Saturday 28th September 2024

तिहारमा घरदेशकी दिदीलाइ परदेशी भाइको पत्र


प्यारी दिदी
खाडीको यो विरानो देशबाट परदेशी भाइको न्यानाे माया एवं सम्झना ।
म यहाँ परदेशमा अारामै छु र सो त्याहाँ पनि सबैमा कुशल मंगल नै होला भन्ने कामना गर्दछु । ठुला बढाको अाशिर्वाद लिने दशैं चाडमा नियास्रीएको यो परदेशी मन सामान्य हुन नपाउँदै कति छिट्टै तिहार पनि अाइपुग्यो । दशैं सकिने बित्तिकै दिदी-बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरु दिएर दाजूभाईलाई भाईटिकाको निम्तो दिने हाम्रो तिर चलन छ । सोही अनुसार नै दिदी तिमीले पनि घरमा आएर निम्तो गरयौ भनेर आमाले मलाई फोन मार्फत  भन्नु भएको थियो ।

के गर्ने अर्काको मुट्ठीमा जकडिएकाे परदेशीको जिन्दगी दिदी, यसपाली पनि तिहारमा घरविदा अाउन पाइएन । भाइलाइ टिका लगाउन नपाए पनि तिहार राम्ररी मनाउनु है दिदी । चारै तिर मखमली र सयपत्री फुल ढकमक्क फुलेको होला है, गाउँमा खुब रमाइलो होला ।  गाउँका सम्पूर्ण घरहरु लिपपोत भएर उज्यालो भएका होलान । सबैको घरमा रंगीबिरंगी सजावट सजाएको होला है। दिदी बहिनीहरु भाईटिकाको तयारी गर्दै होलान् । हजुर पनि भाईटिकाको तयारी गरिसक्नु भयो होला। कतिका घरमा सेलरोटी, तरुल , अचार मिठाई दहि लगायतका मिष्ठान्न बनाउने ( पकाउन ) तयारी होला । हाम्रो परम्परा रितिरिवाजलाई बचाउन गाउँका सबै छोरी चेली छोरा चेलाहरु मिलेर धेउसी भैलो खेल्दै होलान है। गाउँमा चारै तिर झिलिमिली भएको होला । सबैले आफ्नु आफ्नु दक्ष अनुसार तिहार मनाउदै गरेका होलान । अफगानिस्तानबाट पारीघरको साँइलो दाई, ईराकबाट माईलो दाई दशै र तिहार मान्न आए होलान । कतारबाट तल्ला घरे भाई आउँदै छ तर हावाइ टिकट नमिल्दा लामो बाटो पारगर्दै आउँदै छ । साउदी, बहराइन , दुबइ , मलेसिया , बङलादेशबाट काठमाडौं हुदै भाई टिकाको दिनसम्म हजारौ दाजुभाई घर आउदैछन होला । म र माथिल्लो कान्छो काकाको छोरा भने यो तिहारमा बिदा मिलेन र आउन पाइएन । हाम्रो तर्फबाट पनि तिहार मनाउनु होला ।

दिदी, तिमीलाई पनि टिका लगाउनुपूर्व भाईलाई विशेष पूजा गर्नका लागि भुइँमा चकटी अोछ्याएर बसेको ठाँउ वरिपरि कलशमा तेल-पानी राखेर हरियो दूवोबाट पातलो धारा बगाउँदै पाँचपटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गर्ने कति रहर होला हगि ? अक्षता, फूल, चन्दन, धानलाई भूटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिषेक गर्दै पूजा गर्न मन लागेको होला । यमराजको प्रतिक मानेर विमिरा (एक प्रकारको ठूलो कागति प्रजातिको फल)को पूजा गरिसकेपछी, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फूटाई ढोका ढ्याप्प लगाएर काललाई नआवोस भनेर छेक्नको तिम्रो आसा कति छ होला हगि , कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजूभाईको आरोग्य अनि दिर्घायूको कामना गर्ने मन कति होला है ।

रोएर बसेको छु दिदी परदेशमा
बस्नु परेको छ ५०° को तातो घाममा !
याद आउँछ दिदी सप्तरंगी टिका निधारमा
बाँचे छु भने फर्की आउनेछु अर्को तिहारमा !
दिन,महिना ,साल बित्यो यो बिरानो ठाउँमा
यसपालीको तिहारको गित घकिन्न्दै छ रे हाम्रो त्यो गाउँमा !!
कुन दिनमा विदेश पसेछु,दुखी मेरो कर्म
कसले सुनी देला, कसले बुझी देला मेरो मर्म !!
परदेशी भाईलाई पर्खी बस्दा
ओईलीसक्यो होला सयपत्री र मखमली
माफ गर्नु है दिदी आउन सकिन यसपाली!!
>नगाँस्नु है दिदी सयपत्री र मखमली फूलको माला
मुलबाटो र पिंढीमा पर्खी बस्नु है दिदी
फर्की आउनेछु अर्को साल !!

