Saturday 4th May 2024

ट्याक्सी ड्राइभरको ट्वीटर फलोअर्स ५० हजार !


तितोपाटी – सेलिब्रिटीको बरू ५० हजार फलोअर्स नहोलान् तर एउटा ट्याक्सी ड्राइभरको ट्वीटरमा ५० हजार फलोअर्स छन् । यो सुन्दा अचम्म लाग्छ होला तर यो सत्य हो । दीपक नेपाल नाम गरेका एक जना ट्याक्सी ड्राइभरको ट्वीटरमा यति धेरै फलोअर्स हुनुको पछाडी के रहस्य छ त ? यहि समाज हो, यहि परिवेश हो, यहि समाज भित्रका मानिसहरू हुन । सेलिब्रिटीलाइ बरू मानिसहरूले त्यति वास्ता नगर्लान ट्याक्सी ड्राइभरलरलाइ फलो गर्नुको पछाडि एक कारण छ, त्यो हो दीपक सधैं साहित्य विधा अन्तर्गतको कवित, मुक्तक र गजल ट्वीटरमा ट्वीट गर्छन्। दीपक कुनै नाम चलेका गजलकार वा कवि होइनन् । उनी एक वाैद्धिक क्षमता भएका ट्याक्सी ड्राइभर हुन । उनले यति मिठा मुक्तक, गजल लेख्छन् कि फलोअर्स नअाउने त कुरै भएन । दीपक साहित्यमा रूचि राख्छन्

दीपकको ट्वीटरमा पोष्ट भएको मुक्तकको एक अंशं

‘नियम छैन न्याय छैन देशमा असल सरकार छैन,
महलबाट राजनीति जनतासँग नेताको प्यार छैन,
नुनदेखि सुनसम्म सप्पै विदेशीकै भर पर्नुपर्छ,
निर्धक्क खुलेर स्वाभिमान हुँ भन्ने आधार छैन’

यस्तै मुक्तक र गजलहरू लेखेर ट्विट गर्ने दीपक ‘सेलेब्रेटी’ जस्तै बनेका छन्। मंगलबार मध्याह्नसम्म ट्विटरमा उनलाई ५० हजार ५ सयले फलो गरेका छन्। उनले २ सय ३१ जनालाई फलो गरेका छन्। उनको एउटा ट्विट एकदमै धेरै रिट्विट भएको छ, जुन ४ हजार ७ सयभन्दा बढी छ।

‘धेरै ठूलो काम गर्नु पर्दैन नाम कमाउनलाई,
बस् सही बाटो हिँड, सत्य बोल, सबै इज्जत गर,
आफ्नो लागि भन्दा पनि अरूको लागि सोच,
सबैले चिन्ने छ तिमीलाई’

यो उनको ‘पिन्ड ट्विट’ हो। उनी आफ्नो जीवनका कदमलाई यही मुक्तकअनुसार चलाउन चाहन्छन्। दिनभर ट्याक्सी चलाउन व्यस्त रहने ३० वर्षीय दीपक फुर्सद हुनासाथ ट्विट गर्न रूचाउँछन्। एक सचेत नागरिकको रूपमा अाफ्नै ब्यवसायमा रहेका दीपकले सन् २०१३ बाट ट्विटर चलाउन थालेका हुन्। त्यो बेला उनी वैदेशिक रोजगारका सिलसिलामा कुवेत बसेर नेपाल फर्केका युवा हुन । विदेश बस्दाको एक्लोपन हटाउन ट्वीटरको साहरा लिएका दीपकलाइ घरपरिवार, साथीभाइ र आफ्नो देशबाट टाढा रहँदा उनको नजिकको साथी बन्यो  ट्विटर। आफ्ना भावना पोख्नेदेखि साथीभाइसँग सम्पर्कमा रहन उनले यही सामाजिक सञ्जालको सहारा पाए।

उनका ट्विट प्रेमिल पनि हुन्छन्। राजनीतिक गुनासा पनि समेटिन्छन्। यसबाहेक आफ्नो ट्याक्सी पेसाबारे पनि केही न केही भनिरहेका हुन्छन्। ट्विटरमा पत्रकार र राजनीतिक दलका केही नेताहरू पनि उनका ‘साथी’ छन्। प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपा नेता योगेश भट्टराई र विवेकशील पार्टीका उज्वल थापा लगायत उनका साथी छन्। थापासँग उनको कुराकानीसमेत भएको उनी बताउँछन्। उनका अनुसार स्वर्गीय रवीन्द्र अधिकारीसँग पनि ट्विटर संवाद हुन्थ्यो। उनलाई राजनीतिमा खास चासो भने छैन। आफूले अहिलेसम्म मतदान पनि नगरेको उनी बताउँछन्।

