Friday 17th May 2024

अर्घाखाँची दुर्घटनामा बाँचेकी बालिका भन्छिन्,‘गाडी चढ्दिनँ पल्टिन्छ


तितोपाटी- अंकल, गाडी चढ्दिनँ पल्टिन्छ’, तीन वर्षीया एञ्जिला भट्टराईले नरपानी प्रहरी चौकीबाट विदा हुँदै गर्दा प्रहरी सहायक निरीक्षक (असई) सूर्यप्रसाद पन्थीलाई भनिन्। उनी अवाक् भए। एकछिन केही बोलेनन्। तैपनि एञ्जिलालाई परिवारको जिम्मा लगाउन गाडी चढाउनै पर्ने बाध्यता उनमा थियो।

अर्घाखाँचीको नरपानी बस दुर्घटना भएपछि पहिलो उद्धार पाइन् उनै एञ्जिलाले। उनलाई पन्थीले नै सडकदेखि सात मिटर तल झाडीमा फेला पारे। तीन महिनाअघि नरपानीमा सरुवा भएर आएका उनी सन्धिखर्क–गोरुसिंगे सडकको घुम्ती कटानमा रोकिएका गाडी व्यवस्थापनमा खटिएका थिए। बुधबार साँझ ४ बजे बाटो खुल्यो। सँगै रहेका दुई ट्राफिकले सन्धिखर्कबाट गोरुसिंगेतर्फ आउने गाडी व्यवस्थापन गरिरहेका थिए। उनी बुटवलतर्फबाट सन्धिखर्क जाने गाडी पठाउन हिँडे। पन्थीले मोटरसाइकल चलाएर करिब ५ सय मिटरमात्रै के पुगेका थिए, आँखै अगाडि भीरबाट बस खस्यो। ठूलो आवाज आयो। ‘म त बाइक रोकूँ कि के गरुँ भन्ने दोधारमा भएँ, सम्हालिएर माथिल्लो निकायमा खबर पुर्‍याएँ। सहयोगका लागि आग्रह गरें’, शुक्रबारको घटना विवरण सुनाउँदै उनले भने।

दुर्घटनामा परेको लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको थियो। घुम्ती कटानमा रोकिराखेका बसमध्ये दुई वटामात्रै दुर्घटनास्थल पार गरेका थिए। तेस्रो बस झन्डै तीन सय मिटर तल खस्यो। दुर्घटनालगत्तै पहिलो उद्धारकर्ता पनि उनै पन्थी हुन्। जसले सडकभन्दा केही तल एञ्जिला रोइरहेको सुने। भीरमा डोरीको आडमा पहिलो उद्धार उनकै गरियो। उनी कसकी सन्तान हुन् भन्ने पत्तो थिएन। पछि आमाको नाम बताएपछि पहिचान खुल्यो।

एञ्जिलालाई उनकी आमा सीता भट्टराईले झ्यालबाट फलिदिएकी थिइन्। ‘मलाई मम्मीले झ्यालबाट फालिदिनुभएको हो’, एञ्जिलाले प्रहरीसँग भनेकी थिइन्। सीता भने अहिले पनि उपचारका लागि अस्पतालमा छन्। निर्वाचनको तयारीसमेत चलिरहेकाले इलाका प्रहरी चौकी ठाडामा १० जनामात्रै प्रहरी थिए। लगत्तै जिल्लाको टोली घटनास्थल पुग्यो। रोकिएका बसका यात्रु पनि उद्धारमा लागे। प्रहरी टोलीले भीर र जंगलको झाडीमा डोरीको सहायताले तल झर्दै गर्दा बीचमा अड्केका घाइतेलाई उद्धार गर्‍यो। बस तीन सय मिटर तलको सल्लाको बोटमा अडिएको थियो।

‘केही घाइतेको चिच्याहटबाहेक घटनास्थल सुनसान थियो, हामीले आवाज पछ्याउँदै उद्धार गर्‍यौं’, पन्थीले भने। उनले समयमै एम्बुलेन्स, प्रहरीलाई खबर गरेकाले निकै छिटो उद्धार भयो। त्यति तल झरेको बसमा पनि घाइते थिए। बसले नै च्यापिएका घाइतेलाई प्रहरीले निकाल्यो। ‘मेरो जागीरको सिलसिलामा यति छिटो दुर्घटनाको उद्धार कहीँ भएको थिएन’, उनले अनुभव सुनाए। प्रहरीको टोलीले १७ जनाको शव घटनास्थलबाटै निकाल्यो। १६ जनालाई जीवितै उद्धार गर्‍यो। मृतकमध्ये बसका चालक वसन्त थापा र मालिक सन्तबहादुर बस्नेत पनि थिए।

