Saturday 4th May 2024

झाँक्री र बोक्सी खेलाउने सेन्टर एउटै हुन्छ


तोयानाथ उपेक्षित – अहिले लिपुलेख, कालापानी, लिम्पियाधुराको भुभागलाई भारतले जारी गरेको राजनैतिक नक्सामा विधिवत रुपमा आफ्नो भनी दावी गरेको छ र त्यसको घनिभुत विरोध नेपालमा भईरहदा उल्टो उसको विदेशमन्त्रालयले पत्रकार सम्मेलन गरेर नै नेपालको दावी खारेज गरिदिएको छ ।

सरकारले जनआक्रोशपछि जारी गरेको विज्ञप्ति त्रुटिपूर्ण, अधुरो र समर्पणवादी भो भनेर आलोचना पनि भईरहेको छ । केही हदसम्म यो कुरा जायज छ । यस्तो सम्बेदनशील विषयमा जारी गरिएको विज्ञप्ति यति हल्का र कमजोर हुनु निन्दनिय नै छ तर समाधान खुडा वा खुकुरी होईन । पुर्खाको नाम भजाएर सोसियल मिडियामा चुनौती दिनु वा गालीगलौच गर्नु पनि समाधान होईन । सरकारको परराष्ट्र मन्त्रालय र यस मामिलाका सल्लाहकार तथा सत्ताधारी दलका अध्यक्षको स्पष्टोक्तिमाथि भरोसा र विश्वास गर्ने धैर्यता पनि देखाउनु पर्दछ । सरकारले चाहिने कुरा बोलिसकेको छ, सडकको भाषा सरकारले बोल्दैन र बोल्न हुँदैन पनि । समाधान राजनैतिक र कुटनैतिक च्यानलको प्रयोग नै हो । हाम्रा तथ्यहरु नै हाम्रो दावीका आधारहरु हुन । त्यसमा नै सरकारले जाने हो । व्यवहारिक रुपमा सरकारी कदम कति शसक्त र जायज रुपमा उठ्छ त्यसलाई हेर्नुको विकल्प अरु हुँदैन । नेपाल सरकारको प्रयास भारतीय प्राथामिकतामा परेन भने यसलाई अन्तराष्ट्रियकरण गर्न अघि सर्छ सर्दैन परिक्षण तब मात्र हुन्छ तर जसले जे भने पनि यो सरकारले गर्न नसके कुनै सरकारले सक्दैन भनेर बुझे हुन्छ । राष्ट्रियताको मामलामा मनमोहन सरकारले खुट्टा नकमाई भारतसँग पहिलो पटक असमान संन्धिको कुरा उठाएको थियो भन्ने कुरा कसैले भुल्न हुदैन । मोदी सरकारको पछिल्लो नाकाबन्दीको ओली सरकारले ठिक ढंगले सामना गरेको कुरा झनै ताजा छ । त्यसपछि सुगौली सन्धीको पुनरावलोकन तथा परिमार्जनका लागी भन्दै दुवै देशका प्रबुद्ध समुह गठन भएको र प्रतिवेदन तयार पारेको कुराको पनि हेक्का राख्न जरुरी छ । सरकार कस्तो भनेर तथ्य हेरेर बोल्ने हो । यसका लागि यो सरकारको प्रयासहरुमा शंका मात्र गर्नु काम गर्न बाधा गर्नु शिवाय अरु केही होईन । तर भारतको नियत चाही राम्रो छैन भन्ने कुरा त्यस प्रतिबेदनलाई बुझ्न गरिरहेको आलटाल पनि एउटा गतिलो प्रमाण हो । उसले नेपाली सार्वभौमिकतालाई सम्मान गर्न चाहदैन भन्ने शंका यसबाट पनि हुन थालेको यर्थाथ हो ।

भारत नेपालको असल छिमेकी होइन कसैले हो भन्छ भने उसले या त बुझेको छैन या त उसैको तलुवा चाटेर बाँचेको छ । उहि बेलाको नेपालको शान्तिक्षेत्रको प्रस्ताव अहिले सम्म स्वीकार नगर्ने भारत, तीन पटक सम्म नेपाललाइ नाकाबन्दी गर्ने भारत, हाम्रो असल छिमेकी हुनै सक्दैन । संविधानसभाले जारी गरेको नेपालको संविधानलाई अहिलेसम्म औपचारिक रुपमा स्वीकार नगर्ने भारतलाई नेपालको असंलग्न परराष्ट्रनिती नै मन परको छैन । उसले भारतीय नितीमा नेपाललाई हिँडाउन चाहान्छ । विरोध गर्नेको सत्ता ढाल्ने दाउमा हुन्छ भारत । दरबार ढाल्ने कहाँ दिपेन्द्र हुन र ? त्यो काम भारतकै हो ।

