Tuesday 12th May 2026

ईन्द्रेको बाउ चन्द्रे आए पनि एमसीसी त आयो आयो


तोयानाथ उपेक्षित – सिंगो सत्ता र विपक्ष लागे पछि एमसीसीलाई ईन्द्रेको बाउ चन्द्रे आए पनि रोक्न नसक्ने देखियो। माईतीघर मण्डला, सडक गल्ली र सामाजिक सञ्जालमा खबरदारी विरोधका लागि विरोध मात्र हुने भए।
राजनैतिक विश्लेषक भरत दाहाल र राजनैतिक नेता भिम रावलको केही नचल्ने निश्चित भयो। सडकका स्वघोषित अभिया ाज्ञानेन्द्र शाही र मिडियाबाट रबिको विरोध पनि काम नलाग्ने भईसक्यो। केही वकिलहरु र केही कट्टरपन्थि बाम पथहरुले पनि नथाम्ने भए। यति चाही पक्का हो एमसीसीलाई लिएर महराले केही मानिसहरुको सहानुभूति अझै केही समय पाउने छन । उनको यौनहिंसालाई कसैकसैले ढाकछोप गर्न एमसीसीद्धारा सेरेगम गर्नेछन।

आखिर संझौता भईसकेको एमसीसी संसदबाट अनुमोदन हुने नहुनेमा सत्ता र विपक्ष बाडिन्थे भने सडकको जोडबलले केही काम गर्ने थियो होला तर यहाँ त विपक्ष झन ठुलो स्वरमा छिटो पारित गराउ भन्दै दवावमा उत्रिए पछि दुई तिहाईले पारित हुने देखियो। प्रजातन्त्रमा विश्वास गर्ने हामीले हाम्रा जनप्रतिनिधीबाट समर्थन गरेको कुरा मन परे पनि नपरे पनि मान्नुको विकल्प छैन। यसलाई घातको रुपमा बुझ्ने हो भने जवाफ दिने फेरी पनि चुनावी मैदानमा नै हो। यसर्थ मारे पाप पाले पुन्य भनेर छाडिदिनु पर्ने बेला भएको छ।

यतिका बर्ष देखि एमसीसी ल्याउन मुख्य सवै राजनैतिक दल लागेको कुरा कसैलाई पत्तै भएन। त्यस प्रोजेक्ट सँगको संझौतामा सरकारले हस्ताक्षर गरेको कुरा पनि खासै प्रचारमा आएन। तत्कालिन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की हुदै हालका परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले हस्ताक्षर गरुन्जेल सम्म अहिले विरोधमा शसक्त रुपमा उत्रिएका कुनै पनि व्याक्तित्वले चाल पाएका थिएनन भन्ने होईन। बरु विरोध गर्नेहरुको पनि आफ्नै राजनैतिक अभिष्ट यसमा पसेको हुन पर्दछ। किन उनीहरुले समयमा यसलाई घनिभूत रुपमा उठाई दिएनन। बेला वितेपछि र सवै कुरा भईसकेपछि अब तमासा देखाउनुको कुनै अर्थ देखिन्दैन। एमसीसी राष्ट्रघाती की राष्ट्रवादी संझौता भनेर पहिले नै जनस्तर सम्म बहसमा आउनु पर्नेथ्यो। जब संसदले अनुमोदन गर्न पर्ने बेला भयो तब विरोध शुरु गर्नु यो आफैमा बेमौसमी बाजा हो। यहाँ पारित गराउन पर्दछ भन्नेहरु मात्र दोषी छैनन हुन्न भन्नेहरु पनि दोषी छन। सरकार पछि फर्कनै नसक्ने कुटनैतिक लगनगाँठो बाधि सकेपछि पछि फर्कनु भनेको सिंन्दर हाल्ने बेला मण्डप छाड्ने दुलाहा जस्तै हुनु हो। अव जे भो भो ढाँटे पनि काटे पनि अघि बढ भन्नै पर्ने बेला भएकोले विरोधलाई थाती राखौ ।

एउटा कुरा चाही पक्का हो एमसीसी लिएर नेपालले गल्ती गरयो। यसका सर्तहरु मानेर झन गल्ती गरयो। जुनसुकै बहानामा आए पनि अमेरिका विना स्वार्थ आएको छैन। प्रमाण, तथ्य र तर्क जसले जसरी प्रस्तुत गरोस भलै त्यसलाई मानौ अहिले तर कुनै पनि स्वभिमानी सचेत नेपालीको मन मस्तिस्क र उसको भित्री आत्माले अमेरिकासँग शंका गरिरहेको छ। संसार भर छरिएर रहेका लाखौ युवाले बुझेको अमेरिका विश्वास गर्न लायक देश होईन। एमसीसीले विशुद्ध हाम्रो अनुहारको उदासता, पीडा र दुःखको थकान मेटाई दिन वा हाम्रा गरिबीपनबाट मुक्ति दिलाउन ब्रहमज्ञानी साक्षत ईश्वरका रुपमा प्रस्तुत हुदैछ भने जस्तो भावमा यसको समर्थन गर्नेहरुले पछुताउने दिन नआओस।

एमसीसीले सडक र विद्युतमा गर्ने लगानीले चिनको विआरआईलाई धक्का नदियोस । तिव्बतका खाम्पाहरुलाई लगानी नगरोस, बौद्ध र सयम्भुमा आत्मादाहा गर्न कसैलाई नउस्काओस । संञ्चारका टावर र टेक्नोलोजी खडा गरेर हाम्रा छिमेकीको चियोचर्चाे नगरोस । सयौ जात जाति र भाषा भाषी विचमा रहेको भातृत्व र एकतामा दखल दिदै हुती र तुत्सी बनाउने काम नगरोस । धार्मीक सहिष्णुतामा विश्वास गर्ने नेपालीहरु बीच राम मन्दिर बाबरी मत्सिद जस्तो तमासा नलगाई दियोस। प्लेस्टाईन ले जस्तो अनन्त काल सम्म आफ्नो मुलुक खोज्ने दिन नल्याईदियोस। उत्तर कोरिया र दक्षिणलाइ मिल्न नदिए जस्तो गरी तराई र पहाड छुट्यान बाघ चाल नखेलोस। त्यसो भए कुनै पनि नेपालीलाई एमसीसीसँग कुनै आपत्ति छैन। यसको ज्ञयारेन्टी कसले दिने ?


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...