Thursday 16th May 2024

दुबईमा ‘लिभइन’ जोडी : जागिरको बहानामा कराडौं ठगी


तितोपाटी- राजधानीको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा वैदेशिक रोजगारीका क्रममा ठगिएका युवाको दैनिकजसो भीड नै लाग्ने गर्छ ।

यसरी ठगीको मुद्दा लिएर विभाग धाउनेमा सुनसरी स्थायी ठेगाना भइ काठमाडौंको नागार्जुन–९ स्यूचाटार बस्ने तीर्थराज निरौला पनि छन् ।

वैदेशिक रोजगारीको क्रममा ठगीएपछि न्यायका खोजी गर्दै निरौला करीब ५ महिनादेखि विभाग धाइरहेका हुन् ।

१० वर्षसम्म संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा बसेका निरौलाले आफू प्यूठानको साविक खुङ गाविस–७ घर भएका अमर कुँवर र मोरङ जिल्ला विराटनगरपालिका–३ घर भएकी दीक्षा कुँवरको विभिन्न प्रलोभनमा परेर ठगिएको बताए ।

सुरुमा दीक्षा र अमर श्रीमान–श्रीमती भएको भन्दै तीर्थराजसँग नजिकिएका थिए । यस्तै परिचय दिएर उनीहरुले दुबईमा दर्जनौं नेपालीहरुलाई ठगेर अलपत्र पारेको उनको भनाई छ ।

अमर र दीक्षाले आफ्नो लाखौं ठगी गरेको निरौलाको दाबी छ । उनले भने, ‘चिनजान भएपछि सुरुमा उनीहरुलाई ५० हजार मिना भण्डारीको नाममा हाल्दिएँ । हामी परिवार जस्तै थियौं ।’

निरौलाले रातोपाटीसँग भने, ‘१० वर्षसम्म दुबईमा बसेर काम गरें । महिनाको तलब १ लाख ५० हजारको हाराहारी थियो । पछि नराम्रोसँग ठगिएँ ।’

‘लिभिङ टुगेदर’ मा रहेका उनीहरुले श्रीमान–श्रीमती भएको बताउने गरेको दुबईमा कार्यरत नेपाली श्रमिक विनोद श्रेष्ठ बताउँछन् ।

२०१७ मा दीक्षा दुबई गएकी थिइन् । निरौला भन्छन्, ‘त्यतिबेला एकजना भाइमार्फत मेरोबारे थाहा पाएर दीक्षाले सम्पर्क गरिन् । फोनमा दीक्षाले म पनि विराटनगरको हो, तपाईं पनि उतैको हुनुहुँदो रहेछ खुसी लाग्यो भनिन् । म अहिले ओमानको बोर्डरमा छु । मेरो आमालाई उपचार गर्न ल्याएको । इमरजेन्सी छ ५० हजार हाल्दिनु भनिन् । भोलिपल्ट होली थियो नेपालमा । आफू त काम गरिरहेको थिएँ, पैसा पनि थियो । मानवताको नाताले पनि ५० हजार हाल्दिएँ ।’

तर उनको न आमा बिरामी थिइन् न कुनै समस्या नै परेको थियो । ठगी गर्ने उनको नियत आफूले पछि मात्रै थाहा पाएको उनले रातोपाटीलाई बताए ।

उनका अनुसार दीक्षाले चिनजान बाक्लिँदै गएपछि आफ्नो श्रीमान पनि दुबईमै रहेको र मेनपावर व्यवसाय गर्ने गरेको बताएकी थिइन् । त्यसपछि अमरसँग समेत दीक्षाले निरौलालाई भेटाएकी थिइन् । त्यसयता उनीहरुबीच निरन्तर भेटघाट बाक्लिन थालेपछि मिलेर मेनपावर व्यवसाय गर्ने समझदारी भएको थियो । जसअनुसार आफूले ८५ लाख लगानी गरेको तर कुनै प्रतिफल नभई दुवैले ठगी गरेर आफ्नो बिचल्ली बनाएको उनले गुनासो ।

