Tuesday 5th May 2026

भिसा बिनाको बोलिभिया यात्राले एयरपोर्टमै बास


तितोपाटी- पछिल्लो जुनमा दक्षिण अमेरिकी राष्ट्रहरूको भ्रमण मा गएको थिएँ। जीवनभरिमा कम्तीमा १०० देश पुग्ने लक्ष्य अनुरूप २३ औं ब्राजिल, २४ औं बोलिभिया र २५ औं पेरू हुने गरी जाने योजना बन्यो। पेरू र ब्राजिलको दूतावास यहीँ फिनल्याणडमा भएका कारण मलाई त्यहाँको भिसा पाउन खासै कठिन भएन। बोलिभियाको भने दूतावास स्वीडेनमा मात्र रहेछ। भिसाको लागि पासपोर्ट कुरियर गरेरमात्र पठाउनुपर्ने भयो।

सोही बेला थाहा भयो, नेपालीहरूलाई अनअराइभल भिसा दिने न्यून अमेरिकी देशहरूमध्ये बोलिभिया एउटा रहेछ। त्यसैले पनि लुकेर संयुक्त राज्य अमेरिका छिर्न चाहने नेपालीहरू पहिला बोलिभिया हुँदै जाने रहेछन्। अनअराइभल भिसा र स्वीडेनमा लाग्ने भिसा शुल्क लगभग एउटै। मैले पनि एयरपोर्ट पुगेर अनअराइभल भिसा नै लिने निर्णय बनाएँ।

फिनल्यान्डको राजधानी हेल्सिन्कीबाट नेदरल्याण्डको राजधानी एम्स्टर्डम हुँदै ब्राजिलको रियो दे जनेइरो पुगेँ। त्यहाँ १ दिन बसेर अर्को दिन ब्राजिल अनि दक्षिण अमेरिका कै ठूलो सहर साओ पाउलो पुगेँ। त्यहाँ गैरआवासीय नेपाली संघ ब्राजिलका अध्यक्ष गणेश गुरुङ, अनि उहाँसँगै बस्नुहुने दिवान गुरुङसँग भेट भयो। उहाँहरूमार्फत् ब्राजिलमा रहनु भएका थुप्रै नेपालीहरूको बारेमा जानकारी पाएँ।

२ दिनको साओ पाउलो बसाइँ पश्चात बोलिभियाको राजधानी लापाज उड्ने योजना अनुरूप विमानस्थल पुगेँ। मेरो प्लेन बोलिभिया एयरको बोलिभियाको सहर सान्ता क्रुज हुँदै लपाज पुग्ने थियो। बेलुका ६:२५ मा साओ पाउलोबाट उडेर ८ बजे बेलुका सान्ता क्रुज अनि त्यहाँ १ घण्टा ट्रान्जिटपश्चात ९ बजे राति त्यहाँबाट उडेर १० बजे राति लापाज़ पुग्ने स्केडुयल थियो।

मैले टिकट काट्ने बेलामा १ घण्टा ट्रान्जिट पर्याप्त हुन्छ होला भनेर त्यसरी काटेको थिएँ। मलाई थाहा थिएन कि भिसा जहाँ पहिलो ट्रान्जिट हुन्छ त्यहाँ लिनुपर्ने रहेछ।

पहिलो फ्लाइटमा बोलिभियाको सान्ता क्रुज सहर ८ बजे पुगेँ। मलाई अध्यागमनमा भिसा मागियो, मैले भिसा छैन अनअराइभल अप्लाई गर्ने हो भनें। त्यसो भए एकछिन त्यहाँ पर्खनुस् भन्दै कर्मचारीले रोके। अन्य सबै अध्यागमनबाट गए। सबै गएपछि मलाई बोलाएर त्यहाँका एक कर्मचारीले मेरो कागजात मागे। मैले कुनै समस्या नआओस् भनेर सबै कागजपत्र तयारी गरेर लगेको थिएँ।

उनले सबै कागज राम्ररी हेरे अनि आफ्नो मोबाइलमा सबै फोटो पनि खिचे। सायद उनले ह्वाट्स एपमार्फत् फोटो कसैलाई पठाउँदै थिए।

होटल बुकिङको कागज देखाउँदै, यो होटलको फोन नम्बर छ? भनी सोधे।मैले जिमेलको बुकिङ इमेलमा भएको फोन नम्बर दिएँ। उनले सही हो होइन बुझ्नको लागि उक्त होटलमा फोन गरे। कुरा सही भएको पक्का भएपछि प्लेनको फर्कने टिकटको बारेमा पनि सोधखोज गरे।

उनले मेरो समय निकै खर्च गरिरहेका थिए। मेरो प्लेन छुट्छ कृपया छिटो गर्दिनुस् न’,मैले भनें।तर उनले सुनेको नसुनै गरे। उसो त उनले अङ्ग्रेजी पनि बुझ्थेनन्, मैले गुगल ट्रान्सलेटमार्फत् उनको त्यहाँको स्पेनिस भाषामा भनिरहेको थिएँ। उताबाट मेरो प्लेन अब केही बेरमा उड्नै आँटेको माइकिङ गर्यो। मैले मेरो प्लेन छुट्न आँट्यो भनेर उनलाई अत्ताउन खोजें तर उनले आफ्नो देशको कर्मचारीतन्त्रको परिचय दिएर छाडे। मलाई त्यसपछि हाम्रो देशमा पनि यसरी नै विदेशीले दुःख पाउँछन् होला भन्ने लाग्यो।

मेरो प्लेन छुट्यो, प्लेन उडेको आवाज प्रष्टै सुनियो।

‘ल सबै ठीक छ, १०५ डलर भिसा फि तिर अनि जाऊ’,उसले भन्यो। मैले पैसा तिरे अनि हतार हतार बोलिभिया एयरको काउन्टरमा गएँ। त्यहाँको कर्मचारीले ‘प्लेन छुट्यो माफ गर्नुहोला’ भनिन्।मैले अनुरोध गरेपछि अर्को प्लेन बिहान ५ बजेको बिनाशुल्क मिलाइदिइन्।

रातको करिब १० बजिसकेको थियो। बिहान ५ बजेको प्लेन भेट्न ४ बजे एयरपोर्ट पुग्नुपर्ने। नजिक होटल पनि रहेनछ, त्यसैले म रातभर सान्ता क्रुजको एयरपोर्टमा बस्नु पर्यो। त्यहाँको लकर रूमको कुर्सीमा म रात काटेर बिहान लापाज् पुगेँ।
साभार- सेतोपाटी


सम्बन्धित शीर्षकहरु

पश्चिम बंगालको पछिल्लो चुनावी परिणामले Bharatiya Janata Party (भाजपा) सत्तातर्फ उन्मुख देखिएसँगै दार्जिलिङ–कालिम्पोङ क्षेत्रको गोर्खा राजनीति फेरि राष्ट्रिय बहसको केन्द्रमा…

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

प्रतिकृयाहरू
...