Monday 27th July 2026

प्रचण्ड भन्छन- यस्तो बुद्धिले कांग्रेस इतिहासमा कैद हुन्छ


तितोपाटी-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की २ मा आफ्नो पार्टीको उम्मेदवार विद्या भट्टराईको जित कांग्रेस सभापति शेरबहादुर देउवाले सुनिश्‍चित गरिदिएको बताएका छन् ।’परिणाम निकाल्ने कुरा के हुन्छ रे भने पार्टी र जनताको राम्रा कामको योग र हाम्रा विरोधीले गर्ने नराम्रा कामको योग, ‘उनले भने, ‘यहाँ हाम्रा विपक्षी नेपाली कांग्रेसका नेताहरुले जसरी भाषण गर्नुभयो, त्यसले पनि हाम्रो विजय सुनिश्चित भएको देखेको छु ।’

आफ्नो पार्टीका उम्मेदवारको विजय सुनिश्चित गराइदिएकोमा कांग्रेस सभापति देउवालाई अध्यक्ष दाहालले धन्यवाद दिए । ‘नेपाली कांग्रेसका शेरबहादुरजी, जसले यहाँ आएर पोखरामा ठाडै झुठो बोल्नुभयो । संसारले देखेको उज्यालो, छ्यांगै घाम, पोखरा आएको बेलामा हत्केलाले सूर्य छोप्नेजस्तो नाटक गर्नुभयो, ‘उनले भने, ‘उहाँलाई म धन्यवाद भन्न चाहन्छु, उहाँले कमरेड विद्या भट्टराईको विजयलाई सुनिश्चित गरेर गइदिनुभयो ।’ देउवाले केही दिनअघि पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको आरोप लगाएका थिए । प्रचण्डको कटाक्ष त्यसैप्रति लक्षित थियो ।

भारतले कालापानीमा सीमा मिचेको सन्दर्भमा प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक दाहालले स्मरण गरे । ‘म देब्रेपट्टि छु प्रधानमन्त्रीको, शेरबहादुरजी दाहिनेपट्टि हुनुहुन्छ,’ दाहालले भने, ‘उहाँले प्रधानमन्त्रीलाई यो बैठक डाकेकोमा ठिक छ, तपाईंलाई धन्यवाद, तपाईंले लिएको राष्ट्रियताको अडानमा पनि हाम्रो पूरै सहयोग हुन्छ भनेको मेरो कानमा अहिले पनि टिनिन्न बजिरहेको छ ।’त्यस्तो व्यक्तिले पोखरामा आएर सल्लाहमा भारतले नक्सा छापेको हो भन्दा लाजमर्दो भएको दाहालले बताए । ‘म नेपाली कांग्रेसका साथीलाई सुझाव दिन चाहन्छु, तपाईंहरु गहिरो गरी आत्मसमीक्षा गर्नुहोस्, उनले भने, ‘तपाईंहरु पनि संविधान निर्माणको हाम्रो सहयोगी, सहयात्री नै हो । तपाईं साह्रै तल खसेको पनि मलाई त्यति मन पर्दैन । साह्रै तल खसेर साह्रै झुठ बोलेको देख्दा त चिन्ता पनि लागेको छ ।’

आफूले १२ बुँदे र बृहत शान्ति सम्झौता गरेको गिरिजाप्रसाद कोइरालाको पार्टी भएकाले कांग्रेसको चिन्ता लाग्ने दाहालले बताए । उनले भने, ‘मेरो सुझाव छ, तपाईंहरु आत्मसमीक्षा गर्नुहोस‍्, यसो गर्न छोड्नोस् । झुठो बोल्न छोड्नोस् । बेइमानी गर्न छोड्नोस् । र, अलिकति संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई पक्रने कोसिस गर्नोस् ।’

होइन भने यही बुद्धिले नेपालको इतिहासमा नेपाली कांग्रेस किंवदन्ती बन्ने टिप्पणी दाहालले गरे । ‘यही बुद्धि हो भने नेपाली कांग्रेस भन्ने पार्टी थियो भन्ने ठाउँमा पुग्न कत्ति बेर छैन,’ उनले भने, ‘मैले त्यस्तो नहोस् भन्ने चाहेको छु । प्रतिपक्ष पनि राम्रै ठाउँमा रहोस् भन्ने चाहेको छु । तर यो बुद्धिले त उहाँहरु प्रतिपक्षमा पनि रहने छाँट देखिएन ।’अध्यक्ष दाहालले अहिलेको सरकार ५ वर्ष चल्ने दोहोर्‍याए । हालैको पार्टी सचिवालयले सरकारको आयुबारेको आशंका मेटाएको उनको भनाइ थियो । ‘सरकार ५ वर्ष चल्छ, यसको स्थिरतामा कुनै समस्या आउन दिइने छैन,’ उनले भने।

बृहत् आमसभालाई सम्बोधन गरेलगत्तै दाहाल काठमाडौं फर्किए । सभालाई सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य वामदेव गौतमले विद्या भट्टराईलाई चुनाव जितेपछि मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरे ।सभालाई उम्मेदवार विद्या भट्टराई र नेता सुवास नेम्बाङले पनि सम्बोधन गरे । नेम्बाङले सम्बोधन गरिरहँदा १२ बजेर ४७ मिनेट जाँदा सभास्थलको पार्किङमा विस्फोट भएको थियो ।ठूलो आवाजसहित विस्फोट भएर सभास्थलको पश्‍चिमतिर धूलो उडे पनि सभा सामान्य तवरले नै अघि बढेको थियो ।उक्त विस्फोटमा संलग्नताको शंकामा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको स्रोतले जनाएको छ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आफ्नो २४औँ सत्याग्रह (आमरण अनशन) मा छन्। उनले सुदूरपश्चिमको धनगढीस्थित कृष्ण मन्दिर…

सिरियाका राष्ट्रपति अहमद अल-शारा ले आफ्नो देश इजरायलसँग सुरक्षा सम्झौता (Security Agreement) गर्न इच्छुक रहेको बताएका छन्। अल जजिरासँगको अन्तर्वार्तामा…

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

प्रतिकृयाहरू
...