व्यवसायमा लगानी गर्नुअघि अमर र दीक्षाले निरौलालाई आकर्षक कम्पनीमा जागिर लगाइदिने भन्दै रकम माग गरेका थिए । १० वर्षसम्म दुबईमा काम गरेका निरौला भन्छन्, ‘सुरुमै साढे ४ लाख नेपाली तलब दिन्छु भन्यो । लोभले लाप लापले विलाप भयो ।’

‘अमरले दुबई इकोनोमी म्यानपार कम्पनीको म्यानेजर बनाउँछु लगानी गर्नु भनेको उनी स्मरण गर्छन् । यताउता भन्दै पैसा मागिरह्यो,’ उनले भने, ‘मलाई अहिले धोती न टोपी बनाइदियो ।’

अमर–दीक्षाको ठगीधन्दा

अमर र दीक्षाले मिलरे युएईमा ‘दुबई इकोनोमी’ नामक म्यानपावर कम्पनी खोलेका छन् । निरौलासमेतलाई साझेदार बनाउने भनेर रकम उठाइएको म्यानपावरमार्फत दर्जनौं नेपाली ठगीएको बताइन्छ ।

रातोपाटीको सम्पर्कमा आएका पीडितहरुले पनि अमरबाट आफूहरु ठगीएको र यसरी ठगिनेमा दर्जनौं रहेको भन्दै विभिन्न प्रमाण उपलब्ध गराएका छन् ।

अमरले दुबईमा अरु कम्पनीमा काम गरेका नेपालीहरुलाई आफ्नो म्यानपावर कम्पनीले आकर्षक तलबसहित जागिर उपलब्ध गराइदिने भन्दै ठगी गर्ने गरेका छन् । यसरी उनीहरुले दुबईमा नेपालीहरुको मात्रै १२ देखि १५ करोड ठगेको बताइन्छ ।

प्रहरीमा उजुरी

उनीहरुले नेपालबाट विभिन्न व्यक्तिहरुलाई समेत रोजगारी दिलाइदिने भन्दै भिजिट भिषामा दुबई लगी ठग्ने गरेको खुलासा भएको छ ।

युएईस्थित नेपाली राजदूतावासमा यसबारे उजुरी परेपछि दूतावासले पक्राउ गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्र काटिसकेको छ ।

सीआईबीका डीएसपी कवित कटवालले सुरुमा यसबारे सीआईबीमा मुद्दा परेको भएपनि अहिले नहेरिएको बताए ।

अहिले वैदेशिक रोजगारी विभागको पत्रको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी हुँदै अनुसन्धान प्रक्रिया महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मामा पुगेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले यो मुद्दा आफूहरुले काठमाडौं परिसरलाई जिम्मा लगाएको रातोपाटीलाई बताए ।

दीक्षा र अमरले दुबईमा बसेर संगठित रूपमा विदेश पठाइदिने भन्दै ठगी गर्दै आएको प्रहरीले समेत जनाएको छ ।

अमर र दीक्षाले उदयपुर गाइघाटका दिपक बस्नेत, ताराबहादुर खड्का, अनित गुरुङ, प्रिसियास पोखरेल, नविन गुरुङ, उदय कँडेल, तारा बहादुर खाकीको मात्र २ करोडभन्दा बढी ठगी गरेको बताइन्छ ।

उनीहरुले आकर्षक तलबको प्रलोभन देखाई पैसा उठाउने र आधा बाटोमा लगेर अलपत्र पार्ने काम गर्दै आएको पीडितको भनाई छ ।

आफूले अमर– दीक्षाको ठगीधन्दाबारे उजुरी गरेपछि निरौलाले ज्यान मार्ने धम्की दिएको दाबी गरेका छन् । धम्कीपछि निरौलाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जीवन रक्षाको माग गर्दै २०७५ माघ ११ उजुरी समेत दर्ता गरेका छन् ।

विभिन्न व्यक्तिबाट ठगीएको लाखौं रकम कुम्ल्याएर उनीहरु सम्पर्कबिहीन रहेका छन् । हाल दिक्षा–अमर संयुक्त अरब इमिरेट्स (युएई) को रोला स्ट्रिट शारजहाँ अलजारा बिल्डिङको फ्ल्याट नम्बर १००५ मा बसोबास गर्दै आइरहेको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...