Saturday 27th April 2024

अदालतलाई झुटो बयान दिएका कारण पुर्पक्षका लागि महरा थुनामै


जबर्जस्ती करणी उद्योग अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अदालतलाई झुटो बयान दिएका कारण पुर्पक्षका लागि थुनामै बस्नुपर्ने भएको छ। उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंलाई महराले दिएको बयान र पीडित महिलाको कोठामा भेटिएका प्रमाणबीच मेल नखाएकाले उनलाई पुर्पक्षका लागि डिल्लीबजार सदरखोरमा राख्न भएको आदेश सदर गरेको छ।

महराले आफूलाई जिल्ला अदालत काठमाडौंबाट पुर्पक्ष थुनामा राख्न भएको आदेशविरुद्ध मंसिर ५ मा उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका थिए। उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले बिहीबार सुरु जिल्ला अदालतको आदेश सदर गर्दै थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। महराले सुरु जिल्ला अदालतको थुनामा पठाउने आदेश गैरकानुनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्दै निवेदन दर्ता गरेका थिए। उनले निवेदनमा आफू भागेर कतै नजाने भएकाले थुनाबाहिरै रहेर अनुसन्धान गर्नुपर्ने जिकिर गरेका थिए।

सबै भेटिएका प्रमाणबाट महरा कसुरदार होइनन् भनी विश्वास गर्न नसकिने उच्च अदालतको ठहर छ। उच्च अदालतबाट मुद्दाको एक महिनाभित्र कारबाही÷किनारा लगाउनसमेत आदेश भएको छ।उच्च अदालत पाटनले महरालाई पुर्पक्ष थुनामा राख्न जिल्ला अदालत कामाडौंबाट भएको आदेश सदर गर्दै एक महिनाभित्र मुद्दाको कारबाही/किनारा लगाउन आदेश दिएको छ।
महराले अनुसन्धान अधिकारीसमक्ष र सुरु अदालतमा आफू पीडित भनिएकी महिलाको कोठा रहेको इलाकामा गएको तर फोन सम्पर्क नभएपछि गल्लीबाटै फर्केर आएको बयान दिएका थिए। महराका सुरक्षाकर्मीले भने उनी ती महिलाको कोठाबाट डेढ घन्टापछि फर्केको बयान दिएका थिए। त्यसैगरी कोठामा भेटिएका प्रमाणका आधारमा पनि महाराले दिएको बयान झुटो भएको अदालतको ठहर छ। ‘पीडितको कोठामा गएको होइन भनी आरोपित कसुरमा इन्कार रही बयान गरेको,’ उच्च अदालतको आदेशमा भनिएको छ, ‘उनीसँगै गएका सुरक्षाकर्मीले पीडितको कोठा भएको घरको गेटभित्र गई डेढ घन्टापछि फर्केको भनी बयान दिएका थिए।’

घटनापछि पीडित महिलाले आत्तिँदै प्रहरीमा फोन गरेको र प्रहरी पुगेपछि संकलन गरेको प्रमाण बलियो भएको अदालतको आदेशमा उल्लेख छ।‘पीडितले रुँदै, आत्तिँदै महराले आफूलाई कुटपिट गरी जबर्जस्ती करणी गर्न खोजेको भनी कन्ट्रोल रुममा फोन गरेको,’ अदालतको आदेशमा भनिएको छ, ‘महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरबाट गएको प्रहरीले पीडितको कोठामा रक्सीको बोतल, गिलास, बदाम भएको प्लेट, चस्माको फ्रेम, जुत्ताको तलुवासमेत भेटिएको भन्ने घटनास्थलको प्रकृति मुचुल्का रहेको छ।’

मौकामा बुझिएका साक्षी, सञ्चारकर्मीसँग पनि पीडित महिलाले आफू महराबाट यौन दुव्र्यवहारमा परेको बताएकी थिइन्। पीडित र महराका छोराबीच समेत एसएमएस संवाद भएको, पीडितको शरीरमा चोट, निलडामसमेत देखिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा भएको आदेशमा उल्लेख छ। सुरु अदालतबाट ‘प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाललाई मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश’ उच्च अदालतले सदर गरेको छ।

महराका तर्फबाट उच्च अदालतमा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, लवकुमार मैनाली, रमनकुमार श्रेष्ठ, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी, अधिवक्ता भोजराज आचार्यले बहस गरेका थिए।गत कात्तिक १८ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योग अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश गरेको थियो। त्यसलगत्तै उनी डिल्लीबजारस्थित सदरखोरमा थुनामा छन्।

संसद्् सचिवालयमा कार्यरत महिला कर्मचारीले महराविरुद्ध जबर्जस्ती करणी प्रयास गरेको आरोप लगाएपछि उनले प्रतिनिधिसभा सभामुख पदबाट राजीनामा दिएका थिए। पीडित महिलाले प्रहरीमा जाहेरी दर्ता गरेलगत्तै महरा पक्राउ परेका थिए। त्यसपछि उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो। जिल्ला अदालतमा पीडितको बकपत्रसमेत भइसकेको छ। साक्षी बुझ्ने, प्रमाण बुझ्ने काम भइरहेको छ। उच्च अदालतको आदेश अनुसार मुद्दा टुंगो लाग्न एक महिना लाग्ने देखिएको छ।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

कुबेत-“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि आफु…

इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु…

तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ । तान्जनियाको सरकारका अनुसार सो…

प्रतिकृयाहरू
...