Thursday 18th June 2026

अमेरिकाले नेपाललाइ अन्तर्राष्ट्रिय आतङ्कवादीको अखडाको रूपमा चित्रित गर्यो


तितोपाटी – आतङ्कवादसम्बन्धी संयुक्त राज्य अमेरिकाको वार्षिक प्रतिवेदनले ‘नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने’ खतरा औँल्याएको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको ‘कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८’ मा नेपालबारे पनि चर्चा गरिएको छ।

प्रतिवेदनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएका घटनालाई ‘आन्तरिक आतङ्कवादी गतिविधि’को रूपमा प्रस्तुत गरेको छ। सन् २०१८ मा नेपालमा कुनै अन्तर्राष्ट्रिय आतङ्कवादी गतिविधि नभए पनि आन्तरिक आतङ्कवादका घटनाहरू भएको प्रतिवेदनमा जनाइएको छ।

प्रतिवेदनमा भनिएको छ, “सन् २०१७ को अन्त्यतिर सम्पन्न प्रान्तीय र सङ्घीय चुनावका बेला मतदातालाई तर्साउने अथवा सरकारी अधिकारीहरूलाई निसाना बनाउने घटना भए पनि सन् २०१८ मा आन्तरिक आतङ्कवादका घटना कमै देखियो।”

प्रतिवेदनमा नेपालबारे उल्लेख गरिएकाका मुख्य बुँदा यस्ता छन्:
-सन् २०१८ मा अन्तर्राष्ट्रिय आतङ्कवादी घटना नभएको
-सन् २०१७ को तुलनामा सन् २०१८ मा आन्तरिक आतङ्कवादका कम घटना भएको
-सन् २०१८ मा भएका अधिकांश घटनाका लागि नेपाल सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई जिम्मेवार ठहर्‍याएको
-‘विप्लव समूह’ का गतिविधिमाथि नेपालका सुरक्षा निकायहरूले निगरानी राख्ने क्रम जारी राखेको
-खुला सिमाना र काठमाण्डूस्थित देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा व्यवस्थाका कारण नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने
-इन्डीअन मुजाहिद्दीन नामक सङ्गठनले नेपालमा पनि आफ्ना गतिविधि विस्तार गरेको र उसका गतिविधि सञ्चालनका लागि नेपाल अहिले सबैभन्दा ठूलो अखडा बनेको
-नेपालमा विमानस्थलमा सुरक्षा व्यवस्था कमजोर र अपर्याप्त
-काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीहरूको प्रि-स्क्रीन नहुने गरेको र डेटाबेसमा ल्यान्डिङ डेटा समावेश नगर्ने गरिएको
-यात्रीहरूको शरीरको सुरक्षा जाँच सामान्य खालको भएको
-यात्रासम्बन्धी कागजपत्रको सुरक्षा जाँच गर्ने ‘अल्ट्राभाइलेट लाइट’ को व्यवस्था विमानस्थलमा नभएको
-सूचनाका लागि नेपाली अध्यागमनका अधिकारीहरूसम्म पहुँच सजिलो भए पनि उनीहरूसँग नगण्य सूचना हुने
-भारतसँगको खुला सिमानाका सुरक्षा जाँच चौकी थोरै भएको र एउटा जाँच चौकीमा एक जनासम्म हुने गरेको उदाहरण
-सीमा काट्नेहरूलाई न त रोकिने गरिएको न त सुरक्षा जाँच गर्ने गरिएकोले निगरानीलाई उनीहरूले छल्न सक्ने अवस्था रहेको

साभार-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...