जब मलाई कुनै डरले सताउछ नि दिदी, त्यस बेला एउटै अनुहार देखिरहेको हुन्छु , जो सधै मेरो छाया जस्तो साथ दिन्थ्यो । आज मेरो त्यो दिदीको याद आयो । याद आउँछ त्यस दिनको जब म चकचक गर्दा शिक्षकबाट सधै गाली खानु हुन्थ्यो। जब रिसले रातो पिरो भएर मलाई भन्थे पख तलाई छोड्दिन,आमाको हातबाट पिटाई खुवाईन भने म तिम्रो दिदी होइन । यस्तो कुरा सुन्ने बितिकै अचानक म हातमा चकलेट लिएर उभिदिन्थे ,यसरी उभिएको देख्दा मलाई अङकामल गरेर माया गर्नु हुन्थ्यो । याद आउँछ त्यसदिनको जब हामी स्कुलबाट पढेर आउँदा मलाई धेरै भोक लागेको बेला छिमेकीको घरबाट भएपनि भात मागेर ल्याईदिनु भएको । सधै तपाईबाट नै सबै गृहकाय गराई रहन्थें । दिदी तपाईले भन्नु हुन्थ्यो मलाई थाहा छैन तिमी कहिले ठुलो भयौ भनेर कि मेरो हर गल्तीमा मलाई सम्झाउदै बस्थ्यौ । घरबाट स्कुल सम्म सँगसँगै हिड्दथ्यौ । यदि कसैले कुदृष्टिले देख्यो भने त्यसको पुरा ख्याल गर्दथ्यौ । दिदी मैले आफ्नो होस सम्हालेदेखि हजुरले मलाई प्रतेक वर्ष तिहारामा भाईटिकाको दिन टिका लगाएको झलझलती याद आईरहेको छ । तर दिदी अब त न मैले स्कुलको गृहकार्य गराउन सक्छु, न हजुरको ख्याल गर्न, न त म सँगसँगै हिड्न सक्छु । किन कि म हराएको छु प्रवासमा जुन मेरो बाध्यता र बिवस्ता पनि हो । अब त खाली जुनेली रातको चन्द्रमा र तारा हरुमा हजुरको अनुहार देख्ने कोशिस गर्छु । यहि हो दिदी हामी परदेशीएका भाईहरुको काथा ब्यथा ।

छोरा मानिसको जिवन सोच भन्दा सजिलो नहुदोरहेछ दिदि ! मन मुटु भावना लाई बिसाल समुन्द्र जस्तो बनाएर बस्नु पर्दोरहेछ , जहाँ आफ्नो हरेक दुख-सुख , उतार चढाव अटाउने क्षमता राख्नु पर्दोरहेछ , मनमा जति नै दुख कस्ट भएपनि अनुहारमा सधै हासो छरेर बस्नु पर्दो रहेछ , हामिलाई घरको जिम्मेदारिलाई राम्रो सङ्ग निभाउन पर्दोरहेछ , घरमा कोहि कसैलाई चिन्ता नहोस भनेर जति दुख गरेपनि आफ्नो दुख लुकाउनु पर्दोरहेछ , दिदि ! ! हाम्रो समाज कस्तो छ , एकचोटि तपाई आफै सोचनुस त , जब एउटा छोरि मानिस घरबाट बिदाई भएर जान्छ पुरै घर परिवार समाजको मानिस रुन्छ ,तर एउटा छोरा मानिस घरबाट बिदा हुन्छ भने उसको कुरा पनि गर्दैन , म पनि त आमाको सबै भन्दा प्यारो छोरा थिए , तर आज मैले आफ्नो पहिचान बनाउनको लागि हजारौ हन्डर खादै बिदेशिएको छु , हामि छोरा मानिसलाई परिवारको जरुरत पुरा गर्न लाई स्वयम आफ्नो इच्छालाई हत्या गरेर बाच्नु पर्दोरहेछ ! हामिलाई आफ्नो मनलाई शान्त राख्ने होनर राख्नु पर्दोरहेछ , दिदि ।

निधारमा रेखी लगाइ सप्त रंगी टिका भर्थ्यौ
मेरो प्यारो माइती राजा भन्दै पूजा गर्थ्यौ!!
चेली तिम्रो सयपत्री ओईलिसक्यो यसपाली
परदेशमा माइतीको निधारै खाली भो यसपाली!!
फूलैको फूलको वरिपरि तेलको रेखी हाल्दा
मुहारै उज्ज्यालो हुन्थ्यो दियो अगरवति बल्दा!!>
दुखाएँ मन यसपाली नि नगरेस है गाली |
परदेशमा माइतीको निधारै खाली भो यसपाली!!
परिश्रमले पहाड फोडि ग्रह दशा टारेकै थियो ,
गरिवको थोरै भेटीले मन खुशी पारेकै थियो !!
न मखमली,न सयपत्री खालि छ पूजाको थाली
परदेशमा माईति राजको निधारै भो खाली !!

