Wednesday 30th September 2026

कसरी सम्भव भयो त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण ?


तितोपाटी  – मानव अंग प्रत्यारोपणमा अत्यन्तै जटिल मानिएको कलेजो प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमै सम्भव भएको छ । यस अघि ३ वर्ष अघि भक्तपुर स्थित मानब अंग प्रत्यारोपण केन्द्रमा कोरियाली चिकिस्तक टोलीले पहिलो पटक कलेजो प्रत्यारोपण गरेपनि त्रिवि शिक्षण अस्पतालमा भने पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको हो । कलेजो प्रत्यारोपणको लागि एकदमै विशाल टिम चाहिने भएकोले प्रत्यारोपण प्रकृया निकै नै जटिल हुने त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन तथा ग्यास्ट्रोइन्टेस्टाइनल प्रा. डा. रमेशसिंह भण्डारीले बताएका छन् ।

कलेजो प्रत्यारोपण कसरी सम्भब भयो त ? डा. भण्डारीकै शब्दमाः

नौ दिनअघि हामी त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्न सफल भएका छौं। ३३ वर्षकी पुर्नी शाहीले आफ्नो कलेजोको टुक्रा काटेर बुवालाई दिनुभएको छ। कलेजो दिने छोरी र प्रत्यारोपण गरिएका ५८ वर्षीय पदमबहादुर मल्लको स्वास्थ्य ठीक छ। छोरी अब १-२ दिनमा डिस्चार्ज हुनुहुन्छ होला, बुवालाई पनि १-२ दिनभित्रै वार्डमा ल्याउने तयारी छ।

नेपालमा पहिलो पटक भएको सफल कलेजो प्रत्यारोपणमा धेरै मानिसको ठूलो मिहिनेत छ। यसका लागि म लगायतको टिमले लामो समयदेखि तयारी गरेका थियौं।

२०१५ जनवरीमा म पढाइ सकेर आएपछि हामीले यो प्रयास थाल्यौं। सुरूमा हामी तालिम लिनेदेखि अन्य कार्यमा लाग्यौं तर हामीसँग स्रोत थिएन। योजना बनाएर स्वास्थ्य मन्त्रालयमा बुझायौं। तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले एकदमै प्रोत्साहन गर्नुभयो। चाहिने रकम पायौं अनि काम गर्न थाल्यौं।

चार महिना अगाडि कानुनी रूपमा यसलाई मिलाउने काम गरेर सक्यौं। त्यसपछि कलेजो प्रत्यारोपणका लागि मान्छे खोज्नतिर लाग्यौं। महिना दिनअघि मृगौला प्रत्यारोपण गर्न चाहने बाबुछोरी सम्पर्कमा आउनुभयो। हाम्रो टिम सबै तयार भए पनि यो एकदमै जटिल सर्जरी हो।

सुरूमा एक्लै यो काम गर्न कठिन छ। मैले भारतको एपोलो अस्पतालको टिम तथा अष्ट्रेलिया र सिंगापुरका चिकित्सकलाई पनि बोलाएँ। उहाँहरूसँग मिलेर हामीले पहिलो प्रत्यारोपण सम्पन्न गरेका छौं।

निरन्तरताको चुनौती

हामीले सुरूवात गरेका छौं तर अब यसको निरन्तरता सबैभन्दा ठूलो चुनौती छ। सुरूवात धेरै ठाउँमा हुन्छन् तर यो काम यति ठूलो हो कि यसमा आवद्ध सबै इमान्दारीपूर्वक नलागे निरन्तरता दिन कठिन हुन्छ। एकातिर चिकित्सक प्रविधिक रूमपा पोख्त हुनुपर्छ भने अर्कातिर अस्पतालले पनि यसलाई धान्न सक्नुपर्छ। रेडियोलोजी, एनएसथेसिया, आइसीयू र ल्याबहरू व्यवस्थित भयो अनि त्यही अनुसारको टिम भयो भने यसले स्थायित्व पाउँछ।

