Monday 12th October 2026

नेपाली सेनाको भर्ना प्रकृयामा नै आर्थिक अनियमितता


तितोपाटी – नेपाली सेनाको सैन्य भर्ना छनौटमा अनियमितता भएको पाइएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार अनियमिततामा संलग्न ४ सैनिकसहित २७ जनामाथि अनुसन्धान गरेर कारवाही अगाडि बढाइएको छ। निर्देशनालयले साउन १९ गते ४० भर्ना केन्द्रबाट ५ हजार ८ सय जना सैन्य पदको भर्नाका लागि विज्ञापन प्रकाशित गरेको थियो। भर्ना प्रक्रिया सुरु भइसकेको छ। तर, केही भर्ना केन्द्रमा कीर्ते तथा आर्थिक लेनदेन भएको पाइएपछि त्यसमा संलग्न ४ सैनिक र अन्य २३ जनाविरुद्ध सेनाले कारवाही अगाडि बढाएको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको नेतृत्व सम्हालेदेखि भर्ना छनौट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र स्वस्थ प्रतिस्पर्धात्मक बनाई संगठनमा योग्य व्यक्तिलाई ल्याउने कुरामा जोड दिँदै आएका छन्। जसअन्तर्गत गत वर्षदेखि भर्ना छनौट प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रमा ‘प्रमाणिकरण कक्ष’ राखेर बायो मेट्रिक मेसिन प्रयोग गरी उम्मेदवारको प्रमाणीकरण तथा कीर्ते नियन्त्रण गरिँदै आएको छ।

निर्देशनालयका अनुसार यसपटकको विज्ञापनमा उत्तर पश्चिम पृतना भर्ना केन्द्रमा नक्कली परिचयपत्र बनाई कीर्ते गरेको आशंकामा तीन जना, पाँच नम्बर बाहिनी अड्डा कैलाली केन्द्रमा आर्थिक लेनदेन गरेको आशंकामा एक सैनिकलाई निगरानीमा राखेर अनुसन्धान कार्य अघि बढाइएको छ।

सोही केन्द्रमा नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाउने ६ जना वास्तविक उम्मेदवार तथा ९ जना नक्कली परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी गरेको छ भने संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको छ।

यस्तै, सैन्य भर्ना केन्द्र २४ नम्बर बाहिनी अड्डा जुम्ला तथा ५ नम्बर बाहिनी अड्डा कैलालीमा नक्कली परीक्षार्थी पठाई परीषा दिन लगाएका ४ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। वास्तविक उम्मेदवारको खोजी भइरहेको छ। साथै अन्य तीन भर्ना केन्द्रमा आर्थिक लेनदेनमा संलग्न ४ जना गैरसैनिक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।
-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ…

कुवेत, १२ अक्टोबर। साउदी अरबका विमानस्थलमा भएका घातक आक्रमणपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला इरानले साउदी अरब र यमनबीच संवाद सहजीकरण…

प्रतिकृयाहरू
...