धान नफलेर सबै बिग्रिएछ अरे । यो चाड पर्व त कसै कसैको लागि दशा पो भएछ । के गर्ने दिदी हामीलाई सबैले ठगे जस्तो छ । हामी नेपालीलाई राज्य ले ठग्यो, नेपालीलाई समयले ठग्यो, नेपालीलाई नेपालीले ठग्यो । नेपालीलाई नेपालका नेता भनौदाहरुले ठ्ग्यो, हुँदा हुँदा नेपालीलाई नेपालीले यो बिदेशमा पनि ठग्न थाले । भागेका नेपालीहरुलाई नेपाल पठाइ दिन्छु भनेर पैसा लिने अनी नपठाउने गरेर हैरान छ यहाँ । राम्रो कम्पनी हो भनेर पठाउने अनी यो मुलुकमा भेडा बाख्रा र उट चराउने काममा लगाउने मेनपावरहरुलाई कार्बाइ हुँदैन । त्यसैले युरोप भनेर पठाउने भरै दुबै ,कतार , साउदी पठाउने दलाल हरुको बिगिबिग बढेको छ , कहिले काहि त बेकार लाग्छ परदेशको जिवन दिदी । आफ्नो परिचय त गाउँमा बनाएकोथिए । सबैले चिन्थे गाउँमा, तर त्यो नामलाई विदेशमा राम्रोसँग चिनाउन सकिन ,दिदी । म त अलिक कालो बर्णको परेछु त्यसैले मलाई त यहाँ नेपाली भनेर मेरै नेपालका दाजुभाइले मात्र चिन्छन बाकीले त कि बंगलादेशी कि ईण्डियन या पाकिस्तानी भनेर बोलाउछन । किन की निधारमा नेपाली लेखेको छैन । हामी नेपालीहरुको अनुहार धेरै देशका मान्छे सँग मिल्दो रहेछ । अरुको के कुरा मैले नै कती नेपाली दाजुभाइहरुलाई ईण्डियन, बंगाली, फिलिपिनी भनेर बोलाएको पनि छु । दु:ख लाग्छ नेपालीलाई नेपालीले अरुदेशको होस भनेर सोध्दा । आखिर हाम्रो परिचय त्यो सगरमाथा र वीर गोर्खाली मै सिमित भएन अब । कामदार जन्माउने देश , बलात्कारीको देश , भ्रस्टाचारीको थलो भएको देश , बिमानस्थलमा सामान हराउने एक मात्र देश , सुरक्षा नभएको देश भन्न थाले अब बिदेशीहरुले । कसरी पर्यटन बर्ष २०२० सफल होला ? तर पनि त्यही देशका नेपाली हामी हौ । कहिले होला दिदी हाम्रो देशमा बिकास र समृध्दि?  कहिले होला रोजगारीको सृजना ताकि हामी जस्ता लाखौ युवा आफ्नो घर परिवारको भविश्य निर्माण गर्न आफ्नो घर परिवारबाट टाढिएर विदेश आउनु नपरोस ।

सप्तरङी टिका, सयपत्री र मखमली फुलको आशिर्बाद लिने परम्परालाई निरन्तरता दिन सकिन दिदी । परिस्थितिले जहाँ पुर्याए पनि, जिन्दगीको अविरल यात्रामा कहिल्यै ठेस नलागोस। बाँचुन्ज्ल नमेटिने गहिरो चोट कहिल्यै नलागोस । ठुलो महलको सुख-सुविधा,अराम नभए पनि हृदयको खुशी कहिल्यै नटुटोस। सधै हाँसाे उंमग लिएर बाँचिरहनु यहीँ नै भाईटिकाको दिन मेरो फोटोमा भनेपनि टिका लगाएर आशिर्वाद दिनु है ।

अन्तमा दिदी आजलाई बिदा हुन चाहन्छु । आसा छ, समय र परिस्थितिले साथ दियो भने यो परदेशी भाई आउने भाईटिकामा अवश्य हजुरको हातबाट सप्तरङि टिका निधारमा लागाउने छु ।

उही परदेशी भाइ
जयनारायण माझी थारू
मोरङ नेपाल
हाल – कुवेत


सम्बन्धित शीर्षकहरु

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

भारी वर्षाका कारण मुम्बईको अवस्था खराब छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा…

प्रतिकृयाहरू
...