धादिङ घर भएका दीपक स्नातक पढ्दापढ्दै विदेश हानिए भने दुवइ र कुवेत गरी झन्डै पाँच वर्ष विदेश बसेपछि दुई वर्षअघि स्वदेश फर्केका हुन्। ट्याक्सी चलाउन थालेको त तीन महिना मात्रै भयो। फर्किनेबित्तिकै केही समय विभिन्न काममा अलमलिए पनि अब यही पेसा अपनाउने उनको योजना छ। सामाजिक सञ्जालमा सक्रिय हुँदा उनलाई आफ्नो पेसामा फाइदा पनि भएको छ। विदेशबाट नेपाल आउनेहरूले उनलाई विमानस्थलसम्म ट्याक्सीका लागि बोलाउँछन्।प्रविधिको प्रयोगले धेरै फाइदा लिन सकिएको बताउने दीपक ट्विटरकै माध्यमबाट सम्पर्क गरेर भने उनको ट्याक्सीमा कोही चढेका छैनन् भन्छन् ।

ट्याक्सी खाली भएको समयमा उनी ट्विटर सार्न थाल्छन्। साहित्यका किताबहरू पनि पढ्छन्। बिहान पत्रिका पसल पुगेर सर्रर एकसरो पढ्छन्। दिउँसो फुर्सद हुँदा मोबाइलमा अनलाइन समाचारहरू हेर्न पनि छुटाउँदैनन्।

दीपक गजल लेख्नमा पनि खप्पीस छन्।

हामी सबैको बचपन उस्तै उस्तै होइन र,
कैदी र प्रवासी जीवन उस्तै उस्तै होइन र…
चोखो हृदयको प्यार नलत्याऊ प्रियतम,
धनी र गरिबको मन उस्तै उस्तै होइन र।

कसैको यादमा हरपल हरक्षण धड्किरहने,
घडीको सुई र धड्कन उस्तै उस्तै होइन र…
एकले आवरण पोल्ने अर्कोले आत्मा पोल्ने
आगो र मायाको जलन उस्तै उस्तै होइन र।

सन्तानको खुसीमा हाँस्दै पीडा नदेखाउने
अचानो र आमाको बदन उस्तै उस्तै होइन र।

दुई सन्तानका बाबु दीपकलाई आफूले लेखेकामध्ये सबभन्दा मन परेको गजल हो यो। उनलाई धेरै मनपर्ने मुक्तक भने प्रेम भावको छ।

‘तिमीसँग मेरो असीमित प्यार भएर होला,
जीवन जिउने एक आधार भएर होला,
दुःख, पीडा र चोट सजिलै सहन सक्छु,
सायद तिमीले दिएको उपहार भएर होला’

यस्तै-यस्तै मुक्तक र गजल लेखेकै कारण ट्विटरमा धेरै फलोअर भएको उनी बताउँछन्। पहिलेको तुलनामा अचेल उनी थोरै ट्विट गर्छन्। सुरूआती दिनमा त दैनिक २० वटासम्म मुक्तक राखेको उनले बताए। मुक्तक संग्रह तयार गर्दै गरेका दीपक उपन्यास लेख्ने सोचमा छन् । उनले ट्याक्सी जिवनकै बारेमा उपन्यास लेख्ने योजना बनाएका छन् ।

उनी आफू मिटरमै जान चाहे पनि कोही यात्रु जान नमान्ने गरेको बताउँछन्। ‘कोही २-५ रुपैयाँमा झगडा गर्छन्। कोही मिटरमा जाने ‍सोझो ट्याक्सी ड्राइभर भनेर उठेभन्दा बढी पैसा दिएको बताउँदै विदेशको अनुभव भैहाल्यो, जति नै दुःख भए पनि नेपालमै बसेर केहि गर्ने सोचले अन्यत्र जाने योजना नबनाएको बताउने दीपक निकै मेहनती छन् ।

नेपाली युवा वर्गमा नेपालमा बसेर केहि गर्न सकिन्न भन्ने गलत सोच हावी भएको बताउँदै सरकारको मात्रै धाग हेरेर हुँदैन अाफुले पनि केहि गर्नु पर्छ भन्ने सोच राख्ने दीपक लाखाैंलाख युवा विदेश पलायन भएको देख्दा असाध्यै नराम्रो लाग्छ भन्छन् । सरकारको छवि बिग्रिएको छ। काम गरेर खानेलाई सहज छैन। अब यही ट्याक्सी चलाउन कति गाह्रो छ। बाटो पनि ‘रफ’, चालक पनि ‘रफ’, उनले भने, ‘सरकारले कर लिएको छ तर काम गर्दैन। हाम्रो पैसा कहाँ गइरहेको छ। यो गम्भीर कुरा हो।’

तै अरूले जे-जे भने पनि उनलाई यहाँ काम गर्ने वातावरण बिग्रि नै सकेजस्तो भने लाग्दैन।

उनी भन्छन्-

‘गाउँसहर जताततै ज्ञानको ज्योति छर्नुपर्छ,
अशक्त अनि असहायको हेरविचार गर्नुपर्छ,
एकले थुकी सुकी, सयले थुकी नदी भने झैं,
हातमा हात मिलाई विपत्तिको खोली तर्नुपर्छ।

-सेतोपाटीमा प्रकाशित संजिब बगालेको लेखबाट


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...