Sunday 2nd August 2026

७-० गोल संगै कुवेतद्वारा नेपालको लज्जास्पद हार


तितोपाटी- कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।

बिहिबार राति भएको पहिलो खेलमा नेपालले कुवेतसँग कुवेतस्थित कैफानको मैदानमा ७-० गोलको लज्जास्पद हार व्यहोरेको हो । जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा कुवेतलाई जित दिलाउन युसेफ नासिरले दुई गोल गरे । यस्तै अब्दुल्लाह मावी र फहाद अल हाजेरी, बदेर अल मुट्वा, रिडा हानि र हुसेन अल मोसाविले एक एक गोल गरे ।

बलियो टिम कुवेतविरुद्ध पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको थियो । खेलको छैटौं मिनेटमा नासिरले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा अल हाजेरीले गोल गर्दै कुवेतलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा नेपालमाथि कुवेतले गोलको वर्षा गर्यो । खेलको ५१ औं मिनेटमा नासिरले व्यक्तिगत दोस्रो गोल कुवेतलाई ३-० को अग्रता दिलाए । ५९ औं मिनेटमा अब्दुल्लाहले गोल गर्दा कुवेत ४-० ले अघि रह्यो । खेलको ८६ औं मिनेटमा अल मुट्वाले गोल गर्दै घरेलु टोलीको अग्रता ५-० को बनाए । त्यसपछि थप गरिएको इन्जुरी समयमा नेपालले दुई गोल खायो । इन्जुरी समयको चौंथो मिनेटमा हानिले गोल गर्दै कुवेतको अग्रता ६-० र इन्जुरी समयको सातौं मिनेटमा मोसाविले गोल गर्दै कुवेतलाई ७-० को जित दिलाए ।

उक्त खेलमा कुवेतस्थित कर्यरत नेपालीहरुको बाक्लो उपस्थित रहेको थियो सुरुवाती समयमा देखिने निकै उत्साहित रहेका दर्शकहरु अन्तिम समय सम्म पनि हुटिंग निरन्तर जारी रहेको थियो। त्यसै क्रममा ७-० को लज्जास्पद हार संगै उपस्थित दर्सक निरास बन्दै खेल मैदान बाट बाहिरिएका थिए।

कुवेतसँगको फराकिलो हारसँगै समूह ‘बी’ को नेपालले विश्वकप छनोटमा खराब सुरुवात गरेको छ । कुवेतले भने पहिलो खेलमा ३ अंक जोडेको छ । यस समूहमा जोर्डनले पनि विजयी सुरुवात गरेको छ । जोर्डनले चाईनिज ताईपेलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

अब नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले जलेब अल-शुयुख क्षेत्रमा सञ्चालन गरेको व्यापक सुरक्षा अभियानका क्रममा सुरक्षा कारणले खोजिएका तथा आवास (रेजिडेन्सी) र श्रम कानुन…

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ।…

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

प्रतिकृयाहरू
...