छतमा फर्किए वसन्त शुक्रबार बिहान ११ बजेतिर अन्नपूर्णकर्मी घटनास्थल पुग्दा बसचालक वसन्त थापाकी पत्नी २६ वर्षीया पुजा पचभैया मगर काखमा डेढ वर्षीया छोरी राखेर बस पल्टिएतर्फ आँखा डुलाइरहेकी थिइन्। उनका सुन्निएका आँखाले वसन्तलाई खोजिरहेका थिए। खुट्टा उचालेर बस हेर्न खोजिन्। तर बस निकै तल थियो।एकैछिनमा उनका पति त आए, तर उनी स्टेरिङ समाएर चालक बस्ने स्थानमा थिएनन्। सेतो कपडा बाँधिएको बसको छतमा मृत शरीरमा। उनी भक्कानिइन्। हेरिरहिन्। मलामी बोकेको बस अघि लाग्यो। सानो गाडीमा उनीसहितका परिवार पछि लागे। रूपन्देहीको गैडहवामा बस्ने चालक वसन्तको वास्तविक नाम ओमबहादुर हो। उनले त्यो रुटमा इमान्दार र सहयोगी चालकको पहिचान बनाएका रहेछन्।

‘यत्तिको सजिलो चालक त अहिलेसम्म देखेकै थिएनौं’, घटनास्थलमा भेटिएका स्थानीय वेद भुसालले भने। वसन्तले यो गाडी चलाउन थालेको चार महिनामात्रै भएको थियो। उनले चार वर्ष खलासीमा बिताए। पछिल्लो चार वर्ष ड्राइभर थिए। दुई पत्नीका तीन सन्तानका बाबु वसन्तले अघिल्लो साहूसँग कुरो नमिलेपछि सीतापुरका गाडी मालिक सन्तबहादुर बस्नेतको गाडी चलाउन थालेका हुन्।

गाडीमालिक सन्तबहादुरको घर दुर्घटना स्थलभन्दा एकाध किलोमिटर टाढा छ। सन्त दुई वर्षअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए। चार महिनाअघि मात्रै बस चलाउन थालेका उनले आफैं कन्ट्याक्टरको काम गर्थे। बुधबार सन्धिखर्कबाट हिँड्दा उनकै बसमा भाइ बुहारी सीता बस्नेत पनि चढेकी थिइन्। सन्तबहादुरकी पत्नीलाई सञ्चो थिएन। उपचारका लागि बुटवल आउन उनी सीतापुरकै घरमा सिँगारिएर बसेकी थिइन्। ‘दिदी, हामी नजिकै आउँदैछौं, तपाई तयारी भएर बस्नुस्, उनले जेठानी (सन्तबहादुरकी पत्नी) लाई भनेकी थिइन्। तर घरनजिकै जेठाजु बुहारी दुर्घटनामा परे। सिँगारिएर बसेकी सन्तकी पत्नी शोकमा छन्। उनीहरु सबैको शुक्रबार साँझ मात्रै अन्तिम संस्कार गरिएको छ।

काल बन्यो साढे १० फुटे सडक

नरपानी चौकीका इन्जार्च पन्थी आएको तीन महिनाको अवधिमा सोही क्षेत्रमा तीनवटा दुर्घटनामा परी २५ जनाको मृत्यु भयो। असोज २० गते जीप दुर्घटनामा तीन जनाको ज्यान गयो। कात्तिक २० गते मालपोत हिँडेका एकै परिवारका तीनजनाको सेलेरो जीप दुर्घटनामा मृत्यु भयो। मंसिर ११ गते बस दुर्घटनामा १९ जनाको ज्यान गयो।दुर्घटनास्थलमा साढे १० फिटको पक्की सडक छ। पहिले दायाँ र फेरि बायाँ घुम्ती कटेपछि बस सडकबाहिर पुगेको छ। प्रहरीको अहिलेसम्मको अनुसन्धानले स्टेरिङ नमोडिएका कारण दुर्घटना परेको हुन सक्नेतर्फ संकेत गरेको छ। ‘उकालो भएकाले तीब्र गतिमा गाडी हुनै कुरै भएन, स्टेरिङ नै नकटेको हुन सक्छ’, घटनास्थल अनुसन्धानमा पुगेका जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका प्रहरी निरीक्षक सुरज सुवेदीले भने।

दिउँसो एक बजेतिर सन्धिखर्कबाट हिँड्ने बेलामा गाडीको ‘टाइरेट’ बनाउँदै गरिएको अरू बस चालकले देखेका थिए। टाइरेट भनेको बस मोड्न जडान भएको उपकरण हो। सोही उपकरणका कारण दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनाको छानबिनका लागि समिति बनाउने निर्णय सर्वपक्षीय बैठकले गरेको छ। स्थानीयले साढे १० फुटे बाटोमा कहिलेसम्म भरिभराऊ यात्रु भएका बस चलाउनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन्। यो सडकको नरपानी क्षेत्र अत्यन्त जोखिमपूर्ण छ। साँघुरो सडक र भीर भएका कारण ठूला दुर्घटना हुने गरेका छन्। अन्नपुर्ण पोस्ट बाट


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...