Monday 24th August 2026

कपिलवस्तु स्थित रंगशाला निर्माणको काम रोकियो


तितोपाटी-सदरमुकाम तौलिहवामा निर्माण गर्न सुरु गरिएको रंगशालाको निर्माण कार्य रोकिएको छ।

कपिलवस्तु नगरपालिका र रंगशाला निर्माण हुने जग्गा धनी बुद्ध पद्म माध्यमिक विद्यालयबीच आपसी सहमति हुन नसक्दा रंगशाला निर्माण कार्य रोकिएको हो। ४८ करोडको लागतमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्न डीपीआर तयार गरी वहुवर्षे योजनाअन्र्तगत रंगशाला निर्माण कार्य सुरु भएको थियो। विद्यालयको रोकावटका कारण अहिले काम रोक्नु परेको कपिलवस्तु नगरपालिकाका इन्जिनियर सुनील केसीले बताए।

आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले विनियोजन गरेको ७५ लाख रुपैयाँमध्येबाट पहिलो वर्ष रंगशाला निर्माण कार्य सुरु गर्न डीपीआर खर्च र कन्टिन्जेन्सी रकमबाहेक नगरपालिकाले ६० लाख रुपैयाँको टेण्डर आह्वान गरेको थियो। टेण्डर प्रतिस्पर्धा गरी १६ दशमलव ५ प्रतिशत घटी दर रेटमा कपिलवस्तु–२ स्थित सप्तऋषि निर्माण सेवाले रंगशाला निर्माण कार्यको टेण्डर पाएको निर्माण कम्पनीका साझेदार प्रदीप बर्माले बताए। खेल मैदानमा माटो पटान काम सुरु गरे लगत्तै काम रोक्नु परेको उनले बताए। नगर प्रमुख किरण सिंह र प्राविधिकहरुको मौखिक आदेशमा काम सुरु गर्यौँ, कामको सम्झौता पनि भएको थिएन’, बर्माले भने, ‘नगरपालिका र विद्यालयको के कुरा हो हामीले बुझेनौँ, काम सुरु गरेपछि बीचमै रोक्नु पर्यो।’

सम्झौताबिना नै सुरु गरेको माटो पटान कामको बल्ल–तल्ल प्रक्रिया मिलाएर भुक्तानी पायौं’, बर्माले बताए। रंगशाला निर्माण गर्न लागिएको खेल मैदान विद्यालयको स्वामित्वको जग्गा हो। रंगशाला निर्माणबाट हुने फाइदामा विद्यालयललाई पनि हिस्सा चाहिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आजाद अहमद दर्जीले बताए।

‘रंगशालाको नाम बुद्ध पद्म रंगशाला हुनुपर्छ, अध्यक्ष दर्जीले भने, ‘रंगशाला बाहिर निर्माण हुने सटर कोठाको भाडा विद्यालयले पाउनुपर्छ र रंगशालाबाट हुने आम्दानीको ६० प्रतिशत हिस्सा विद्यालयको हुनुपर्छ।’ विद्यालयले राखेको माग पूरा गर्न नसक्ने भन्दै कपिलवस्तु नगरपालिकाले रंगशाला निर्माण कार्य रोकेको छ। करिब ८ हजार दर्शक अटाउने रंगशाला निर्माण कार्य सुरु गरिएको थियो।

रंगशाला निर्माण कार्यका लागि टेण्डर आह्वान गरिएको ६० लाख रुपैयाँमध्ये निर्माण कम्पनीलाई ४ लाख रुपैयाँ माटो पटान कार्यको भुक्तानी भएको छ। बाँकी रकम ५६ लाख रुपैयाँ फ्रिज भएको इन्जिनियर केसीले बताए।

साभार अन्नपूर्ण पोष्ट


सम्बन्धित शीर्षकहरु

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

प्रतिकृयाहरू
...