाप्न मतदाता सामु गाउँमा आउनु भएको एउटा सानो प्रसंग पनि जोडौ । मेरो घरको आँगनमा बाँसले बुनेको मुढामाथि बसेर कमरेड केपी ओलीले पानी पिउनु भयो । घर खाली थियो मैले अघि बढ्न संकेत गरे उहाँसँग अघिल्लो दिनबाट सँगै भएको ले मैले आफ्नो गाउँका मतदाता लिएर जानु थियो तर उहाँ हिडन मान्नु भएन । उहाँले मेरो बुबा खोज्नु थाल्नु भयो । जो अहिले ८७ बर्षमा हिडदै हुनुहुन्छ । खेतको पल्लो छेउमा काम गरिरहनु भएको मेरो बुवा आउन्जेल पर्खेर अविर टिका लगाएपछि मात्र हिड्नु भयो । यस्तो नेतासँगको मेरो सामिप्यता देखेर मलाई कसैले पनि भन्दैनथे बेरोजगार बन्ला र विदेश जाला । मेरो आमाले धेरै पटक मेरो बरालसिंह पारा देखेर भन्नुहुन्थ्यो खड्ग ओली सँग कुदेर के पाईस ? गएर जागिर मागेर खान सक्दैनस । नेताहरु ले अरुण तेश्रोमा मलाई पनि मौका दिने भन्दै धेरै अवसरहरुको मेरो दावी खारेज गरेका थिए तर पछि अरुण तेश्रो पनि खारेज भएपछि अन्तिम आशा पनि मर्न गयो ।

यी थोत्रा कहानी र गन्थनको मतलब यति नै हो की प्रम ओली अहिले देशका प्रधानमन्त्री हुनुहुन्छ । मैले सम्झेका पुराना यी कुराहरुको लम्बेतान विषयहरुले तपाई पाठकहरुलाई तान्छ र यहि मौका छोपेर मैले एउटा प्रस्ताव सुनाउन खोजेको पनि हो । आज उहाँ प्रम हुनुहुन्छ भनेर मैले अतित सुनाएर केही माग्न चाहेको पटक्कै होईन । माग्नु पनि केही छैन । उहाँले जे गर्न सक्नुहुन्छ मुलुकको हितमा धेरै काम गर्नु पर्छ कार्यकर्ताका कुरा त सुनेर उडाई दिए पनि हुन्छ । मैले उहाँसँग आफ्ना बच्चाका लागि जागिर दिनुस भन्ने बेला भएको छ तर तिनका लागि म कुनै नेतासँग केही माग्ने वाला छैन । यसैले उनीहरुलाई राजनितीको गन्धबाट टाढै राखेर हुर्काएको छु । त्यसो गर्न मेरो स्भावले पनि दिदैन । तीनका लागि मै काफी छु । अरबमा मैले बगाएका पसिना स्वभिमानका का लागि आधार बनेको छ ।

यो लेखको गुदी कुरा यति हो की मैले चाहेको र मेरो हृदयले भनेको कुरा यदि प्रम केपी शर्मा ओलीलाई सुनाउन पाउने भए भनिदिन्थे । देशमा व्याप्त भ्रष्टाचार छ यसलाई निर्मुल पार्ने हो भने पुर्खाको कसम खाएर जागिर खाएका प्रेम सञ्जेल जस्ता मानिसलाई मौका दिनुस । योग्यता भएकै मानिस हुन, जीवनका ४० बसन्तमा चाराना घुस नखाएको मान्छे संसारमा विरलै पाईन्छन जो नेपालमा छन । उनलाई अख्तियार प्रमुख बनाएर त हेर्नुस । तस्कर र भ्रष्टहरुको विगविगी छ । तपाईको कार्यकालको दुई बर्ष पनि वितिसक्यो । भ्रष्टहरुलाई मास्न यो गतिले सम्भव छैन । यदि तपाई साँच्चै भ्रष्ट विरोधी हो भने सञ्जेललाई पाखा राख्ने होइन बरू उचित एक मौका दिनुहोला ।

प्रम ज्यु कसैले तपाईसम्म यो कुरा पुर्याई दिउन भन्ने मेरो अपेक्षा छ । तपाईसँग हाम्रा कुरा सुन्ने र बुझ्ने मौका हुदैन तर पनि यति लेखेर मैले भने आत्मारती गरे । एउटा समयको कनिष्ट पात्रको कुरा तपाईको कानमा पुगेछ भने मेरो सदिच्छा पुरा भएको हुनेछ चाहे बेवास्ता नै किन नगर्नुस । एक पटक प्रेम सञ्जेल भ्रष्टाचार नियन्त्रण गर्ने शाक्तिशाली पदमा पुगेको हेर्ने यो मनको कुरा राखे ।

तर विडम्बना अहिले त उनको भएको अधिकार समेत कटौती गरेर अन्याय मात्र गरिएको छैन प्रमकै संकल्पको धज्जी उडाईएको छ यस्तो कसले गरयौ यहाँलाई उनको बारेमा केही जानकारी छ ?

भ्रष्टहरु ठेगान लगाउने नै हो भने कहिलेकही सनातनी शासन शैली र पद्दतीमा छलांग लगाउनु पर्दछ प्रम ज्यू । यदि त्यसो गर्ने हो भने पक्कै पनि देशमा केही न केही फरक अवस्था आउनेछ । यति बज्र र प्रतिवद्ध भ्रष्ट विरोधी मानिस देशमा शायदै होलान । उहाँको स्वभाव र शैलीमा केही असहमती होलान तर तर प्रेम सञ्जेल गलत छैनन । उहाँसँग किन र कसको पूर्वाग्रहले काम गरिरहेको छ ? भ्रष्टहरुलाई ठिक पार्न यस्तै मानिस चाहिन्छ । विचार गर्न होला । त्यसो भए हेर्नुस लाखौ नेपालीले तपाईको जय जयकार गर्नेछन ।

फिलिपिन्सका कार्यकारी राष्ट्रपतिले ड्रग्सका कारोबारीहरुलाई जहाजबाट खसालेर मारेका थिए अहिले भ्रष्टचारीहरुलाई हेलिकेप्टरबाट खसाल्छु भन्दैछन । त्यसै गर्नुस त भन्दिन तर एउटा मार्दा सयौको रक्षा हुन्छ भने त्यो पनि धर्म हो, पाप होईन यति कुरा तपाईका अगाडी कनिष्टले गर्यो । जसरी तपाईले अर्थ विज्ञलाई टिपेर अर्थ मन्त्रालय दिनु भयो । त्यसरी नै प्रेम सञ्जेललाई अख्तियारमा लगियोस । देशको कल्याणमा सहयोग नै होला ।


सम्बन्धित शीर्षकहरु

सुनुवार सेवा समाज कुवेतको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भक्तराम सुनुवारको नेतृत्वमा संरक्षक, सल्लाहकार सहित ३७ सदस्यीय कार्य…

पाठेघरको क्यान्सरको खोप विकास गर्ने आशा राखेको प्रयोगशालालाई अनुदान दिइएको छ । अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले ओभेरियनभ्याक्स, एक खोप सिर्जना गर्दैछन्…

खामेनीले इरान र उसका सहयोगीहरू इजरायली आक्रमणबाट पछि नहट्ने बताएका छन् सर्वोच्च नेताले इजरायलमाथिको इरानको आक्रमणलाई 'वैधानिक' भन्दै बचाउ गर्दै…

प्रतिकृयाहरू
...