जेम्स वेब स्पेस टेलिस्कोप बाट प्राप्त नयाँ तथ्यांकले नेप्च्यून ग्रहको चन्द्रमा “नेरेइड” बारे रोचक कुरा देखाएको छ। वैज्ञानिकहरूका अनुसार नेरेइड सौर्यमण्डलको सुरुवाती समयमा भएका ठूलो विनाशबाट बचेको पुरानो चन्द्रमा हुन सक्छ।
Neptune सूर्यबाट सबैभन्दा टाढाको आठौं ग्रह हो। यसको चन्द्रमाहरू अरू ठूला ग्रहहरूभन्दा फरक छन्। बृहस्पति, शनि र युरेनसका चन्द्रमाहरू व्यवस्थित रूपमा ग्रहकै दिशामा घुम्छन्। तर नेप्च्यूनको सबैभन्दा ठूलो चन्द्रमा ट्राइटन भने उल्टो दिशामा घुम्छ।
वैज्ञानिकहरूको अनुमान अनुसार ट्राइटन सुरुमा नेप्च्यूनकै चन्द्रमा थिएन। यो धेरै टाढाको “कुइपर बेल्ट” नामक बरफयुक्त क्षेत्रमा बनेको हुन सक्छ। पछि नेप्च्यूनको गुरुत्वाकर्षणले यसलाई तानेर आफ्नो वरिपरि ल्याएको हुनसक्छ।
जब ट्राइटन नेप्च्यून नजिक आयो, त्यसले त्यहाँ रहेका पुराना चन्द्रमाहरूसँग ठोक्किएर धेरैलाई नष्ट गरेको वैज्ञानिकहरूको भनाइ छ। अहिले नेप्च्यून वरिपरि रहेका केही साना चन्द्रमाहरू त्यही विनाशका टुक्राजस्तै देखिन्छन्।![]()
तर नयाँ अध्ययनले “नेरेइड” भने त्यो ठूलो टक्करबाट बच्न सफल भएको हुन सक्ने देखाएको छ। वैज्ञानिकहरूका अनुसार यो सम्भवतः नेप्च्यूनको पुरानो चन्द्रमा प्रणालीको अन्तिम अक्षुण्ण अवशेष हो।
Nereid बारे वैज्ञानिकहरूलाई धेरै जानकारी छैन, किनकि यो पृथ्वीबाट धेरै टाढा र निकै धमिलो देखिन्छ। यसको स्पष्ट तस्बिर पनि अहिलेसम्म छैन। १९८९ मा Voyager 2 ले खिचेको धमिलो फोटो मात्रै उपलब्ध छ।
नेरेइड नेप्च्यूनको निकै बाहिरी भागमा घुम्छ र यसको कक्षा सामान्य गोलो नभई अनौठो आकारको छ। यसले नेप्च्यूनलाई एकपटक घुम्न पृथ्वीको हिसाबले लगभग ३६० दिन लगाउँछ।
Nereid को नाम ग्रीक कथामा उल्लेख हुने समुद्री अप्सराहरूबाट राखिएको हो। यो चन्द्रमा करिब ३३८ किलोमिटर चौडा छ। वैज्ञानिकहरूको अनुमान अनुसार नेरेइड सम्भवतः नेप्च्यून बनेकै सुरुवाती समयमा बनेको पुरानो चन्द्रमा हुन सक्छ। तर त्यतिबेला नेप्च्यून वरिपरि कस्ता चन्द्रमाहरू थिए भन्ने कुरा अझै स्पष्ट छैन।
Triton जस्तै नेरेइड पनि “अनियमित चन्द्रमा” समूहमा पर्छ। यसको अर्थ, यसको कक्षा सामान्य चन्द्रमाजस्तो सीधा र व्यवस्थित छैन। वैज्ञानिकहरू पहिले यसलाई पनि बाहिरबाट आएको वस्तु अर्थात् कुइपर बेल्टबाट आएको मान्थे।
तर James Webb Space Telescope ले नयाँ तथ्य पत्ता लगाएको छ। टेलिस्कोपको अध्ययनले नेरेइडको सतहमा धेरै पानीको बरफ भएको देखाएको छ। यसको बनावट कुइपर बेल्टका वस्तुभन्दा युरेनस ग्रहका सामान्य चन्द्रमासँग बढी मिल्दोजुल्दो देखियो। यसले नेरेइड वास्तवमै नेप्च्यूनकै पुरानो चन्द्रमा हुन सक्ने संकेत दिएको छ।
वैज्ञानिकहरूले कम्प्युटरमा सिमुलेशन गरेर पनि परीक्षण गरेका थिए। त्यसमा देखियो कि जब ट्राइटन नेप्च्यून नजिक आयो, त्यसले धेरै पुराना चन्द्रमाहरूलाई नष्ट गर्यो। तर नेरेइड भने भाग्यमानी रूपमा बच्न सफल भयो र अहिलेको अनौठो कक्षामा पुग्यो।![]()
यस घटनाले ट्राइटनलाई पनि अहिलेको जस्तो नेप्च्यून नजिकको कक्षामा ल्याएको हुन सक्छ। वैज्ञानिकहरूका अनुसार यो घटना सौर्यमण्डल बनेको सुरुका १० देखि २० करोड वर्षभित्र भएको हुन सक्छ।
वैज्ञानिक म्याथ्यू बेल्याकोभका अनुसार अब नेरेइडबारे अझ धेरै अध्ययन गर्न आवश्यक छ। यदि यो वास्तवमै नेप्च्यूनको पुरानो चन्द्रमा हो भने, त्यसले “बरफयुक्त विशाल ग्रहहरू” वरिपरि चन्द्रमा कसरी बन्छन् भन्ने कुरा बुझ्न मद्दत गर्नेछ।
हालसम्म नेप्च्यून नजिक पुगेको एकमात्र अन्तरिक्ष यान Voyager 2 हो, जसले १९८९ मा केही तस्वीर खिचेको थियो। भविष्यमा नेप्च्यूनमा नयाँ अन्तरिक्ष मिसन पठाइयो भने मात्रै नेरेइडको वास्तविक रूप र इतिहास अझ स्पष्ट रूपमा बुझ्न सकिने वैज्ञानिकहरूको भनाइ छ।