वर्षमा कति बिरामीलाई प्रत्यारोपण

केही समयका लागि महिनामा एउटा बिरामीको कलेजो प्रत्यारोपण गर्ने हाम्रो सोच छ। सुरूमा हामी धेरै भार लिने पक्षमा छैनौं। किनकी जटिल भइदियो भने निरन्तरता दिन गाह्रो हुन्छ। ५-६ महिनासम्म एउटा गर्दा राम्रो हुँदै गयो भने महिनाको दुई वटासम्म प्रत्यारोपण गर्ने योजना छ। महिनामा दुई वटा प्रत्यारोपण गरियो भने वर्षमा २० देखि २५ वटासम्म प्रत्यारोपण गर्न सकिन्छ। यसलाई हामीले धान्न पनि सकिन्छ तर योभन्दा बढी भयो भने अरू सेवा प्रभावित हुन सक्छन्। सरकारी स्तरबाट सहयोग भयो भने केही समयपछि बढाउन सकिन्छ।

प्रत्यारोपणमा खर्च

मलाई धेरैले सोध्नुहुन्छ- कलेजो प्रत्यारोपणमा कति खर्च लाग्छ? अहिले ठ्याक्कै यति नै लाग्छ भन्न कठिन छ।

हामीले अहिले अनुमानमात्रै गर्ने गरेका छौं। सबै औषधी र बसाइको खर्च जोड्ने हो भने २५ लाख रूपैयाँ पुग्ने हाम्रो अनुमान छ। आधा दर्जन बिरामीको कलेजो प्रत्यारोपण भएपछि भने खर्चको एउटा डाटा पत्ता लगाउन सकिन्छ। सरकारले सहयोग गर्‍यो भने यो खर्च अझै कम हुन सक्छ।

कति होलान प्रत्यारोपण गर्नुपर्ने

नेपालमा यसको कलेजो प्रत्यारोपण गर्नुपर्नेहरूको कुनै तथ्यांक तयार पारिएको छैन। शिक्षण अस्पतालमा दैनिक २ देखि ३ जना कलेजोका बिरामी भर्ना हुन आउँछन्। सबै अस्पताललाई आधार मान्ने हो भने वार्षिक १ हजारदेखि १५ सयसम्म कलेजोका बिरामी अस्पताल भर्ना हुन्छन्।

भर्ना भएकामध्ये १ सयदेखि १ सय ५० जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन्छ।

कलेजो बिग्रिएर अन्तिम अवस्थामा पुग्यो भने प्रत्यारोपण गर्नुपर्छ। रक्सी बढी खाने तथा फरक खालका हेपटाइटिस लागेकालाई पनि कलेजो प्रत्यारोपण गर्नु पर्ने हुन्छ। फ्याटी लिबरले पनि कलेजोलाई बिगार्दै लैजान्छ। कति बिरामीमा कुनै कारण पत्ता नलागिकन पनि कलेजो बिग्रिएको हुन्छ।

यीमध्ये कति विदेशमा जान्छन्। नेपालमै उपचार भयो भने यो संख्या अझै बढ्न सक्छ।

कलेजो प्रत्यारोपणको कानुनी पाटो

कलेजो दान गर्न १८ वर्षदेखि ५५ वर्षसम्मको स्वस्थ व्यक्ति हुनुपर्छ। पेटको अपरशेन नगरेको,धेरै दबाइ नखाने हुनपर्छ भने कलेजो लिने र दिनेको रगतको समूह पनि मिल्नु पर्छ। धेरै र थोरै तौल हुन पनि हुँदैन। कानुनी प्रावधान अनुसार तोकिएको नाताभित्र पर्नुपर्छ। एउटा स्वस्थ व्यक्तिको कलेजो अर्कोलाई दान दिँदा केहि फरक नपर्ने भन्ने होइन यो जटिल शल्यक्रिया पनि हो। यति हुदा पनि यो नियमित भइरहने शल्यक्रिया हो। शल्यक्रिया गर्ने टिम उत्कृष्ट छ भने यसमा जटिलटा कम आउँछ। यद्यपी सयौं प्रत्यारोपण गर्दा २-४ जनामा समस्या आउन सक्छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...