Tuesday 28th July 2026

नेपाली महिला कामदारमाथि चरम शोषण, मागपत्र प्रमाणीकरणमा रोक


काठमाडाैँ – रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ ।

नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो । वैदेशिक रोजगारीका लागि साउदी पुगेका कैयौँ नेपाली महिलाले पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएकोलगायत गुनासो आएसँगै दूतावासले नेपाली महिला कामदारको अवस्थाका बारेमा सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणका क्रममा न्यूनतम पारिश्रमिकसमेत नदिइएको, समयमा महिलासम्बन्धी रोगको औषधोपचार नपाएको, बिमा नगरेको, विभिन्न बहानामा अन्यत्र काममा लगाउने गरेको भेटिएको थियो । मागपत्रभन्दा बाहिर गएर तीन वर्षको करार गरेको, व्यवस्थापन वा सुपरभाइजरसँग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको, गुनासोको निवेदन दिँदा नलिएको, पोशाक व्यवस्था नगरेको, बजार जाँदा ‘अकामा’ (साउदीको परिचयपत्र) तथा राहदानी साथमा लान आफूहरुलाई नदिएको ती महिलाहरूले कामदारले बताए ।

नेपाली महिला कामदारले आवासमै रहेको पसलमा महङ्गोमा सामान खरीद गर्न बाध्य बनाएको, दुई तहभन्दा बढी कम्पनीमा आपूर्ति गर्ने गरी भर्ना गरेको लगाययत गुनासो गरेका थिए । सर्वेक्षणका क्रममा भेटिएका प्रायः सबै महिला कामदार सप्लाई र कन्ट्राक्टिङ कम्पनीमा आएको पाइएपछि दूतावासले सो कदम चालेको हो । सर्वेक्षणपछि पनि अन्य स्थानबाट महिला कामदारले आफू शोषणमा परेको गुनासो गर्ने क्रम नरोकिएको दूतावासले जनाएको छ ।

-रासस


सम्बन्धित शीर्षकहरु

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

प्रतिकृयाहरू
...