Monday 22nd June 2026

मलेशियामा दैनिक एक जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक


तितोपाटी – धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेको छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ को हालसम्म ३२२ को विभिन्न कारणले मृत्यु भएको छ । यो सङ्ख्या सन् २०१७ मा ३६४ रहेको थियो ।

कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार सन् २०१८ मा सबैभन्दा बढी आत्महत्या गरी ४३ जना, सडक दुर्घटनाबाट २५ जना, कडा रोगका कारण ३९ जना र औद्योगिक दुर्घटनाका कारण १७ को मृत्यु भएको छ । सुतिरहेको अवस्था, मदिरा सेवा, आपसी झगडाजस्ता विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या १९८ रहेको छ । मृत्यु हुनेमा एक जना महिला र बाँकी सबै पुरुष छन् ।

सन् २०१७ मा मृत्यु भएकामध्ये ६५ जनाले आत्महत्या गरेका थिए । कडा रोगका कारण ६३ को मृत्यु भएको थियो भने सडक दुर्घटनामा २७ र औद्योगिक दुर्घटनामा परी १४ को मृत्यु भएको थियो । अन्य कारणले मृत्यु हुनेको सङ्ख्या १९५ रहेको थियो ।

खरेलका अनुसार क्षयरोग, कलेजोको खराबी, डेङ्गु, मष्तिष्काघात, एपेण्डिसाइटिस, मेनेन्जाइटिसजस्ता रोगका कारण नेपाली कामदारको मृत्यु हुने गरेको छ । रेलको ठक्करबाट, बसबाट खसेर, करेन्ट लागी जलेर, हत्या, सुतिरहेको अवस्थामा, छातीको खराबी, अग्लो घरबाट लडेर पनि कामदारको मृत्यु हुने गरेको उनले बताए ।

मलेसियामा पछिल्लो तथ्याङ्कअनुसार तीन लाख ८३ हजार नेपाली कामदार रहेका छन् । प्रवेशाज्ञाको मिति सकिएर लुकेर काम गर्नेको सङ्ख्या एक लाख हाराहारी रहेको अनुमान गरिएको खरेल बताउँछन् ।

पछिल्लो समयमा श्रमसम्झौता कार्यान्वयन हुन नसक्दा नेपाली कामदार मलेसिया आउन पाएका छैनन् । जसका कारण मलेसियामा रहने कामदारको सङ्ख्या घटेको हो । यसअघि सात लाख हाराहारी नेपाली मलेसियामा रहेको तथ्याङ्क थियो ।

कार्यवाहक राजदूत खरेल नेपाली कामदारमा आवश्यक सीप, क्षमतासँगै यहाँको वस्तुस्थितिका बारेमा ज्ञान नहुँदा विभिन्न कारणले मृत्यु हुने गरेको बताए । उनले मलेसियामा रहेका र आउन चाहने कामदारले यहाँको वस्तुस्थिति, कानून, भाषालगायतका विषयमा राम्रो ज्ञान लिनुपर्ने बताए ।

उनका अनुसार दैनिक २०० हाराहारी कामदारले लिखित र मौखिक गुनासा राजदूतावासमा गर्ने गरेका छन् । अधिकांशले मौखिकरूपमा आफ्ना समस्या राख्ने गरेको उनले बताए । अधिकांशले तोकिएको तलब नपाएको, आउँदा तोकिएभन्दा फरक काम गर्नुपरेको, नेपाल फर्किन चाहेकोजस्ता गुनासो गर्ने गरेका छन् ।

नेपालबाट वास्तविकता नबुझी आउने कामदारले यहाँ आएपछि सोचेजस्तो नहुँदा नेपाल फर्किन चाहने गर्दछन् । नेपाल फर्किन नपाए आत्महत्यासमेत गर्ने गरेको पाइएको छ ।

दूतावासका जनसम्पर्क अधिकृत रवि भट्टका अनुसार कामदारको मृत्युपछि शव पठाउनसमेत समस्या हुने गरेको छ । अवैधानिकरूपमा बसेकाको मृत्यु भएमा उनीहरूको परिवारलाई सम्पर्क गरी शव पठाउने गरेको उनले बताए ।

परिवारको आर्थिक अवस्था कमजोर भएकालाई दूतावासले समेत खर्च गरेर पठाउने गरेको उनले बताए । वैधानिकरूपमा काम गरिरहेकाको हकमा कम्पनीले शव पठाउन खर्च गर्ने गरेको छ ।

-रासस


सम्बन्धित शीर्षकहरु

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा विकास निर्माणका काममा भएको ढिलाइ, रिङरोड विस्तार, फोहोर व्यवस्थापन, सडक, विद्युत् र विभिन्न…

प्रतिकृयाहरू
...