मालदिभ्स होस वा श्रीलंकाको बर्बादीमा भारत कसरी लागेको थियो सबैले बुझेका छन । पाकिस्तान वा बंगलादेशीलाई सोध्न पर्दछ उनीहरु भारतबाट कति पीडित छन् । सवै छिमेकीको बोस बन्ने र दादागिरी गर्ने भारतीय हैकमवाद र विस्तारवादी चरित्र नेपाल सरकारले नबुझेको तर केही बौद्धिक भनाउनेहरुले, केही कानून पढाउने र साना झुण्डमा राजनीति गर्नेहरुले मात्र थाहा पाएको कुरा हो र ? उसले सवैभन्दा कमजोर भुटानलाई आफ्नो आदेश शिरोपर गर्ने एकमात्र देश बनाईसकेको छ र अब उसले ताकेको देश नेपाललाई नै हो । अरु छिमेकी भूपरिबेष्टित नभएकाले त्यति सहज छैन । अहिलेको सिमाना प्रकरण उसको काष्टिङ मात्र हो । यस्ता झलकहरु बेलाबेला देखाउँदै आएको छ । उसको दाउ नेपाललाई हडप्ने नै हो । बर्तमान सरकारले चीन सँग गरेका संझौताहरुका विरुद्ध नेपाललाई आतंकबादीको अखडा बन्दैछ भनेर अमेरिकाले तर्साउने र भारतले सघाउने नाममा नेपाल सरकारलाई दवाउने रणनीति स्वरूप सीमाना हडप्ने एउटा सुनियोजित चाल हो । कश्मिर त बहाना हो त्यसको नक्शा कोर्नु र नकोर्नुले अरु कसैलाई केही फरक पर्दैन किनकी त्यो भूभाग हिजो देखि नै भारतकै कव्जामा थियो तर नेपालको २६ वटा सीमाना जोडिएका जिल्ला मध्ये २३ वटामा भारतीय हस्तक्षेप छ ।

सरकारलाई गाली गरेर चिच्याउनेको दम यो समस्या हल गर्न काविल छैन । उनीहरुले माहौललाई उत्तेजित बनाउन सक्छन र स्थितीलाई असरल्ल बनाई दिन सक्छन । समस्या समाधान गर्ने त सरकारले नै हो । उनीहरुले चिच्याएर सरकारलाई गाली गरेका पनि आफ्नो मानो खाएर होलान भनेर नसोचौं । तिनीहरु नै भारतीय रअ बाट पालित पोषित मानिसहरु पनि हुन सक्छन । उसले नेपाल बरबाद गर्न त्यस्तै मानिस तयार गरेको हुन्छ जो भारतकै विरोध गरेर पपुलर भईरहेका छन तर काम जासुसीको गर्दछन । ज्ञानेन्द्र शाही देखि सुरेन्द्र केसी सम्मका मानिसहरुमाथि नजर बनाए केही फरक पर्दैन । यस्तो गर्नेहरू दुई चार दर्शन केन्द्रमा छन र मिडियामा सधै पुगिरहन्छन । उनीहरुलाई बकाउन ल्याउने र त्यसमा लगानीको चाजोपाजो मिलाउने काम रअ ले नै गरिरहेको हुन्छ । झाँक्री र बोक्सी खेलाउने सेन्टर एउटै हुन्छ ।

यसको मतलब यो होईनकी भारतले गरेको नेपाल विरोधी गतिविधी नागरिक स्तरबाट बोल्न हुँदैन । तर तिनले नियतबस कसैका लागि काम गरिरहेको कुरा उनीहरुका प्रत्येक अभिव्याक्तिका पृष्ठभूमीबाट हेरियो भने नबुझिने कुरा केही छैन । सरकारले मेरो तेरो नभनि काम गर्न थालेको अवस्था छ । ठुला अपराधीहरुको पाता कस्दैछ यसबाट धेरै अतालिएका छन र साना साना नचाहिदा मुद्धामा चर्काचर्का कुरा उठाएर उनीहरु बहुमतको सरकार कसरी गिराउने र देशलाई उही पुरानो किनबेचको सत्तामा पुरयाउने भनेर लागेका छन ।

यसर्थ भुक्नेहरुको आवाज पहिचान गर्नु पर्दछ । राष्ट्रिय स्वभिमानको खबरदारी गर्दा होस वा घरेलु अपराधीहरुको पाता कसिरहदा निकाल्ने जुलुसहरुको नेतृत्व गर्ने होस तिनको पदचाप पछ्याएर टिप्पणी गर्न जरुरी हुन्छ । भुकाईहरु कस्ता छन ? हापशिलो र स्यालको हुईयामा एकोहोरो भैरम लगाउनु पहिले सोच्न पर्दछ र सरकारलाई भारतको नियतमाथि ठिक निशाना दागेर अघि बढ्न विरोध मात्र होईन रचनात्मक सहयोग र सहकार्य हुने सृजनात्मक काम गर्न सक्नु पर्दछ ।


सम्बन्धित शीर्षकहरु

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...